Logo

‘गेम मेकर’ चण्डी

‘गेम मेकर’ चण्डी


बिजखबर संवाददाता
0
Shares

निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घमा जब कुनै निर्णयमा द्विविधा हुन्छ अथवा कुनै ठूलै परिवर्तनको आवश्यकता पर्छ, त्यहाँ एउटा नामको खोजी सुरु भइहाल्छ । विधान संसोधनमार्फत वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने निर्णयका क्रममा होस अथवा महासङ्घ नेतृत्व छनोट गर्ने सवालमा, चण्डीराज ढकाल जहिले पनि निर्णायक व्यक्तिका रुपमा रहन्छन् । करिब १२ वर्ष महासंघमा विभिन्न पदमा रहेर काम ढकाल अहिले पनि महासङ्घको आन्तरिक राजनीतिमा उत्तिकै सक्रिय छन् । त्यसो त महासङ्घमा अन्य पूर्व अध्यक्षहरुको सक्रियता अझै पनि जारी छ, तर ती सबैभन्दा फरक छन् ढकाल । ढकालकै सोंच र योजनाले महासङ्घले गति लिइरहेको छ पछिल्लो समय । उनको सक्रियता पूर्व अध्यक्षको जस्तो देखिदैंन, बरु वर्तमान कार्यसमितीकै उपल्लो जिम्मेवारीमा काम गरिरहेका जस्ता देखिन्छन् ।

सदस्य, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका ढकाल अहिले पनि महासंघको राजनीतिमा बहाल अध्यक्षकै जस्तो चासो राख्छन् । महासंघको विधान संसोधन समितिका संयोजक रहेका ढकालले सात जना पूर्व अध्यक्षहरुको विरोध हुदाहुँदै पनि आफ्नै योजना अनुसार संसोधन गराउन सफल भए । पूर्व अध्यक्षहरुले विधान संसोधनमार्फत वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष बनाउने व्यवस्थाको विरोध गरिरहँदा उनले विशेष साधारणसभा मार्फत विधान संसोधनलाई बहुमतबाट पारित गराए ।

दोस्रो पटक अध्यक्षमा चुनाव उठ्दा कुशकुमार जोशीसँग पराजित भएका ढकालले त्यसयताका चुनावमा सफलता हात परेका छन् । उनले ‘कमाण्ड’ सम्हालेका प्रायः कामलाई आफ्नै पक्षमा पारेका छन् । सुरज बैंद्यदेखि प्रदिपजङ्ग पाण्डेलाई उनको साथले बलियो भर दियो । पाण्डेको मुद्धापछि पशुपति मुरारकालाई पनि चण्डी आफैले अध्यक्षको लागि अघि बढाए र अहिले उनै मुरारकाले महासङ्घलाई नेतृत्व दिएका छन् ।

सदस्यमा मनोनित गरेर ढकालले नै महासंघको राजनीतिमा ल्याएका भवानी राणा चैत ३० गतेपछि महासंघको ५० वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष बन्दैछिन् ।

चुनावमा गुट परिवर्तनको आरोप लाग्ने ढकाल समयको माग अनुरुप आफु अघि बढ्ने बताउँछन् । सदस्यहरुको समस्या समाधान गर्दै महासंघलाई अघि बढाउँछ उसैलाई समर्थन गर्ने गरेको उनको भनाइ छ । ‘महासंघमा गुट उपगुटभन्दा पनि समयको माग अनुरुप नेतृत्व विकास गर्ने हो,’ उनले बिजखबरसँग भने, ‘ मैले त्यसैलाई आत्मसाथ गरेर महासंघमा नेतृत्व अघि बढाइरहेको छु ।’ महासंघका सदस्यहरुलाई परेको समस्याका बारेमा निरन्तर खटिने ढकाल आफ्नो लगनशिलताकै कारण अन्य सदस्यहरुले पनि आफूलाई विश्वास गरेको दाबी गर्छन् ।

आफुले केही पाउनका लागि केही गुमाउनुपर्ने मान्यता राख्ने ढकालको प्रायजसो समय महासंघको राजनीति र जिल्ला दौडधुपमा विताउँछन् । सदस्यहरुलाई समस्या पर्दा आफुले सहयोग गरेकै कारण चुनावको बेलामा उनीहरुले आफुलाई सहयोग गर्ने गरेको बताउँछन् । ‘आफुले भनेको मान्न आफुले पनि अरुको लागि केही गरिदिएको हुनुपर्छ,’ उनी भन्छन्, ‘यदि आफुले अरुको काम गरिदिएको छ भने चुनावमा उनीहरुसँग भोट माग्नु अधिकार पनि हो ।’ कर्तव्यसँग अधिकार जोडिएर आउने उनको तर्क छ ।
आफुले सधै सदस्यको समस्यासँग जुधेर समाधान गर्दै आएकाले जिल्ला नगरका साथीहरुले विश्वास गर्ने गरेको उनको दावी छ । ‘अहिले काठमाडौंमा बस्ने तर जिल्ला नगरका सदस्यहरुलाई परेको समस्या नसुन्ने केही पूर्व अध्यक्षहरुले मेरो विरोध गरिरहेका छन,’ उनले भने, ‘त्यो भनेको आफु पनि गर्न नसक्ने अरुले गरेको पनि देख्न नसक्ने रोगको उपज हो ।’

आफु स्वतः रुपमा भन्दा पनि साथीभाइका कारण महासंघको राजनीतिमा सक्रिय भइरहेको उनी सुनाउँछन् । जति साथीभाइहरुसँग सम्पर्कमा रह्यो त्यति नै सक्रिय भइने उनको भनाइ छ । ‘म साथीहरुलाई परेको समस्या समाधान गर्न प्रशासनिक तथा कानुनी सहयोग गर्न सक्षम र तयार रहन्छु,’ उनले भने, ‘अरुलाई परेको समयमा आफुले सहयोग गरेकै कारण अरुले पनि आफुलाई परेको बेलामा सहयोग गर्छन र महासंघको राजनीतिमा सक्रिय रुपमा अघि बढ्न प्रेरण मिल्छ ।’

दक्षता, क्षमता र इमान्दारिता मुल मन्त्र

महासंघमा सक्रिय रुपमा राजनीति गर्त दक्षता, लगनशिलता र इमान्दारिता चाहिने उनको तर्क छ । अरुलाई समस्या परेको समयमा जतिवेला पनि सहयोग गर्न तयार रहेका कारण आफु अध्यक्षबाट छोडेको एक दशक वित्दा पनि सदस्यहरुले आफुले भनेको मान्ने गरेको बताउँछन् । एक हातले ताली नबज्ने बताउँने ढकाल अरुसँग सहयोग लिन आफुले पनि सहयोग गरेको हुनुपर्ने बताउँछन् । आफुले समयसापेक्ष नेतृत्व अघि बढाएकै कारण चुनावमा जित हासिल गर्न सम्भव भएको बताउँछन् । ‘पछिल्लो तीन कार्यकालमा मैले अघि बढाएको उम्मेदवारले महासंघको नेतृत्व सम्हालेका छन्’ उनी भन्छन् ‘आगामी कार्यकालको नेतृत्वमा पनि मैले नै अघि सारेको उम्मेदवार आउँदैछन् ।’ आगामी चुनावमा पनि आफुले अघि सारेको उम्मेदवार जितको नजिक पुगेको उनको दावी छ ।

आफुले गर्न नसकेपछि अरुको खण्डन

उनीमाथी उम्मेदवारसँग लाभ लिएर चुनावी क्याम्पेनमा खटिने गरेको आरोप पनि लाग्ने गरेको छ । सधै महासंघको राजनीतिमा रमाउने ढकालले चुनावमा आफुले सहयोग गरेको उम्मेदवारसँग रकम लिएर चुनावी प्रचारप्रसारमा खटिने गरेको विपक्षीहरुको आरोप छ । तर, उनी भने निस्वार्थ रुपमा चुनावी प्रचारप्रसारमा खटिने गरेको बताउँछन् । ‘जसले मलाई आरोप लगाएका छन् त्यो उनीहरुको हारको मानसिकता हो,’ उनले भने, ‘यदि कसैले मलाई पैसा लिएर चुनावी प्रचारप्रसारमा लागेको प्रमाणित गर्न सक्छ भने त्यहि दिनदेखि महासंघको राजनीतिबाट हात धुनेछु ।’ सबै कुरालाई पैसासँग तुलना गर्न नमिल्ने भन्दै आफुले सच्चा दिलले सहयोग गर्यो भने अरुले पनि सोही अनुरुप सहयोग गर्ने बताउँछन् । आफुले गर्न नसकेपछि अरुलाई लान्छना लगाउने गरेको समेत उनको दावी छ । आफुमाथी यस्तो आरोप लगाउनु भनेको विपक्षीको पराजित मानसिकताको पराकष्ठा भएको समेत उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL