Logo

चौधरी शाश्वतधामको निर्माण सम्पन्न, फागुन २४ गते राष्ट्रपतिद्धारा उद्द्घाटन

चौधरी शाश्वतधामको निर्माण सम्पन्न, फागुन २४ गते राष्ट्रपतिद्धारा उद्द्घाटन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चौधरी फाउण्डेसनले नवलपरासी देवचुली नगरपालिका वडा नं. २ दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा शाश्वतधाम निर्माण सम्पन्न गरेको छ । उक्त शाश्वतधामको समुद्घाटन यही फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । उद्द्घाटन पश्चात धाम सर्वसाधारणका लागि खुल्ला गरिने छ ।
धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै दुम्कौलीमा निर्मित शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा रहने छ । पूर्वीय सनातन धर्मप्रति आस्था रहेका सवैको भावनाको कदर स्वरुप निर्मित यो शाश्वतधाममा मानिसले आध्यात्मिक उर्जा प्राप्त गर्ने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए । साथै शान्तिपूर्ण तथा उर्जायुक्त वातावरणमा मानसिक शान्ति र आत्मीय आनन्दको अनुभव गर्न सक्ने जानकारी दिए ।

करीव सात विघा क्षेत्रफलमा फैलिएको यस धामको मध्य भागमो खजुरावान शैलीमा बनेको बुट्टेदार तथा एकम्बरेश्वर शिव मन्दिर रहेको छ ।मन्दिरलाई चारैतिरबाट सर्वतीर्थ सरोवर तालले घेरेको छ । जहाँ बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइएको छ ।

मन्दिरको अलावा यस धाममा गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिंग हल, गौशाला, अग्र्यानिक फार्म, ४५ जनाको लागि आवासीय सुविधा भएको योग तथा ध्यान केन्द्र छ । त्यसैगरी शाकाहारी अग्र्यानिक भोजनालय, विश्राम स्थललगायत वैदिक सनातन हिन्दु धर्मसंग सम्वन्धित अन्य महत्वपूर्ण स्थलहरु रहेका छन् ।Ekambareshwara temple

शाश्वतधामको अर्को विशेषताको रुपमा अत्याधुनिक अडियो भिडियो केन्द्र रहेको छ । यस केन्द्रमा धार्मिक पर्यटक तथा आगन्तुकहरुले नेपाल तथा भारतमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाइँकुण्ड, बद्री, केदार, हरिद्वारजस्ता प्रमुख धार्मिक स्थलका पछिल्ला गतिविधि ठूलो पर्दामा हेर्न सक्ने छन् । त्यसै गरी ओझेलमा परेका नेपालका विभिन्न धार्मिक तीर्थस्थलहरुको पनि प्रचारप्रसार यहाँबाट गरिने व्यवस्था मिलाइएको छ ।

शाश्वतधाम भित्र धार्मिक सूचना केन्द्र रहेको छ जसबाट देशभरका प्रमुख धार्मिक तीर्थस्थल, मठमन्दिर, शक्तिपीठ तथा वैदिक सनातन धर्मसम्बन्धी जानकारी पाइने छ । धाम परिसरमै एउटा सोभेनियर स्टोर रहेको छ । त्यहाँबाट आगन्तुकहरुले वैदिक सनातन धर्मको प्रतिनिधित्व गर्ने विविध सामग्री खरिद गर्न सक्ने छन् ।

धाममा वर, पिपल, अशोकालगायत १२ राशी २७ नक्षत्रको प्रतिनिधित्व हुने विभिन्न रुख विरुवाहरु लगाइएका छन् । धामलाई आकर्षक बनाउनको लागि मन्दिर वरिपरी मनमोहक पानीको फोहरा (वाटर फाउन्टेन) समेत निर्माण गरिएको छ ।

धाममा आगन्तुकहरुको सुविधाको लागि बिश्राम स्थल पनि बनाइएको छ । त्यस्तै धामको चारैतिर ढुंगा खोपेर बनाइएका स—साना स्पिकरबाट आगन्तुकहरुले मन्द आवाजमा भजन सुन्नसक्ने छन् । करीव ३ सय जना क्षमता भएको अन्नपूर्ण भोजनालय धाम परिसरमै रहेको छ जहाँ भक्तजनहरुले सात्विक खाजा तथा भोजन न्यूनतम शुल्कमा प्राप्त गर्न सक्ने छन् ।

विभिन्न चाडपर्व तथा अन्य मौसममा धाम अवलोकन गर्न आउने पाहुनाहरुको उपस्थिति अधिक हुनसक्ने सम्भावनालाई ध्यान दिँदै मन्दिर बाहिरबाटै आरति गर्न सक्ने व्यवस्था मिलाइएको छ । बेलुकाको समयमा विशेष किसिमको इलेक्ट्रिक लाइटबाट आएका विभिन्न रंगको प्रकाशले मन्दिरलाई थप आकर्षक बनाउँदछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL