Logo

नक्सा पास नगरी घर बनाउनु भएको छ ?, अब कामपाले यसरी गर्देछ नक्सा पास

नक्सा पास नगरी घर बनाउनु भएको छ ?, अब कामपाले यसरी गर्देछ नक्सा पास


रासस
27
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियमअनुरुप निर्माण भएका तर नक्सा पास नभएका भवनका लागि विशेष व्यवस्था ल्याएको छ ।

निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्साअनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याएको कामपाले जानकारी दिएको छ ।

कामपाका इन्जिनियर राम थापाका अनुसार कामपाका धेरै घर नक्सा पास गरेर निर्माण भएका छैनन यसरी निर्माण भएका घरमध्ये केही कामपाको नियमअनुरुप तर नक्सा पास नभएको पाएपछि कामपाले यस किसिमको व्यवस्था गरेको हो ।

थापाले भने, ‘नगरवासीका लागि यो एउटा मौका हो, यस मौकाको पनि सदुपयोग नगरे धेरै नगरवासीको घर नक्साविहीन हुने र उक्त घरबाट लिनुपर्ने फाइदाबाट वञ्चित हुनुपर्नेछ ।’

अवको एक महिनासम्म नियमअनुरुप निर्माण भएका तथा नक्सा पास नभई निर्माण भएका घरधनीले घरको विवरणसहित कामपामा निवेदन पेश गर्नुपर्नेछ ।

नगरवासीको सेवालाई मध्यनजर गर्दै कामपाले केही दिनअघि विवरणसहित निवेदन पेश गर्नका लागि ३५ दिने सूचना जारी गरिसकेको छ ।

पेश गरिएको सूचनाको आधारमा कामपाको प्रतिनिधि सम्बन्धित घर धनीको घरमा पुगी नक्सा पासको प्रक्रियामा लगिने छ । स्थानीय सरकार सञ्चालन ऐनमा नक्सा स्वीकृत नगरी बनेका नियमअनुरुपका र स्वीकृत नक्साभन्दा फरक किसिमले बनेका घरका लागि एकपटकका लागि विशेष व्यवस्था गरिनुपर्ने प्रावधान रहेको छ ।

यसैबीच कामपामा पछिल्लो समय नक्सापास गर्न आउने नगरवासीको संख्यामा कमी आएको छ । अघिल्ला वर्षहरुमा दैनिक २० वटासम्म नक्सापास गर्नका लागि निवेदन आउने गरेकामा अहिले दैनिक १० वटामात्र आउने गरेको छ । कामपाले नक्सा पास गर्नका लागि केही विशेष प्रावधान ल्याएको र क्रमिकरुपमा कामपाभित्र भवन निर्माण गर्ने जमिनको अभावका कारण पनि नक्सा पास गर्न आउनेको संख्यामा कमी आएको कामपाको भनाइ छ ।

निर्माण सम्पन्न प्रमाणपत्रबिना निर्माणाधीन भवनबाट कुनै पनि बैंक सम्बन्धित काम गर्न नपाइने भएको हुँदा पछिल्लो समय निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको भने दैनिकरुपले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL