Logo

भन्दिनुस, सौरभ ज्योतिले १९ सदस्यसहित स्वतन्त्र रुपमा एसोसिएट्सको उपाध्यक्षमा उम्मेदवारी दिन्छ

भन्दिनुस, सौरभ ज्योतिले १९ सदस्यसहित स्वतन्त्र रुपमा एसोसिएट्सको उपाध्यक्षमा उम्मेदवारी दिन्छ


बिजखबर संवाददाता
0
Shares

नेपालको व्यावसायिक क्षेत्रमा सौरभ ज्योति परिचित नाम हो । प्रसिद्ध व्यापारीक घराना ज्योति समुहको नयाँ पुस्ताको विरासत उनैले सम्हालेका छन् । श्रम, रोजगार, राजस्व तथा व्यापारका विषयमा राम्रो ज्ञान राख्ने ज्योति एउटा  ‘स्मार्ट पर्सनालिटी’का रुपमा पनि चिनिन्छन् । मोटर बाइकका सौखिन उनै ज्योतिले यो पटक नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभामा एशोसिएट्सतर्फ स्वतन्त्र रुपमा उपाध्यक्षको लागि उम्मेदवारी दिने दाबी गरेका छन् । महासंघ अन्तर्गतको राजस्व समितीका सभापति समेत रहेका ज्योतिसँग चुनावलाई जोडेर बिजखबरका प्रमुख संवाददाता रामराजा श्रेष्ठले गरेको कुराकानीको सारः

किशोर प्रधानको प्यानलबाट एशोसिएट्स तर्फ उपाध्यक्षमा उम्मेदवारी दिने तपाइको चर्चा चलेको थियो । अहिले पछि हट्नुभएको हो ?

मेरो सुरुदेखि कै निर्णय स्वतन्त्र रुपमा उठ्ने हो । म कुनै प्यानलको पछि लागेर हिड्दिन । अनुभव, योगदान र क्षमताको कदर हुनुपर्छ भन्ने मागसहित प्यानल विना उम्मेदवारी दिएको हुँ । महासंघमा अरुको बलमा होइन आफ्नो क्षमताबाट आउनसक्नुपर्छ । अरुले उचालेर वा कुनै व्यक्तिको हाबीमा महासंघमा आउन हुन्न भन्ने मेरो मान्यता हो । महासंघ भनेको यस्तो संस्था हो जहाँ काम र अनुभवको आधारमा पदमा आउनुपर्छ । महासंघको उद्देश्य संस्थागत विकास, व्यवसायीको हकहित तथा निजीक्षेत्रको लागि काम गर्नु हो । त्यस्ता पदमा प्यानल वा राजनीतिक आस्था र आर्शिवादको कारणले भन्दा पनि व्यवसायीको मन जितेर आउनुपर्छ । यदि अहिले आर्शिवादबाट चुनावमा जाने हो भने त्यसरी आउने व्यक्तिले महासंघ व्यवसायीक हकहितका लागि काम गर्न सक्दैन ।

अबको कार्यसमितिमा नयाँ युवाहरुलाई पनि ल्याउनुपर्छ भन्ने मेरो माग हो । अहिले उद्योग व्यवसायमा धेरै सक्षम युवाहरु आइसकेका छन् तर राजनीति तथा प्यानलका कारण उनीहरु पछाडी परिरहेका छन् । राजनीतिका कारण सक्षम युवाहरु महासंघबाट टाढा रहेका छन् । अब आउने कार्यसमितिमा त्यस्ता युवाहरु समेट्नका लागि पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हुँ ।

saurabh-jyoti-bizkhabar-fncci-election

सबै उम्मेदवार यतीबेलासम्म प्यानलसँग प्रत्यक्ष जोडिएका छन् । तपाइ चाहिँ स्वतन्त्र चुनाव जित्ने आधारहरु के छन् ?

मूख्य आधार भनेको महासंघमा बसेर काम गरेको इतिहास हो । मूख्य कुरा क्षमता योगदान र अनुभव हो । सबै व्यवसायीमा क्षमता छ तर सफल व्यवसायी र सफल नेतृत्व फरक कुरा हो । सबै सफल व्यवसायी सफल बिजनेश लिडर हुँदैन । अनुभवको कुरा गर्ने हो भने महासंघमै पनि तीन कार्यकाल विताइसकेको छु । दुई पटक एशोसिएट्स र एक पटक बस्तुगतबाट चुनाव जितेर विभिन्न समितिको सभापति समेत भएर काम गर्दै आएको छु । क्वालिटी कमिटि, नेशनल एक्सेलेन्सी अवार्ड हुँदै अहिले राजस्व समितिको सभापति सम्हालिरहेको छु । त्यही अनुसार मेरो योगदान पनि छ ।

कुनै पनि व्यक्ति राजनीति गरेर संस्थामा आउन सक्छ तर उसले संस्थामा आएर के काम गर्छ र कति समय दिन्छ भन्ने विषय मुख्य हो । त्यसरी आएको व्यक्तिको तल सोही अनुरुप काम गर्ने व्यक्ति पनि चाहियो नि ? मैले महासंघमा सक्षम टीम निर्माणका लागि अन्य सदस्य साथीहरुसँग पटक पटक छलफल गरिरहेको छु । त्यसैले सौरभ ज्योतिले १९ सदस्य सहित स्वतन्त्र टीम बनाएर एसोसिएट्सतर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनेछ । भोट बढी भएकै आधारमा महासंघको नेतृत्व सम्हाल्ने प्रवृत्तिलाई रोक्नुपर्छ । भोट बढी हुनु कामका लागि उपयुक्त हुनुहोला तर महासंघ हाक्नका लागि होइन । भोट एकै आधारमा होइन योग्ताको आधारमा प्यानल वा पदमा आउने व्यवस्था गरिनुपर्छ । त्यसो गरेमा मात्र महासंघ व्यवसायीक हुनेछ । तसर्थ भोट बैंक होइन योग्ताको आधारमा चुनावी मैदानमा होमिएको छु ।

महासंघमा योग्यताको आधारमा भोट ल्याएर चुनाव जित्न सकिन्छ जस्तो लाग्छ ?

पक्कै पनि । जति पनि एशोसिएट्स सदस्यहरु हुनुहुन्छ उहाँहरु कुनै न कुनै पदमा रहेर सफलतापूर्वक काम गरिसकेका व्यक्तिहरु हुनुहुन्छ । प्रमुख कार्यकारी वा संचालकमा रहेर व्यावसायीक रुपमा काम गरेका व्यक्तिहरु हुनुहुन्छ । व्यावसायीकरुपमा काम गरेका व्यक्तिले महासंघमा पनि भोट बैंक होइन योग्य व्यक्ति रोज्नेछन् ।

यसपटकदेखि महासंघको निर्वाचनमा सबैको एउटै व्यक्तिले मत हाल्ने अधिकार (प्रोक्सी) संकलन गर्ने व्यवस्था खारेज गरेका छौं । यसलाई विधानमै उल्लेख गरिएको छ । कुनै पनि व्यक्ति विधानभन्दा माथी हुँदैन । पहिलाजस्तो एउटै व्यक्तिले प्रोक्सी संकलन गरेर होइन कम्पनी सम्हालेका प्रमुख कार्यकारी वा संचालक नै आउने भएकाले उहाँहरुले सक्षम व्यक्तिलाई नै छान्नुहुनेछ ।

चुनावी मैदानमा आउन गृहकार्य चाही कस्तो छ ?

यस विषयमा पुराना तथा नयाँ साथीहरुसँग छलफल भइरहेको छ । प्यानलमा पुराना अनुभवी व्यक्तिलाई समेट्दै कम्तीमा ५–६ जना नयाँ व्यक्तिहरु ल्याउने कुरा गरिरहेको छु । धेरै संघसस्थामा बसेर काम गरेको अनुभवको आधारमा सोही सदस्य छनौट पनि गरिरहेका छौं । मेरो प्राथमिकता भनेको संस्था र मसँग रहेका सदस्यहरु हुन् । उनीहरु रहेमा मात्र म रहने हो । पहिलो कुरा टीमलाई जिताउनु पर्यो त्यसपछि स्वत मैले पनि जित्ने छु ।

अन्य प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्ष सहित प्यानल आएको अवस्थामा तपाई स्वतन्त्र रुपमा उम्मेदवारी दिँदा चुनाव जित्नसक्छु जस्तो लाग्छ ?

चुनावमा गैसकेपछि जीत र हार स्वभाविक प्रक्रिया हो । मलाई हारजीतसँग कुनै मलतब छैन । मैले महासंघ भित्र सैद्धान्तिक रुपमा एउटा अडान लिएको हुँ । महासंघमा राजनीतिक धरातलबाट होइन काम गर्न सक्ने सक्षम व्यक्ति आउनुपर्छ भन्ने मेरो मान्यता हो । अहिले महासंघ भित्र राजनीति छिरेको छ व्यवसायीक संस्थामा त्यसले विकृति ल्याएको छ । महासंघ सुधारको लागि एउटा अडान लिएको हुँ त्यसबाट पछि हड्ने कुरा छैन । हारजीत जे हो महासंघमा भित्रिएको विकृति हटाउन चुनाव उठेरै छोड्छु ।

यस अघि त तपाइ आफै पनि प्यानलबाट महासंघमा आउनुभएको हो नि ?

संस्थामा स्वस्थ राजनीति हुनु राम्रो हो । राजनीतिका कारण संस्थामा विकृति आउन हुँदैन । पछिल्लो समय महासंघमा जसरी राजनीति घुस्यो त्यसले म लगायतका साथीहरुलाई चिन्तित बनाएको छ । त्यस्ता विकृति रोक्नु हाम्रो जिम्मेवारी पनि हो । तसर्थ महासंघ भित्र मौलाएको राजनीतिक खेलबाट टाढा रहेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हुँ । महासंघमा मेरो व्यक्तिगत स्वार्थ केही छैन । चुनाव आउन अझै धेरै समय बाँकी । संस्थाको हितमा म जस्तोसुकै त्याग गर्न तयार छु । संस्थापछि सदस्यहरुको हित हुनुपर्यो त्यसपछि मात्र म हुँ । यसको लागि मिलेर सहमतिमा जाने केही सम्भावना छ ।

केही समय अघिसम्म कुनै पनि हालतमा उपाध्यक्षबाट पछि नहट्ने बताउनु भएको थियो । अहिले सहमति भन्नुको अर्थ अब उपाध्यक्षको उम्मेदवारबाट पछि हट्दै हुनुहुन्छ हो ?

सहमति भन्नुको अर्थ मैले नै त्याग गर्नुपर्छ भन्ने होइन । सहमतीय आधारमा मलाई उपाध्यक्षको उम्मेदवार बनाउन पनि सकिन्छ नि । मैले छोड्दा मात्र सहमति हुने होइन नि । तर, यदि संस्थालाई सुदृढ गर्दै अघि बढाउने हो भने त्यसमा केही हदसम्म लचिलो हुन सकिन्छ । त्यसको लागि संस्था सुधारको खाका सहित सक्षम युवाहरुलाई अघि बढाउनु पर्छ ।

अर्को पक्षले घोषणा नै गरेर अघि बढिसकेको अवस्थामा तपाइको पक्षमा सहमति हुन सक्ने सम्भावना कत्तिको छ ?

घोषणा भनेको एउटा प्रक्रिया हो । मैले पनि एक वर्ष अघि देखि एशोसिएट्को भावी उपाध्यक्षको उम्मेदवार भनेर खुला रुपमा भन्दै आएको छु । त्यहि अनुसार समय दिएर काम पनि गरेको छु । मैले जति समय संस्थाको लागि खटेर काम गरेको छु त्यसको पनि मुल्याङकन हुनु जरुरी छ । काम गर्ने र योगदान दिने व्यक्तिको कदर भएन भने महासंघमा अझै बढी विकृति फैलाउनेछ र त्यसले महासंघको गरिमा समेत घटाउँछ । महासंघमा समय दिने व्यक्ति मात्र नभएर अबका दिनमा सचिवालयमा पनि सुधार गर्नु जरुरी छ ।

एशोसिएट्स उपाध्यक्षका लागि तपाइका एजेण्डा चाहीं के हुन् ?

अहिले महासंघमा धेरै सुधार गर्नुपर्ने छ । राजस्व तथा करका विषयमा सुधार हुनु जरुरी छ । लामो समयदेखि श्रम ऐन अड्किएर बसेको छ । औद्योगिक प्रवद्र्धन ऐन पारित भयो तर कार्यान्वयनमा आएको छैन । कागजी रुपमा मात्र आएर हूँदैन व्यवहारमा लागू हुनुपर्छ । बजेट र राजस्व सम्बन्धी व्यवसायीहरुको ठूलो गुनासो छ । मुलुक संघीयतामा गईसकेको छ अब महासंकलाई पनि त्यहि अनुसार अघि बढाउनुपर्छ । त्यसको लागि सोही अनुरुप प्रपोजल तयार गरी सरकासँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएको छु ।

सरकारले औद्योगिक व्यवसाय ऐनमा नो ओर्क नो पेलाई समेटेको छ तर कार्यान्वयन गर्ने श्रम ऐन पारित भइसकेको छैन । श्रमका विषयमा तपाइको धारणा चाहीं के हो ?

अधिकार सबैलाई बराबर हुनुपर्छ । कसैलाई बढी कसैलाई कम गरिनु हुँदैन । ऐन नियम बनाउन रोजगारदाता र श्रमिक दुबैलाई बराबर हक अधिकार दिइनुपर्छ । मेरो आफ्नो पनि धेरै उद्योग रहेको र श्रम सम्बन्धमा आफैले पनि त्यस्ता समस्या भोगेको र समाधान पनि गरेको कारणले गर्दा अबका दिनमा त्यसलाई महासंघमा समेत लागू गरेर देखाउन उपाध्यक्षमा आउन लागेको हुँ ।

प्रतिक्रिया दिनुहोस्
MBL