Logo

क्यान इन्फोटेक शुरु, प्रविधिलाई देश विकासमा प्रयोग गर्न प्रमको आग्रह

क्यान इन्फोटेक शुरु, प्रविधिलाई देश विकासमा प्रयोग गर्न प्रमको आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई देश विकासको लागि प्रयोग गर्नुपर्ने बताए । ‘प्रविधिको विकास नभई देश विकाश हुन सक्दैन,’ सुबिसु क्यान ईन्फोटेक १०१६ ईन एशोसियशन विथ हुवावेको उद्घाटन कार्यक्रममा उनले भने, ‘प्रविधिलाई कृषि, उद्योग, व्यापारलगायत हरेक क्षेत्रमा प्रयोग गरी जतिसक्दो चाँडो देश विकास गरिनुपर्छ ।’

प्रविधिको प्रयोग गर्ने नाममा समाज र देशमा नकारात्मक सन्देश जाने काम गर्न नहुने उनले बताए । हाल कतिपय अवस्थामा प्रविधिको गलत प्रयोगले समाज खलबल्याउने काम गरेको भन्दै त्यसतर्फ सचेत हुन समेत आग्रह गरे । देशमा सूचना प्रविधिको विकास गर्न सरकार जस्तोकुनै सहयोग गर्न तयार रहेको बताउँदै यस क्षेत्रमा केही समस्या छन् भने ल्याउन समेत आग्रह गरे ।

कार्यक्रममा क्यान फेडरेशनका अध्यक्ष विनोद ढकालले देशलाई ‘इ–नेपाल’ घोषणा गरेर अघि बढ्नुपर्ने बताए । ‘जवसम्म ग्रामीण भेगसम्म सूचना प्रविधिको पहुँच पुग्न सक्दैन तवसम्म देश विकास हुँदैन,’ उनले भने, ‘तसर्थ जतिसक्दो छिटो देशलाई ई–नेपालको परिकल्पनामा लैजानुपर्छ ।’ यदि सरकारले सूचना प्रविधिलाई हरेक क्षेत्रमा लागू गर्ने योजना ल्याउने हो भने त्यसमा महासंघले मद्दत गर्ने समेत उनले जानकारी दिए ।

कार्यक्रममा सुविसु केवलका अध्यक्ष सुधिर पराजुलीले इन्टरनेट सेवा प्रदायकलाई अत्यावश्यकीय सेवाको सूचीमा राख्न सरकारसँग आग्रह गरे । ‘इन्टरनेट नभई कुनै पनि काम असम्भव जस्तै भइसकेको छ,’ उनले भने, ‘तर, बढ्दो लोडसेडिङ र पेट्रोलियम अभावका कारण सेवा दिन सक्ने अवस्था छैन ।’ यदि अवस्था रहने हो भने आईएसपी सेवा प्रदायकले आफ्नो सेवा नै बन्द गर्नुपर्ने अवस्था आउने उनले जानकारी दिए ।

आजदेखि शुरु भएको क्यान इन्फोटेक ६ दिनसम्म चल्नेछ । क्यान इन्फोटेकमा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरु रहेका छन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायकलगायतले आफ्नो उत्पादन तथा सेवाका स्टल राखेका छन् ।

यस पटकको मेलामा ४ लाख भन्दाबढी अवलोकनकर्ताहरु आउने अपेक्षा आयोजकको छ । गत वर्षको क्यान ईन्फोटेकमा ३ लाख ३१ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गरेका थिए । क्यान ईन्फोटेक अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १ सय र विद्यार्थीहरुलाई रु ५० तोकिएको छ । ‘विजनेश डे’मा प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि रु १ सय प्रवेश शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL