Logo

भवानीजीले आफूले चाहेजस्तो टिम रोज्न किन नपाउने ?

भवानीजीले आफूले चाहेजस्तो टिम रोज्न किन नपाउने ?


बिजखबर संवाददाता
27
Shares

नेपालको प्रसिद्ध व्यापारीक घराना गोल्छा अर्गनाइजेशनको नेतृत्व सम्हालिरहेका शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासङ्घको ५१ औं साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार छन् । चुनावी कार्यक्रमलाई खर्चिलो बनाएको र आगामी अध्यक्षलाई आचारसंहिता विपरित आफ्नो पक्षमा प्रचारप्रसार गर्न लगाएको आरोप गोल्छा माथि उनकै प्रतिस्पर्धिले लगाएका छन् । महासङ्घको चुनावी सेरोफेरोमा रहेका बिजखबरका प्रमुख संवाददाता रामराजा श्रेष्ठले गोल्छासँग कुराकानी गरेका छन् । 

महासंघको चुनावका लागि एक साताको पनि समय छैन । अन्तिम रणनीति कस्तो छ ?

अब चुनाव आउन एक हप्तामात्र बाँकी छ । बाहिरी जिल्लाको भ्रमण तथा चुनावी प्रचारप्रसार पुरा भइसकेको छ । अब भनेको काठमाडौंमै बसेर जिल्लाबाट आउने साथीहरुलाई स्वागत गर्ने हो । यहाँ रहनु भएका साथीहरुसँग पनि प्रचारप्रसारमा जुटीरहेका छौं । अब चुनावी प्रचारप्रसार सकियो भन्दा पनि हुन्छ ।

sherkhar-golchha-bizkhabar-fncci-election

पछिल्लो समय सहमतिको विषयले पनि चर्चा पाएको छ । खास यसको औचित्य छ र अब ?

संस्थागत हितका लागि सहमति हुन्छ भने गरौं भनेर अघि बढेका हौं । यदि सहमति भयो भने आम व्यवसायीमा सकारात्मक सन्देश जान्छ र महासंघले पनि निष्पक्ष नेतृत्व पाउछ भन्ने हाम्रो चाहना हो । त्यसको लागि महाुसंघ अध्यक्ष पशुपति मुरारकाले प्रयास गर्नुभएको हो । सहमतिका लागि बुधबार दुबैतर्फका पदाधिकारी उम्मेदवार छलफलमा बसेका थियौं । छलफलमा अध्यक्ष ज्यूले हामी चुनावी मैदानमा प्रतिद्वन्द्वी होइन प्रतिपक्ष भएर जानुपर्छ भन्ने विषय पनि जानकारी गराउनु भएको थियो ।

सहमतिका लागि बसेको बैंठकमा चुनावी आचारसंहिताको विषयमा पनि छलफल भएको थियो । अध्यक्ष ज्यूले हामी दुबै पक्षलाई सो विषयमा पुनः जानकारी गराउनु भयो । सहमतिको प्रयासलाई जारी नै राख्ने सर्तमा बैंठक टुङ्गियो । सहमतिको वार्ताले नेतृत्व चयन गर्न नसकेपनि समग्रमा राम्रै भयो ।

आचारसंहिताको कुरा गर्दा त्यसको विपरित वर्तमान अध्यक्ष र आगामी अध्यक्ष दुबैले त्यसको उल्लङ्घन गरेर एउटा उम्मेदवारको खुलेआम चुनावी प्रचारमा लाग्यो भन्ने आरोप छ नि ?

कुनै व्यक्ति देशको प्रधानमन्त्री छ भने चुनावको समयमा उसले आफ्नो पार्टीको बारेमा प्रचारप्रसार गर्न पाउने कि नपाउने ? प्रधानमन्त्री भएको व्यक्तिले आफ्नो पार्टीको वारेमा किन प्रचारप्रसार गर्यो भन्न त सुहाएन नि । चुनावको समयमा प्रधानमन्त्रीले पनि आफ्नो पार्टीको एजेन्डाको बारेमा भाषण र प्रचारप्रसार गर्छ नि । अहिले महासंघमा भएको पनि त्यहि नै हो ।

भवानी जी महासंघमा आउने भनेको उद्योगी व्यवसायीको समस्या समाधान गर्न र नयाँ रोजगारीको सिर्जना गर्न हो । यदि उहाँले आफुले चाहेजस्तो टीम नै पाउनुहुन्न भने कसरी गर्ने ? तसर्थ महासंघलाई सफल रुपमा नेतृत्व प्रदान गर्नका लागि सक्षम टीम चयनका लागि उहाँहरु प्रचारप्रसारमा जुट्नु भएको हो । यसलाई नकारात्मक रुपमा लिनु हुँदैन ।

अर्को समुहले त अहिलेको अध्यक्ष र अब आउने अध्यक्षले आचारसंहिता विपरित तपाइहरुलाई समर्थन र प्रचारप्रसारमा जुट्नु भयो भनेर पत्रकार सम्मेलन नै गर्नु भयो नि त ?

यस विषयमा आचारसंहिताले कुनै रोकतोक गर्दैन र गरेको पनि छैन । यदि आचारसंहिता विपरित कुनै काम गर्नुभएको छ भने सो विषयमा पत्रकार सम्मेलन गर्नुभन्दा महासंघ निर्वाचन कमिटिमा उजुरी दिनु उपयुक्त हुन्थ्यो । तर यो सामान्य विषयमा हो । यसमा आचारसंहिताको कुनै उल्ङघन भएको छैन ।

अस्वस्थ प्रतिस्पर्धा रोक्न र सहमतिको वातावरण निर्माण गर्न विधान संसोधन गरिएको थियो । तर, अहिलेको चुनाव हेर्दा ठिक त्यसको विपरित भएन र ?

चुनाव एउटा प्रजातान्त्रिक पद्धति हो । त्यसैले यसलाई नकारात्मक लिइनु हुदैन र म लिन्न पनि । चुनावले एकअर्कालाई नजिक हुने अवसर दिन्छ भने नेतृत्वमा पुग्ने व्यक्तिलाई सबैको समस्या बुझ्ने मौका पनि प्रदान गर्छ । चुनाव प्रचारप्रसारको क्रममा मैले ५० भन्दा बढी जिल्लाको भ्रमण गरे । यदि चुनाव नभइदिएको भए मैले घुम्दैन्थे होला ।
पछिल्लो समय हाम्रो सोच र संस्कार नकारात्मक भएको छ । चुनावमा जितियो भने अहंकार र हारमा प्रतिशोध गरिन्छ । त्यस्तो संस्कार परिवर्तन गर्नु जरुरी हो । चुनाव भनेको प्रजातान्त्रिक पद्धति हो यसले संस्थालाई अझ सुदृढ र बलियो बनाउछ । मिलेर नेतृत्व चयन गर्ने परम्पराले संस्थालाई बलियो बनाउँदैन ।

चुनावी प्रचारप्रसारको अन्तिम घडीमा आईपुग्नु भएको छ । विभिन्न जिल्लाको भ्रमण र भेटघाट पश्चात आफ्नो पक्षमा माहोल कस्तो पाउनुभयो ?

पछिल्लो समय चुनावी माहोल आफ्नो पक्षमा देखेको छु । मलाई विश्वास छ कि अब ७० प्रतिशतभन्दा बढी मत ल्याएर चुनाव जित्नेछु । अहिले जिल्ला नगर र बस्तुगतका साथीहरुले एकदमै माया र सद्भाव देखाउनु भएको छ भने एशोसिएट्मा मेरो आफ्नो पकड कायम नै छ । ढुक्क हुनुस मैले भारी मतान्तरले चुनाव आफ्नो पक्षमा पार्नेछु ।

एशोसिएट्सकै कुरा गर्दा अघिल्लो चुनावमा टीम नै जिताउनु भयोे भने यसपटक अर्को प्यानललाई उम्मेदवार नै दिनु भएन । एशोसिएट्समा तपाइको कब्जा कसरी सम्भव भयो ?

एशोसिएट्स क्षेत्रले मेरो कामको सही मूल्याङकन गरिदिएको जस्तो लाग्छ । यदि कसैले राम्रो काम गर्छ भने साथीहरुले उसलाई माया र सहयोग गर्छ । त्यहि मायाको प्रतिफल हो अहिलेको चुनावमा विपक्षीले मेरा विरुद्ध उम्मेदवार पनि खाडा गर्न सकेनन् ।

विपक्षीलाई उम्मेदवार दिनु भएन तर आफ्नो पक्षमा धेरै भए । यसलाई कसरी मिलाउनु हुन्छ ?

अहिले १९ पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । यसलाई मिलाउनका लागि आन्तरिक रुपमा छलफल भइरहृेको छ । जहाँसम्म लाग्छ त्यसलाई पनि साथीहरुबीच छलफल गरेर मिलाउने छौं । साथीहरुबीच सहमतिमै टुङ्गो लगाउने छौं ।

तपाइमाथी एउटा आरोप पनि छ । चुनावमा धेरै तडकभडक र त्यसलाई खर्चिलो पार्नु भयो । के अब महासंघको चुनाव भन्ने बित्तिकै खर्च गर्नुपर्ने नै हो ?

हाम्रो सम्पर्क कार्यालय हेर्नुस यसलाई तडकभगक भन्नु हुन्छ कि सामान्य ? मैल प्रचारप्रसाको लागि ५० जिल्लाको भ्रमण गरे । तर एक ठाउँमा पनि मैले ठूलो कार्यक्रम गरेर खर्च गरिन । सबै खर्च जिल्लाका साथीहरुले नै गर्नुभयो । सायद मेरो आफ्नो डिजेल हाल्ने बाहेक अरु खर्च नभएको हुनुपर्छ । काठमाडौंमा हामीले खडा गरेको सम्पर्क कार्यालयमा पनि सबै साथीहरुले स्वतस्फूर्त रुपमा खर्च जुटाइरहनु भएको छ ।

तर, म तपाइहरु मार्फत सोध्न चाहन्छु । यो कुन वर्गको चुनाव हो ? यो त औद्योगिक व्यवसायीहरुको चुनाव हो । यसमा पनि पैसा खर्च नगरे कहाँ गर्ने ? यो विपन्न वर्गको चनाव त होइन नि । कर तिरेर कमाएको रकम चुनावमा पनि खर्च गर्न सक्दैनौ भने कहाँ खर्च गर्ने ? यो देशका उद्योगी व्यवसायीहरुको चुनाव हो यसमा खर्च भयो भनेर अनर्थ लगाउनु हुँदैन । तर चुनाव अलि भड्किलो र तडकभडक नहोस भन्ने विषयमा चाहिँ म पनि सजक छु ।

केही पूर्व अध्यक्षले भनेको सुनिन्छ चुनाव भनेको त्यो हो जुन अन्तिम दिनको पनि रातीमा मात्र लाग्छ । जसले बढी पैसा तिरेर भोट किन्यो त्यसैले जित्छ । के यो सत्य हो ?

भोट किनेर चुनाव जित्ने जमाना गइसक्यो । जिल्लाका साथीहरु पनि सवल र सक्षम भइसकेका छन् । उहाँहरु सुझबुझका साथ आफ्नो मताधिकार प्रयोग गर्न सक्नुहन्छ । अबका दिनका कसैले पैसाको आडमा चुनाव जित्न खोज्छ भने त्यो उसको दिवा सपना मात्र हुनेछ । तसर्थ यसपटकको चुनाव एजेण्डामा प्रवेश गरेर मतदाताको मन जितेर मात्र आफ्नो पक्षमा ल्याउन सकिन्छ ।

चुनाव प्रचारप्रसारमा मैले जिल्ला तथा नगर र अन्य सदस्यहरुलाई धेरै प्रतिबद्धता पनि जाहेर गरको छैन । एउटै मात्र प्रतिबद्धताले साथीहरुले मलाई विश्वास गरिरहनु भएको छ । तपाइहरु कुनै पनि समय समस्या लिएर आउनुसु मेरो बलबुताले भ्याएसम्म प्रयास गर्नेछु । यही हो मेरो मूख्य एजेण्डा । यो बाहेक कुनै प्रतिबद्धता जाहेर गरेको छैन र गर्ने पनि छैन ।

महासंघमा सदस्य, उपाध्यक्ष हुँदै अब वरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी दिइरहनु भएको छ । यो अवधिसम्म आईपुग्दा महासंघमा के सुधार गर्नु भयो र अब के गर्ने योजना बनाउनु भएको छ ?

चेम्बर आन्दोलनमा आफ्नो २० वर्षभन्दा बढी समय बिताइसकेको छु । महासंघको नेतृत्व तहमै रहेर दश बर्ष बिताइसके । विभिन्न संघसंस्थामा रहेर सफलता पूर्वक नेतृत्व तथा प्रतिनिधित्व गरिसकेको छु । महासंघमा मलाई दिइएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छु । मैले महासंघको रोजगारदाता परिषद्को सभापति भएर काम गरे । महासंघमा रोजगारदाता परिषद्को सभापति भएर काम गर्नु एकदमै कठिन काम हो । तर, त्यसलाई पनि सफलतापूवर्क निर्वाह गरे । रोजगारदाता परिषद्मा हुँदा सबै घटक ट्रेड युनियन तथा सरकारसँग छलफल र सहकार्य गर्दै व्यवसायी मैत्री ऐननियम बनाउन सफल भए भने श्रमिकको समस्यालाई पनि सोही अनुरुप संवोधन गर्यौ । यो नै मेरो सफलता हो ।

वरिष्ठ उपाध्यक्षको चुनावी प्रतिस्पर्धामा आइरहँदा आगामी दिनमा महासंघका लागि के कस्ता योजना अघि सार्नु भएको छ ?

अबको १० वर्ष नेपालका लागि स्वर्णिम कालखण्ड रहने छ । संकुचित हुँदै गएको नेपालको अर्थतन्त्रमा सुधारोन्मुख भएको छ । अहिलेकै समयमा ६ देखि ७ प्रतिशत आर्थिक बृद्धिदरको प्रक्षेपणहरु आउन थालिसकेका छन् । अहिले औद्योगिक व्यवसाय ऐन र सेज ऐन पनि आईसकेको छ । अन्य थुप्रै ऐन नियम आउने क्रममा रहेका छन् । यहि रुपमा देश अघि बढ्ने हो भने अबको १० वर्ष स्वर्णिम हुन्छ र नेपालमा ठूलो लगानीको आवश्यक छ । अहिले नेपालबाट धेरै युवायुवती देशप्रति वितृष्णा राखेर खाडीमा रोजगारीका लागि पलायन हुन बाध्य भएका छन् । त्यस्ता युवायुवतीलाई नेपालमै रोजगारी पाइन्छ र आफ्नो भविष्य नेपालमै छ भन्ने बनाउनका लागि मेरो मूख्य भुमिका रहनेछ । जसको लागि प्रशस्त मात्रामा रोजगारीका अवसर सिर्जना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL