Logo

बार्षिक रु.१० लाख बराबरको कागजका गहना उत्पादन, युरोप तथा अमेरिकामा निर्यात

बार्षिक रु.१० लाख बराबरको कागजका गहना उत्पादन, युरोप तथा अमेरिकामा निर्यात


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली कागजबाट बन्ने गहनाको माग बार्षिक रुपमा बढेको छ । यस्ता गहनाको माग बार्षिक १० प्रतिशतका दरले बढेको नेपाल हाते कागज संघका अध्यक्ष मोहनकृष्ण मानन्धरले जानकरी दिए ।

यस्ता गहनाको उत्पादन बढाउन नसक्दा बजारको माग धान्न नसकेको उनले बताए । नेपाल हाते कागज संघका अनुसार हाल नेपालमा बर्षिक ८ देखि १० लाख रुपैयाँसम्मका कागजका गहना उत्पादन हुदै आएको छ । बजारको माग अनुसार बार्षिक १५ लाख रुपैयाँसम्मको उत्पादन गर्नुपर्ने देखिन्छ । दक्ष जनशक्तिको अभावमा कागजको गहना माग अनुसार उत्पादन नभएको उनले जानकारी दिए ।

विशेषगरी टिनएजर(किशोरावस्था) तथा युवाहरुबीच कागजका गहना लोकप्रिय भएको बताइएको छ । ‘फेसनप्रती सजग महिला तथा युवाहरु यसप्रति आकर्षित भएको देखिन्छ’ मानन्धरले भने ।

कागजका गहना नेपाली बजारमा मात्र नभइ विदेशमा समेत निर्यात हुँदै आएको छ । विशेषगरी अमेरिका तथा युरोपेली मुलुकहरुमा निर्यात हुदै आएको हो । अन्य सामग्रीसँग जोडिएर निर्यात हुने भएकोले तथ्यांक नभएको बताइएको छ ।

प्छिल्लो समय सुन, चाँदी तथा अन्य धातुका गहनाभन्दा कम मूल्य र पहिरनमा पनि आकर्षक देखिने हुँदा यस्ता गहनाको बजार विस्तार हुन थालेको उनको भनाइ छ । हाल नेपालमा कागजबाट औंठी, ब्रासलेट, नेकलेश, इयरिङलगायत गहनाहरू निर्माण गरिन्छ । कागजका गहनाले व्यावसायिकता लिन थालेपछि करीब ६ वर्ष अघिदेखि नेपालमा यस्ता गहनाको उत्पादन शुरू गरिएको हो ।

हाल नेपालमा एक दर्जनभन्दा बढी कम्पनीले यस्ता गहना उत्पादन गर्दै आएका छन् । तर, हालसम्म उत्पादन कम्पनीले यस्ता गहनाको एकीकृत रूपमा निर्यात भने गर्न सकेका छैनन् । कागजका गहना लोक्ताबाट तयार गरिएका नेपाली कागजबाट बनाइन्छ । अहिले यसको बजार मूल्य १ सय ६० रुपैयाँदेखि १ हजार १ सय रुपैयाँसम्म पर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL