Logo

निर्माण सम्पन्न प्रमाणपत्र लिन घरधनीले देखाएनन् चासो, कारवाही गर्दै महानगर

निर्माण सम्पन्न प्रमाणपत्र लिन घरधनीले देखाएनन् चासो, कारवाही गर्दै महानगर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित तथा स्वीकृति विना बनेका घरलाई निर्माण प्रमाणित प्रमाणपत्र उपलब्ध गराउन अन्तिम मौका दिए पनि घरधनीहरुले भने त्यसमा चासो नदेखाएको पाइएको छ ।

महानगरपालिकामा निर्माण प्रमाणित प्रमाण पत्रका लागि आएको निवेदनले यस्तो देखाएको हो । निर्माण प्रमाणित प्रमाणपत्र दिन सूचना जारी गरेको करिब तीन सातापछि हालसम्म करिब १ हजार ७ सयले मात्र फाराम लिएको महानगरपालिकाका नक्सा महाशाखा प्रमुख इन्जिनियर राम थापाले जानकारी दिए । त्यसमा पनि १ सय ५० जनाले मात्र निवेदन दिएको उनले बताए ।

महानगरपालिकाले सवैप्रकारका भवनको नक्सा अद्यावधिक पुस मसान्त भित्र गर्न सूचना जारी गरेको थियो । सो अवधिभित्र नक्साको अद्यावधिक नगरेमा महानगरले कारवाही गर्ने बताएपनि घरधनीहरुले प्रमाणपत्रका लागि चासो नदेखाएका हुन् । थापाका अनुसार अधिकांशले घर जग्गा बैंकमा राख्न र विदेश जाने प्रयोजनका लागि रकम निकाल्न कानुनविपरीत बनेका घर प्रमाणित गर्न फारम लिएको छ ।

घरधनीले जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि, आंशिक भवन नक्सा स्वीकृत लिएको भए सोको प्रतिलिपि, स्वीकृति नलिई निर्माण गरेको भए स्केच, क्षेत्रफल, तला स्वयम् घोषणा गरेको प्रमाणपत्र, निर्माण सम्पन्न प्रमाणपत्र लिएको भए सोको प्रमाणपत्र र मालपोत र अन्य कर तिरेको प्रमाणसहित निवेदन दिएका छन्। निवेदन दिनेमा अधिकांश साना घरधनीहरु रहेको उनले जानकारी दिए ।

महानगरले सूचना संकलनका लागि स्वीकृति लिएर सो बमोजिम निर्माण नभएका तथा स्वीकृति नलिई भवन निर्माण भएका सबै भवनहरुको नक्सा अद्यावधिक गर्न समय दिएको उनले बताए। महानगरको असोज ६ गते बसेको महानगर परिषदको निणर्यअनुसार सूचना जारी गरिएको हो ।
पुस मासान्तसम्म निर्माणसम्पन्न प्रमाणपत्र पेश तथा निर्माण प्रमाणित नगरे त्यस्ता भवनहरुको हकमा स्वायत्त शासन ऐन २०५५ अनुसार कारवाही हुने बताइएको छ ।

नक्सा अद्यावदीक गर्न जग्गाधनी प्रमाण प्रतिलिपी, आंशिक भवन नक्सा स्वीकृति लिएको भए सोको प्रतिलिपी,स्वीकृति नलिई निर्माण भएको भए स्केच,क्षेत्रफल र तल्ला स्वयम् घोषणा गरिएको निवेदन पेस गर्नुपर्छ । त्यस्तै निर्माण सम्पन्न प्रमाण पत्र लिएको भए सो को प्रतिलिपी, आफू सम्वन्धित चालु आवसम्मको मालपोत तथा घर जग्गा,बहाल,व्यवसाय,सवारी र मनोरन्जन कर तिरेको निस्सा बुझाउनुपर्ने बताइएको छ ।

नयाँ व्यवस्था अनुसार प्रमाणपत्र लिएपछि मात्र नयाँ घरमा पानी र बत्तीको सुविधा पाउने छन् । त्यस्तै प्रमाणपत्र नलिएका पुराना घरहरुलाई बैंकबाट ऋण लिन नमिल्ने व्यवस्था लागु गरिएको छ केन्द्रीय तथ्याङ विभागको अनुसार हाल कामपा क्षेत्रमा २ लाख ५४ हजार घर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL