Logo

बिजनेस म्यानको दशैं : आन्तरिक भ्रमणदेखि विदेश यात्रासम्म

बिजनेस म्यानको दशैं : आन्तरिक भ्रमणदेखि विदेश यात्रासम्म



काठमाडौं । दशैं सुरु भएसँगै उद्योगी व्यवसायीले २०७६ को दशैं आ–आफ्नै तरिकाले मनाउने बताएका छन् । कतिपय व्यवसायीले दशैंलाई परिवारसँग बसेर मनाउने बताएका छन् भने कतिपयले आन्तरिक तथा बाह्य भ्रमणमा जाने बताएका छन् ।

दशैंमा विशेषतः हामी मठ मन्दिर गएर पुजापाठ गर्ने ठूलाबडाको हातको टिका लगाई आर्सिवाद थाप्ने, साथीभाई रमाईलो गर्ने गर्छौं । यतिमात्रै नभएर फुर्सदको समय निकालेर भ्रमणका लागि समेत जाने गर्छौं ।

दशैं हिन्दुधर्मालम्बीको आफन्त भेटघाट गर्ने ठूलो चाड हो । देश विदेशमा भएका आफन्तसँग भेटघाट गर्ने रमाईलो गर्ने हामी नेपालीहरुको परम्परा नै हो ।

यसपटकको दशैं उद्योगी व्यवसायीले कसरी मनाउँदैछन् ?

यसपटकको दशै युरोपमा मनाउने छु ।
सतिश मोर, अध्यक्ष नेपाल उद्योग परिसंघ

सतिश मोर यस पटकको दशैंमा नेपाल बाहिर नै हुने भएका छन । उनी कार्यालयको काम बिशेषले भन्दा पनि दशैं बिदा मनाउनकै लागि युरोपमा जाने तयारीमा छन ।
श्रीमतीको साथमा यसैहप्ता युरोप प्रस्थान गरेका छन् । दशैं विदा सकेर मात्रै नेपाल आउने उनको योजना छ ।

दशैंमा तिर्थ यात्रा ।
राजेशकाजी श्रेष्ठ , अध्यक्ष नेपाल चेम्बर अफ कमर्श

विगतका दशैंहरु जस्तै यस पटकको दशैंमा पनि विदेशमा गएर मनाउने सोचमा छन् चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ ।
श्रेष्ठ विगतका दशैंमा काम विशेषले नेपाल बाहिर भए पनि यस पटक भने परिवार सहित धार्मिक यात्रा गर्ने तयारीमा रहेका छन । यस पटक उनि परिवार सहित भारतका बोधगया, बनारस, शारानाथ दिल्लीलगायतका क्षेत्रको तिर्थयात्रामा जाने बताउँछन् ।

दशैंमा नेपाल बाहिर हुनेछु ।
शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले भने यस पटकको दशैं नेपाल बाहिर मनाउने भएका छन् । यस अघि नेपालमै दशैं मनाए पनि यस पटक भने परिवार सहित बिदा मनाउन आयरल्याण्ड जाने भएका छन् ।
‘आफ्नो रोजीरोटीबाट केही फुर्सद निकालेर यस पटकको दशैंमा विदेश घुम्ने योजना बनाएको छु,’ गोल्छाले भने, ‘बिदेशीमात्रै कति घुम्ने हामी नेपाली पनि घुम्नु पर्छ ।’

काम विशेषले विदेशमै दशैं
चन्द्रप्रसाद ढकाल, अध्यक्ष आईएमई ग्रूप तथा उपाध्यक्ष नेपाल उद्योग बाणिज्य महासंघ

यस पटकको दशैंमा काम विशेषले गर्दा विदेशमा हुनेछु । नेपाल उद्योग बाणिज्य महासंघको तर्फबाट अन्तरराष्ट्रिय श्रम संगठनको कार्यक्रममा सहभागी हुन नेदरल्याण्ड जानुपर्ने भएकाले फुलपातीको दिन प्रस्थान गर्नेछु ।

यस अघिका दशैं स्वदेशमा परिवारसँग जमघट गरी मनाउने गरेपनि उक्त कार्यक्रममा नेपालको तर्फबाट श्रम समस्या, सामाजिक सुरक्षा कोषलगायतका विषयमा आफ्नै प्रस्तुती रहेकाले पनि उनी यस पटकको दशैंमा देश बाहिर रहनुपरेको बताउँछन् ।

दशैंभर पूँजापाठ गरी परिवारसँगै रमाइन्छ ।
राजेन्द्र मल्ल वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्श

यसपालीको दशैं परिवार आफन्तसँग बसेर मनाईन्छ । अघिपछिका समय व्यापार व्यवसायका कारण आफन्तहरुसँग त्यतिधेरै भेट हुँदैन । तर, दशैंमा व्यवसायबाट टाढा रहँदै छरछिमेक दाजुर्भाइ आफन्तहरुसँग भेटघाट गर्दै बाल्यकालका घटनाहरु स्मरण गरिन्छ । विशेषगरी नवरात्रीको ९ नै दिन विहान विहान विभिन्न शक्तिपिठहरुमा गएर पूँजा गर्छु । त्यपछि घर आएर जमरा पूँजा गरेपछि मात्र खाना खान्छु ।

घरमा माछामासु खाएपनि देवीदेवतालाई भोग दिने चलन छैन । आफुले काटमार गर्दिन । शक्तिपिठहरुमा नरिवल चढाएर पुजा गर्छु । अघिपछिका समय विदेश भ्रमणमा गएपनि दशैंमा भने घरमै बसेर मनाउने गरेको छु ।

परिवारसँगै दशैं मनाउँछु ।
देबी भट्टचन, अध्यक्ष, प्रभु ग्रूप

दशैं परिवारसँगै बसेर सामान्य रुपमा मनाउने तयारीमा रहेका छन प्रभु ग्रुपका अध्यक्ष देबी भट्टचन । उनको दशैं खास विशेष नभए पनि परिवार सँगै सामान्य नागरिक झै मनाउने तयारीमा रहेका छन ।

दशैंमा अरुहरुले झै टिका थाप्ने ठूलाबडाको आर्शिबाद लिने काम हुन्छ । साथै मठमन्दिरमा गई पुजाआज गर्ने त छँदै छ । कहिले काही साथीभाईसँग रमाईलो पनि गरिन्छ ।

काम विशेषले नेपाल बाहिर नै हुन्छु
हेमराज ढकाल, अध्यक्ष, हेरिटेज फ्लोरिङ

कृषि उद्यम केन्द्रका सभापति तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य हेमराज ढकालको दशैं भने नेपाल बाहिर नै हुने भएको छ । विगतमा नेपालमै परिवारका साथ दशैं मनाउने गरेको ढकालले यस पटक भने काम विशेषले गर्दा नेपाल बाहिर जाने तयारी गरेका छन । ढकालले दशैं भरि युरोप हुँदै चीनसम्मको यात्रा गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL