Logo

“निगमको भलो नचाहानेले १ हजार घण्टाको विरोध गरेका हुन्”

“निगमको भलो नचाहानेले १ हजार घण्टाको विरोध गरेका हुन्”


रामराजा श्रेष्ठ
27
Shares

जसलाई ग्लोवल टेण्डरको अवधारणा नै थाहा छैन उसैले कार्टेलिङ भयो भनिरहेका छन् ।

निगमले अन्तरराष्ट्रिय उडानमा ६ वटा वाइडवडी जहाज चलाउने छ भने आन्तरिक उडानमा पनि सोही अनुरुप थप गर्दै जाने छ । केही समय अघि निगमका कर्मचारी माथी काम गर्न सकेनन् भन्ने आरोप पनि लाग्यो । कर्मचारीलाई काम गर्ने साधन नदिई कसरी गर्न सक्छन् ? निगममा नयाँ जहाज थप भएसँगै नयाँ गन्तव्य पनि बढाइरहेका छौं । आगामी दिनमा थप ४ वटा गन्तव्य थप्ने योजना छ । अहिले नयाँ जहाज खरिद गर्ने क्रममा केही व्यक्तिहरुले विरोध गरिरहेका छन् । तर, त्यसमा कुनै सत्यता छैन । त्यो केवल विरोधका लागि विरोध मात्र हो । निगमको अवस्था, सुधारका योजना तथा आगामी लक्ष्यका विषयमा केन्द्रित रहेर नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारसँग बिजखबरका रामराजा श्रेष्ठ र रक्षा रेग्मीले गरेको कुराकानीको सार:

नेपालका निजी क्षेत्रले पनि अन्तरराष्ट्रिय उडान शुरु गरेको तथा थप्न लागिरहेका छन्, यस्तो अवस्थामा निगमले कसरी प्रतिस्पर्धा गर्छ ?

निगमले २० औं बर्षदेखि २ दर्जन भन्दा बढी एयरलाइन्ससँग प्रतिस्पर्धा गरिरहेको छ । सयौ हवाईजहाज भएका कम्पनीसँग प्रतिस्पर्धा गरेको अवस्थामा यो कुनै नौलो कुरा होइन । सयौँ संख्यामा जहाज भएका विदेशी कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको संस्थालाई १/२ वटा कम्पनी आएर कुनै असर गर्दैन । तर जुन रुपमा अन्तरराष्ट्रिय उडानका लागि नेपाली कम्पनी आए त्यो देशको लागि फाइदाको विषय हो ।

sugat-ratna-kansakar-nepal-airlines-corporation

यस्तो अवस्थामा आफुलाई अग्रपंक्तिमा राख्न केही योजना अघि ल्याउनु भएको छ कि ?

निगम २८ बर्षसम्म हवाई जहाज नकिनि वसेको संस्था हो । तर, संसारमा यस्तो कहीँ छैन । पैसा कमाएर मात्र हुँदैन त्यसको विस्तार गर्न आवश्यक छ । लामो समयसम्म विमान खरिद नगर्ने अनि वाहिर निगमका मर्कचारीले संस्था डुवायो भन्ने हल्ला गर्छन । जहाँज छैन भने जस्तोसुकै कर्मचारी भएपनि केही गर्न सक्दैन । तसर्थ समस्या कर्मचारीमा होइन हवाइजहाज नहुनुमा हो । सोही अनुरुप सरकारले पनि हवाई जहाज खरिद गर्न स्वीकृति दिएको छ ।

व्यवस्थापन सुधार गर्दै उत्पादन क्षमता बढाउने निगमको रणनीति हो । अहिलेको जस्तै दिल्ली, मलेसिया र मध्य पूर्वी एसियामा गएर कामदार भरेर मात्र जहाज उडान गरेर काम छैन । यसलाई पनि सुधार गर्नु जरुरी छ । देशको अर्थतन्त्र बलियो बनाउन एयरलाइन्सले बढीभन्दा बढी पर्यटक भित्र्याउन केन्द्रित हुनुपर्छ । जसका लागि हवाइ संख्या थप्दै सोही अनुरुप गन्तव्य बढाएर बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएका छौ । जसको लागि शुरुवाती चरणमा वाइडबडी खरिद गर्दै छौं ।

तर विडम्वना न भनौ एशियाको सवैभन्दा महंगो गन्तव्यमा काठमाडौं रहेको छ । त्यसलाई सस्तो नवनाई काम हुदैन ।

तर, निगमको अन्तरराष्ट्रिय बजार हिस्सा त बढेको देखिदैन नि ?

अहिलेसम्म निगमसँग आवश्यकता अनुरुप जहाज नै छैन । जहाज नै नभई कसरी बढ्छ बजार हिस्सा ? आफ्नो उपस्थिती क्षमता बढाउनकै लागि जहाज थप्न लागेका हौं । जहाज थपेपछि स्वत रुपमा अन्तरराष्ट्रिय बजार हिस्सा बढ्नेछ ।

अवको नयाँ गन्तव्य कहाँ–कहाँ थप्ने योजना बनाउनु भएको छ ?

साउदी अरेविया हाम्रो पहिलो टार्गेट हो । कोरिया तथा जापान हुँदै अन्य युरोपेली मुलुकमा पुग्ने छौं । त्यस लगत्तै अष्ट्रेलिया पुग्ने योजना छ । साउदीबाट अहिलेसम्म नेपालमा सिधा उडान छैन । जहाँ ५ लाखभन्दा बढी नेपाली कामदार रोजगारीका लागि गएका छन् । उनीहरुकै सुविधाका लागि पनि हाम्रो पहिलो गन्तव्य साउदी हुने छ भने निगमको पनि एकलौटी बजार हुन्छ ।

निगमसँग स्रोत साधन भएर पनि सही उपयोग गर्न सकेन भन्ने आरोप लाग्दै आएको छ नि ?

हो, पहिला हामीलाई आरोप लागेको थियो । दुई ओटा नयाँ एयरबस आउँदा शुरुमा अलमल भएको थियो । २८ बर्षसम्म एउटा पनि जहाज नकिनेको संस्थामा एकैपटक २ वटा ल्याउँदा त्यसको व्यवस्थापन गर्न केही कठिन भएको थियो । तर, त्यसो भन्दैमा सदुपयोग नै नभएको भन्ने होइन । सकारात्कमभन्दा नकारात्मक कुराको बढी प्रचारवाजी गरियो । निगममा अव त्यो समस्या दोहोरिँदैन ।

निजी विमान कम्पनीले उच्च नाफा कमाइरहँदा वायु सेवा निगमले भने सोही अनुरुप किन कमाउन नसकेको ?

निगम हालसम्म घाटामा नगएको संस्था हो । हामीलाई ग्राउन्ड ह्याण्डलीङबाट पैसा कमाएको भन्दै आलोचना गरिरहेका छन् । हो हामीले त्यसरी नै प्रशस्त नाफा कमाएका छौं । तर त्यो गलत त होइन नि । त्यो पनि एभिएसन विजनेश नै हो, हामीले चामल बचेर कमाएका होइनौं । हरेक एयरलाइनसले यो काम गरिरहेका छन् ।

निगमले भर्खरै मात्र बोलपत्र खुला गरी यएरवस २३०–२०० मागेको छ । यो ग्लोवल टेन्डर नभइ विशेष व्यक्तिलाई लक्षित गरियो भन्ने आरोप छ नि ?

अहिले हामीले छानेको सवैभन्दा सानो वाइडबडी यही हो । तर हाइएष्ट रेञ्जको । यो भन्दा सानो वाइडबडी पाइदैन । यसमा काठमाडौं लण्डन ननस्टप उडान भर्न सक्ने क्षमता छ । त्यसले गर्दा यो माग गरेका हौं । जसले जुन आरोप लगाए त्यो विलकुल गलत छ । हालसम्म १० ओटा टेन्डर आएका छन् । यदि कुनै व्यक्ति वा कम्पनीलाई लक्षित गरिएको भए कसरी यदि धेरै आवेदन पथ्र्यो ? हजारौ कम्पनीले भाग लिने गरी गरेको टेन्डरलाई कसैलाई दिन गरेको भन्ने कतिसम्म मूर्ख प्रश्न हो ? निगमले वेवसाइटबाटै डकुमेन्ट डाउनलोड गरेर डिएचएलबाट टेण्डर हाल्न पाउने व्यवस्था गरिएको थियो । यो एकदमै गरी पारदर्शी हुन्छ र यसले कसैलाई पक्षपात गर्दैन ।

टेन्डरमा एजेन्टको मात्र सहभागित देखियो सम्वन्धित कम्पनीको संलग्न छैन । यस भित्र कुनै रहस्य त छैन ?

एयरबससँग सल्लाह गरेर नै १ हजार घण्टासम्म उडान गरेर जहाजले बोलपत्रमा सहभागिता जनाउन सक्ने व्यवस्था गरेका हौं । हामीलाई तत्काल जहाज चाहिएको छ तर एयरवसले सन् २०१८ भन्दा अगाडी जहान दिन सक्ने अवस्था छैन । हामीलाई तत्काल जहाज चाहिएकाले बैकल्पिक उपाय खोजेका हौ भने जहाँ बढी प्रतिस्पर्धा पनि होस । १ हजार घण्टा उडान भनेको ३ महिना चलेको जहाज कुनै एयरलाइन्स वा लिजिङ कम्पनीसँग किन्न सकिन्छ । अहिले १ हजार घण्टा चलेको थोत्रो जहाज किन्न लाग्यो भन्ने हल्ला छ । त्यो वाहियात हल्ला हो । २/३ महिना चलेको जहाज कसरी पुरानो हुन्छ ? कसैले ९ सय ९९ किन नराखेको पनि भन्ला त्यसको उत्तर मसँग छैन ।

sugat-ratna-kansakar-nepal-airlines

बोइङ नकिने र किन एयरबसमै जानु भयो ?

हाम्रो निर्णय कि बोइङ कि एयरबस मात्र किन्न पर्छ भन्ने हो । नेपाल एयरलाईन्सले एयर बस र बोइङ दुवै एकैपटक किन्छ भने संसारको सवैभन्दा मुर्ख ‘सिइओ’ मै हुन्छु । कुनै पनि एयरलाइन्सले बोइङ र एयरबस दुवै किन्दैनन् । व्यवस्थापन गर्न गाह्रो हुन्छ । मर्मत संभार र सञ्चालनमा लागत बढी हुन्छ । छुट्टाछुट्टै पाटपुर्जा र जहाज निर्माणको लाग सोही अनुरुप जनशक्ति चाहिन्छ । निगमको संचालन खर्च घटाउन कै लागि एयरवसमात्र किन्ने निर्णय गरेका हौं ।

अझै पनि विमान खरीदमा कार्टेलिङ भयो निगमले व्यक्ति विशेषलाई हेरेर बोलपत्र आब्हान गर्यो भन्ने आरोप छ । यसैलाई इस्यु बनाएर कसैले मुद्दा हालिदियो भने के हुन्छ ?

त्यो आरोप अत्यन्तै केटाकेटी खेलेजस्तो भयो । यस्ता आरोप भनेको ज्ञान नभएकोले लगाउने हुन् । ग्लोवल टेन्डरको व्याख्या नजानेकोसँग कसरी कुरा गर्नु ? मुर्खसँग कुरा गर्न सकिदैन । ग्लोवल टेन्डरमा कार्टेलिङ हुन्छ भन्ने सोच राख्नु नै गलत हो । जसले निगमले भलो चाहँदैन उसले मात्र यो प्रक्रियाको विरोध गरेको छ । तसर्थ निगम ग्लोवल टेण्डरमा गएको छ जसले मापण्ड भित्र रहेर जस्तोमा उपलब्ध गराउँछ उसैसँग खरिद गरिनेछ ।

जहाज किन्न धेरै बैंक वित्तीय संस्थाले कर्जाका लागि इच्छा देखाएका छन्, कसरी छान्नुहुन्छ ?

यो संस्थाको लागि अन्यन्तै राम्रो कुरा हो । अहिले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निजी बैंकलगायतले इच्छा देखाएका छन् । तर हामी निष्कर्षमा पुगेका छैनौ । अहिले तीन ÷चार वटा वाणिज्य बैंक मिलेर २५ अर्व रुपैयाँ लगानी गर्नका लागि पनि प्रस्ताव ल्याएका छन् । प्रतिस्पर्धात्मक रुपमा जसले कम ब्याजदरमा उपलब्ध गराउँछ उसैसँग साझेदारी गछौं ।

कति प्रतिशत ब्याजदरमा कुरा भइरहेको छ र कतिवर्ष भित्र तिर्ने योजना छ ?

अधिकतम ७ प्रतिशतसम्म हुनसक्छ । कर्मचारी सञ्यकोष तथा नागरिक लगानी कोषलाई उनीहरुले प्रस्ताव गरेको ब्याजदर घटाउन आग्रह गरेका छौं । हाम्रो लक्ष्य भनेको ६ प्रतिशतसम्ममा लिने हो । अहिले धेरै संस्थासँग छलफल भइरहेकाले तत्काल टुङ्गो लाग्ने अवस्था छैन । तर, सो ऋणको सावाँ र ब्याज १५ वर्ष भित्रै भुक्तान गर्ने छौं । हामीले यस अघि बोइङ किन्न नेपाल सरकारसँग लिएको ऋणको पनि ६ किस्ताभन्दा बढी तिरीसकेका छौं ।

निगमलाई ओभर स्टाफिङको आरोप छ तर नयाँ थप्दै हुनुहुन्छ नि ?

निगममा ‘ओभर’ हैन ‘अन्डर स्टाफिङ’को समस्या छ । निगमलाई अन्य संस्थानसँग तुलना गरेर ओभर स्टाफिङ आरोप लगाइएको छ । तर यसमा कुनै सत्यता छैन । हामीसँग आवश्यक जनशक्ति नभएकै कारण नयाँ कर्मचारी माग गरिरहेका छौं ।

दक्ष कर्मचारी नभएको हो कि ?

दक्षतामा कुनै शंका छैन । हामीले त्यही हिसावले तालीम दिएका छौं । विदेशीहरु नेपालमा खतम छ भन्ने सोचेर आउने गर्छन । तर हाम्रो दक्षता देखेर उनीहरुलै अचम्मित हुन्छन् ।

तपाँईको कार्यकालमा निगममा कतिओटा जहाज पुर्याउने लक्ष्य लिनु भएको छ ?

मेरो कार्यकालको १७ महिना पुरा भयो । अव साढे २ बर्ष बाँकी छ । पहिला २ ओटा जहाज आयो । अहिले २ वटाको लागि टेन्डर गरेका छौं । अव २ ओटा बाइडबढी थप्ने हो । साथै निगमको आन्तरिक उडानका पनि एकदमै कम जहाज छ । आन्तरिक उडानमा पनि सोही अनुरुप जहाज थपिने छ ।

आन्तरिक उडानका विस्तारका लागि केही योजना बनाउनु भएको छ ?

अहिले ‘जिटुजी’ निणर्यमा पुगेका छौं । जसका लागि चाइिनज हवाइजहाज चलाईने छ । आन्तरिक उडानका निजी कम्पनीले पनि धेरै काम गरिहेका छन् । निगम व्यापारिक संस्था हो जसको मूख्य उद्देश्य पैसा कमाउनु हो । तसर्थ हामीले अन्तरराष्ट्रिय उडानलाई नै प्राथमिकता दिनु पर्छ । अन्तरराष्ट्रियबाट पैसा कमाएपछि नेपालका निजी विमान कम्पनी नजाने ठाँउमा निगमले आन्तरिक उडान थाल्ने छ । त्यो अवस्थामा निगमले २ जना यात्रु पाइने ठाउँमा पनि उठान भर्ने छ । जसको उद्देश्य आम्दानी मात्र नभई समाज सेवा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL