Logo

म बोलेर त्यसै छाड्ने मान्छे होइन, पुरा गरेरै देखाउँछु

म बोलेर त्यसै छाड्ने मान्छे होइन, पुरा गरेरै देखाउँछु


रामराजा श्रेष्ठ
0
Shares

यहिं हप्ताको अन्त्यमा आयोजना हुन लागेको लगानी सम्मेलनले फेरी एक पटक समग्र आर्थिक क्षेत्रको ध्यान खिचेको छ । लगानी सम्भावनाका विषयमा धेरै चर्चा भएपनि विदेशी लगानी त्यसअनुसार प्राप्त नभएको सन्दर्भमा उद्योग मन्त्रालयले आयोजना गर्न लागेको सम्मेलनबाट धेरै अपेक्षा गरिएको छ । उद्योगमन्त्री नविन्द्रराज जोशीको दाबी मान्ने हो भने सम्मेलनबाट एक खर्ब लगानीको प्रतिबद्धता आउनेछ । पछिल्लो समय केहि सक्रिय बन्दै गएको उद्योग मन्त्रालयको प्रगती, कार्यान्वयनको अवस्था जस्ता विषयमा मन्त्री जोशीसँग बिजखबरका रामराजा श्रेष्ठ र रक्षा रेग्मीले चासो राखेका छन् । मन्त्रीकक्षमा गरिएको कुराकानीको सार:

उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेयता उद्योग क्षेत्रको समग्र अवस्थाको बारेमा पक्कै पनि जानकार हुनुहुन्छ होला । यति धेरै सम्भावनाका बाबजुद पनि औद्योगिक विकासमा हामी चाहीं किन पछि परेछौं ?

यो प्रश्न मैले आफैलाई सोधिरहेको छु । पहिलो कुरा त कसरी विकास गर्ने भन्ने खाका तयार गर्नुपर्छ । विगतमा धेरै प्रयास भएका छन् । त्यसको सह्राना गर्न चाहन्छु । तर नेतृत्वमा त्यसको खाका र यहाँ पुग्छु भन्ने विगतमा थिएन । मलाई लाग्छ त्यो मसँग छ । मसँग कहाँ पुग्ने र केमा लक्षित हुने खाका तथा योजना छ ।

तर म सानो पात्र मात्र हो । मलाई सबै सिस्टमले सहयोग पुर्याउनु पर्छ । यत्रो सिस्टममा म एउटाले के गर्न सक्छु भन्ने धेरैलाई लाग्दो रहेछ । तर म एउटा हो भने अरु पनि एउटा एउटा नै हो भन्ने मेरो सोचाई हो । म कसैबाट प्रभावित हुन सक्छु भने मबाट पनि कोही प्रभावित हुन्छन् भन्ने मेरो मान्यता हो ।

nabindraraj-joshi-nepal

त्यो मान्यताको ठोस नतिजा कहिले देखिएला मन्त्रीज्यू ?

तपाइले मेरो ‘एक्सन’ बाट योजना देख्न सक्नुहुन्छ । योजनाको कुरा गर्दा मैले त्यो भन्न चाहिन किनकी योजना धेरैले बनाउँछन मात्रै । काम गर्दैनन् । तर म योजनाको बारे कुरा नगरी काम गरेर देखाउँछु ।

तपाइले यो बीचमा केहि नयाँ योजना र सुधारका प्रयास पनि सार्वजनिक गर्नुभयो । कार्यान्वयन अवस्थाबाट सन्तुष्ट हुनुहुन्छ ? मेरो उपलब्धिको मूल्यांकन तपाइहरुले गर्ने हो । मैले काम मात्र गर्ने हो । तर उद्योग मन्त्रालयलाई यो अवस्थामा ल्याउन मैले सहयोग गरेको छु । अहिले देशको आर्थिक क्षेत्रमा फड्को मार्न सक्ने महत्वपूर्ण मन्त्रालयको रुपमा पुगेको छ । अहिले उद्योगमा के परिवर्तन आयो त्यो तपाईले मूल्यांकन गर्ने हो । त्यस्तै कस्तो परिस्थिती थियो, अहिले सहजता कती भएको छ त्यो पनि हेर्नुहोस ।

हालै उद्योग विभाग अनलाइनमा गयो । अब केहि दिनमै कागजात एकै ठाउँमा मात्र बुझाउनपर्ने व्यवस्था लागु हुदै छ । लगानीको वातावरण, नीतिगत सुधार र मन्त्रालयकै संरचनागत परिवर्तन पनि अघि बढेको छ । यसमा केहि नतिजा पनि प्राप्त भएको छ ।

अँ साँच्चै केहि समयअघि तपाइ आफैले उद्योग विभागको नियमित अनुगमन गर्ने घोषणा गर्नुभएको थियो । अहिले त जानै छाड्नुभयो भन्ने सुनिन्छ नि ?

उद्योग विभागमा हप्ताको तीन दिन म आफै वा उद्योग राज्य मन्त्री जाने घोषणा गरेको थिए । त्यसले निरन्तरता पाएको छैन । केहि दिन हामी त्यहाँ गएर बस्यौ । तर त्यहाँ ‘कम्प्लेन’ गर्ने नै कोही भेटिएनन् ।

मेरो चाहना सेवाग्राहीले आफ्नो समस्या राखोस भन्ने हो । तर आफ्नो समस्या मन्त्रीलाई भन्न नरुचाएको जस्तो लाग्यो । मन्त्रीलाई भनेमा कर्मचारीले पछि आफ्नो काम गर्दैनन् भन्ने मानसिकता सेवाग्राहीमा छ जस्तो लाग्यो । नीतिगत रुपमा पूर्णतया सुधार गर्नु आवश्यक देखे । त्यसैले अनलाइन पेमेन्ट र डिजिटल सिग्नेचर लागु गर्न लागेको हो । त्यसपछि हामी विभाग गइरहनुपर्ने जरुरत पनि हुँदैन । तीन महिनाभित्र त्यो व्यवस्था लागु गर्ने छौ ।

केहि समयअघि औषधि लिमिटेडबाट ८ ओटा औषधी उत्पादन गर्ने घोषणा गर्नुभएको थियो । कहाँ समस्या भयो ?

अर्थबाट रकम नआउदा पनि केही ढिलाई भएको हो । त्यसले गर्दा सामान झिकाउन पनि ढिलै भयो । अहिले अर्थ मन्त्रालयले रकम निकासा गरिसकेको छ । हामीले टेन्डर आह्वान समेत गरिसकेका छौं । टेन्डरका लागि ३५ दिन त्यस्तै छानविनका लागि पनि केही समय लाग्छ । मेरो चाहना तीन महिना भित्रै हो । प्रक्रियाले ढिलो भएको हो ।

त्यसो भए औषधी लिमिटेडका उत्पादन कहिले सम्म प्रयोग गर्न सकिन्छ ?

सुरुमा मेसिन ल्याएर त्यसको ‘प्रपोजल’ बनाउनुपर्छ । त्यस्तै कच्चा पदार्थको टेन्डर छुट्टै गर्नुपर्ने हुँदा समय लाग्छ । अब बढीमा ३ महिनामा उत्पादन बजारमा ल्याउने छौं ।

प्रसङ्ग बदलौं । फागुन १९ र २० गते लगानी सम्मेलन आयोजनाको तयारी हुँदैछ । सम्मेलन किन आवश्यक प-यो ?

हामीसँग लगानीका पर्याप्त अवसर अनि सम्भावना छन् । खानीदेखि उर्जा सम्म विदेशी लगानी भित्र्याउन सक्ने यो अवसरलाई अब वास्तविकतामै परिणत गर्नुपर्ने समय आएको छ । संविधानको घोषणा पछि नेपाल आर्थिक विकासमा केन्द्रित छ भन्ने सन्देश दिनका लागि पनि सम्मेलनको आवश्यकता परेको हो । लगानी सम्भावनाका क्षेत्रको बारेमा लगानीकर्तालाई जानकारी दिने र त्यसमा लगानी भित्र्याउने प्रयास सम्मेलन मार्फत गर्नेछौं ।

nabindraraj-joshi-nepal-ministry

सम्मेलन गर्ने तर त्यसको उपलब्धी संस्थागत नहुने उदाहरण यसअघि देखिदैं आएका छन् । लगानी सम्मेलनको उपलब्धीलाई एउटा निष्कर्षमा पु-याउन कुनै प्रयास गर्दै हुनुहुन्छ ?

यो एउटा महत्वपूर्ण कुरा हो । लगानी सम्मेलनको उपलब्धीलाई नतिजा दिन हामीले सम्मेलन पछि पनि त्यसलाई निरन्तर ‘फलो अप’ गर्ने योजना बनाएका छौं । त्यसका लागि उद्योग मन्त्रालयको संयोजकत्वमा राष्ट्रिय योजना आयोग र लगानी बोर्ड अन्तर्गत छुट्टै समिती पनि बनाएका छौं । ती समितीले सम्मेलनको उपलब्धीलाई निरन्तर अनुगमन र जानकारी गराइरहन्छन् ।

लगानी भित्र्याउने योजना बनाउने तर लगानीको स्वीकृत गर्ने औद्योगिक बोर्डको बैठक नै निरन्तर बस्न सकेको छैन । उद्योगीकै अनुसार तीस अर्बभन्दा बढी लगानी बोर्डले निर्णय गर्न नसक्दा रोकिएको छ । यस्तो किन भएको ?

अहिलेसम्म यो विभिन्न कारणले रोकिएको थियो । अब रोक्नुहुँदैन भन्ने मेरोे मान्यता हो । त्यसैले पनि यसलाई निरन्तरता दिने हाम्रो योजना हो ।

तपाइ आफै भनिदिनु होस न, तपाइले योजना बनाएका के के विषय कार्यान्वयनमा आए ?

घोषणा गरेकोमा काम भए नभएको तपाईले हेर्न सक्नुहुन्छ । जस्तो कि कपडा उद्योगमा नटबोल्टदेखि के कस्ता मेसिन काम लाग्ने नलाग्ने छ सबै हेरेका छौं । सबै मेसिनको अध्ययन गरेर अघि बढेको छु । मैले बोलेको कुरा पुरा गरेर छाडेको छु । चैत २६ सम्ममा अर्थात ५० दिनमा १ लाख लघु उद्यमी दर्ता गर्ने भनेको छु त्यो पनि याद राख्नुस ।

परिणाम आजको आजै दिन सकिन्छ । त्यसका लागि कुर्नुपर्छ । मैले घोषणा गरेको कुरा कार्यन्वयनमा आउँछ । म बोलेर मात्र छोड्ने मान्छे होइन ।

nabindraraj-joshi-industry-ministry

भनेपछि अहिले बाटो मात्र देखाउँदै हुनुहुन्छ ?

होइन काम गर्दै छु । मैले बाटो हिड्ने सडक तयार भएको छ । गरेको छु । तपाइ त्यहाँ हिड्नुभाछ । तपाइलाई गन्तव्यमा पुग्न त समय लाग्छ नी । जस्तो की हेटौडा उद्योगमा के के सामान कस्ता अवस्थामा छन्, कसरी सुधार गर्न सकिन्छ । सबै एकएक रेकर्ड राखेको छु । कति मेसिनलाई सामान्य मर्मत गर्दा हुन्छ त्यो त्यतीकै फ्याकिएको छ सबै हेरेर आएको छु ।

तर समस्या के छ भने संस्थान लिक्युडेशनमा गएको छ । निर्णय मैले गरेर हुँदैन । अर्थ मन्त्रालयले नै गर्नुपर्छ । त्यस्तै सञ्चालन गर्न क्याबिनेटमा लैजानुपर्छ । त्यही हामीलाई समस्या छ । हिजो मेसिन काम लाग्दैन भन्ने फाइल छ । तर मेरो अध्ययनमा ती सबै काम लाग्ने देखिएको छ । जग्गा अरुलाई दिने, सबै मेसिन बेच्ने निर्णय भइसकेको छ । सबै निर्णयलाई फिर्ता गर्नुपर्ने हुन्छ । जग्गा आफ्नो नाममा ल्याउनुपर्छ । साढे ७ करोडमा मेसिन बेच्ने कुरा भएको थियो । मैले पहिला नबुझिकन भने तर । मैले जे बोलेको छु त्यसमा पछि लागेर काम अघि बढाएको छु ।

प्रतिक्रिया दिनुहोस्
MBL