Logo

कालोधन भित्रिन नदिन ब्रोकर कारोवारमा निगरानी बढाइँदै, केवाइसी र डेली रिर्पोटिङमा कडाई

कालोधन भित्रिन नदिन ब्रोकर कारोवारमा निगरानी बढाइँदै, केवाइसी र डेली रिर्पोटिङमा कडाई


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा स्रोत नखुलेको रकम (कालोधन) भित्रन नदिन धितोपत्र सम्बन्धी निर्देशिका नै परिमार्जन गर्ने भएको छ । हालको निर्देशिकालाई परिमार्जन गरी कालोधन रोक्नलाई अझै कडाई गर्न लागिएको हो । निर्देशिका परिमार्जनको सम्बन्धमा छलफल भइरहेको र केही समयभित्रै टुङ्गोमा पुगिने बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले बताए ।

गिरीका अनुसार बोर्डले ब्रोकर कारोवारमा कडाई गर्ने उद्देश्य अनुसार निर्देशिका नै परिमार्जन गर्न लागेको हो । विशेषगरी १० लाखभन्दा तलको सेयर खरिदविक्रीमा पारदर्शीता नभएपछि बोर्डले दलाल व्यवसायीलाई थप जिम्मेवार बनाउन निर्देशिका परिमार्जन गर्न लागेको हो । ‘हाल ब्रोकरहरुले १० लाखभन्दा बढीको कारोवारको दैनिक रिपोर्ट बुझाउने गरेपनि साना कारोवारको गराउँदैनन्,’ उनले भने, ‘सस्पिसियस ट्रान्जेक्सन रिपोर्ट (एसटीआर)को रिपोर्टलाई कडाई गर्ने उद्देश्य अनुरुप निर्देशिका परिमार्जन गर्न लागिएको हो ।’

नेपाल स्टक एक्सचेञ्जका अनुसार पनि पछिल्लो समय १० लाख रुपैयाँभन्दा कमको कारोवार बढेको छ । १० लाखभन्दा कमको कारोवारमा राष्ट्रिय सुचना केन्द्रमा जानकारी दिन नपर्ने र त्यसको तत्काल स्रोत खोजी नहुने भएकाले पनि त्यस्ता कारोवार बढेको नेप्सेको भनाइ छ । केही समय अघिमात्रै इन्टरनेशनल सेन्टर फर एसेट रिकोभरीले एक प्रतिवेदन सार्वजनिक गर्दै सम्पती शुद्धिकरणमा नेपाल दक्षिण एशियाकै दोस्रो जोखिमपूर्ण देशको सुचिमा रहेको तथ्य सार्वजनिक गरेको थियो । यसैगरी अन्तरराष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकले पनि नेपालमा स्रोत नखुलेको रकम भित्रिएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । जसले गर्दा सेयर बजारमा त्यस्ता रकम भित्रन नदिन नयाँ कदम चाल्नु परेको बोर्डको तर्क छ ।

बोर्डले विशेषगरी ब्रोकरले लगानीकर्तालाई भर्न लगाउने ‘नो योर कस्टुमर’ (केवाइसी) फर्म र साना कारोवारको पनि दैनिक रिर्पोटिङलाई अनिवार्य गर्ने उद्देश्य अनुरुप निर्देशिका परिमार्जन गर्न लागेको हो । केवाईसी फर्म र डेली रिपोटिङलाई अनिवार्य गरेपछि बजारमा कसले कसरी सेयर किनिरहेको छ भन्ने जानकारी बोर्डलाई जानकारी हुने र त्यसैको आधारमा छानविन गर्न सकिने बोर्डको तर्क छ । धितोपत्र सम्बन्धी निर्देशिका अनुसार दोस्रो बजारमा सेयर खरिदविक्री गर्दा नगदमा कारोवार गर्न पाइँदैन । तर, अनुगमनका क्रममा दलालहरुले नगदमा पनि करोवार गरेको भेटिएको बोर्ड स्रोतको भनाइ छ । पछिल्लो समय ब्रोकरले नै गैरकानूनी रुपमा कारोवार गरी बजार तलमाथी गराइरहेको भन्ने तथ्य सार्वजनिक भइरहेको अवस्थामा नयाँ व्यवस्था लागू भएसँगै उक्त समस्या समाधान हुने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सेयर बजारमा कालोधन भित्रिएपछि बोर्डले त्यसको छानविन गर्न उच्च स्तरिय समिति नै गठन गरेको थियो । सो समिति गठनसँगै बजार ओरालो लागेपछि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले तत्काल त्यसलाई खारेज गर्न निर्देशन दिएका थिए । तर, समिति खारेज भएपनि बोर्डको अधिकार अनुसार गैरकानुनी कारोवारको अध्ययन भइरहेको गिरीले जानकारी दिए । ‘बोर्डको उद्देश्य भनेकै सेयर बजारलाई शुद्धिकरण गरी लगानीकर्ताको हितमा काम गर्नु हो,’ उनले भने, ‘तसर्थ समिति खारेज भएपनि बोर्डले बजारमा भइरकेको गैरकानूनी क्रियाकलापको अनुसन्धान जारी राखेको छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL