Logo

ओप्पोको ‘बेञ्चमार्क’ आइफोनसँग मात्र मेल खान्छ

ओप्पोको ‘बेञ्चमार्क’ आइफोनसँग मात्र मेल खान्छ


रामराजा श्रेष्ठ
0
Shares

पछिल्लो समय चिनीयाँ ब्राण्डका स्मार्टफोन आक्रामक रुपमा नेपाली बजार प्रवेश गर्दैछन् । हुवावे, जीयोनी, सायोमी पछि अर्को चर्चित ब्राण्ड ओप्पोले नेपाली बजारमा आफूलाई औपचारीक प्रवेश गराएको छ । तुलनात्मक रुपमा सस्तो मुल्यमा स्मार्ट सुविधा सहित चिनियाँ ब्राण्डका मोबाइल खरिद गर्न सकिने भएकोले नेपाली ग्राहकको आकर्षण यस्ता ब्राण्डतर्फ बढिरहेको छ । दुरसञ्चार सेवा प्रदायकले डाटा सेवालाई दिएको प्राथमिकतासँग मेल खाने भएकोले पनि सस्तौमै उत्कृष्ट सुविधा पाइने चिनियाँ मोबाइलको बजार व्यापक रुपमा विस्तार हुँदैछ । चिनियाँ ब्राण्डले नेपाली बजारमा सुधारेको पुरानो छविले पनि नयाँ ब्राण्डलाई यहाँ भित्रने बाटो सजिलो बनाइदिएको छ । यसै सन्दर्भमा एक हप्ताअघि नेपाली बजार प्रवेश गरेको ओप्पो मोबाइलको अबको रणनीति र अबको योजनाको विषयमा बिजखबरका प्रमुख संवाददाता रामराजा श्रेष्ठले नेपालस्थित आधिकारीक विक्रेता टेलिसेल प्रालिका प्रबन्ध निर्देशक सुनिल कुमारसँग गरेको कुराकानीको सार:

मोबाइल पहुँच ‘स्याचुरेट’ भैसकेको अवस्थामा पनि नयाँ ब्राण्डलाई बजारमा स्थापित गर्न सकिन्छ भन्ने सम्भावना कसरी देख्नुभयो ?
पहिलो कुरा नेपाली बजारमा मोबाइलको बजार स्याचुरेसनमा पुगिसकेको छैन । नयाँ र राम्रा ब्राण्डका लागि अझै पनि बजारको ठूलो सम्भावना छ । यस अघि नेपाली बजारमा चाइनिज ब्राण्डका मोबाइल नआएका होइनन् । तर, ती सबैको तुलनामा ओप्पोको इतिहास फरक छ । यो मोबाइल विश्व बजारमा चौथौं स्थानमा छ भने भारतमा दोस्रो स्थानमा छ । भारतमा सामसुङ पछि ओप्पोको बजार छ । अरु मोबाइललाई स्मार्टफोन भनिन्छ तर ओप्पो स्मार्टफोन मात्र नभइ ‘सेल्फी एक्सपर्ट’ पनि हो । कुनै फोनले बजार हिस्सा ओगट्नुमा मूल्य र त्यसले दिने सुविधामा पनि भर पर्छ ।

यसको हार्डवेयर र सफ्टवेयर स्तरीय छ । अरु फोनमा जस्तो घरीघरी समस्या आउँदैन । नेपाली बजारमा ओप्पो मोवाइलको ठूलो सम्भावना छ । विशेषगरी सेल्फीका पारखी र युवा जमातमा लागि यो उपयुक्त छ ।

तैपनि ग्राहकले स्थापित ब्राण्डनै खोजिरहेका हुन्छन् । यो ट्रेण्डलाई कसरी परिवर्तन गर्नुहुन्छ ?
आफै परिवर्तन हुन्छ हामीले केही गर्नुपर्दैन । नेपाली उपभोक्ताले पनि गुणस्तरीय ब्राण्ड खोजिरहेका छन् । अहिले पनि धेरै नेपाली उपभोक्ताले ओप्पो मोबाइलको प्रतिक्षा गरिरहेका छन् । त्यसका लागि ओप्पोले केही गर्नु पर्दैन, उपभोक्ताले नै परिवर्तन खोजिरहेका छन् । यो नेपालमा मात्र भर्खर त्रिभिएको हो विश्व बजारमा यसले आफ्नो ब्राण्ड स्थापित गरिसकेको छ । मैले भारतमा पनि ओप्पो मोबाइलको बिक्रिको ठूलो क्षेत्रमा काम गरेको थिए । यस प्रति विश्वास भएर नै नेपाली बजारमा भित्र्याएका हौं । ओप्पो अन्य स्मार्टफोनको तुलनामा चलाउन सजिलो छ फिचर पनि त्यही अनुसार छ । ओप्पोको बेञ्चमार्क एप्पलसँग मात्र मेल खान्छ ।

पहिले स्थापित भएका केही चिनीयाँ ब्राण्ड नेपाली बजारबाट विस्तारै विस्तापित हुने अवस्थामा छन् । केही निश्चित ब्राण्डले ‘मार्केट होल्ड’ गरेको बजारमा ओप्पोले आफुलाई कसरी ब्राण्डिङ गर्नेछ ?
मार्केटिङका लागि ओप्पोको छुट्टै टीम छ । हामीले सकभर सबै मोबाइल पसलमा ओप्पोको छुट्टै स्टल राख्ने तयारी गरेका छौं । त्यसै अनुसार सेल्सको प्रमोटर दिने योजना बनाएका छौं । मार्केटिङ टीमले मोबाइलको ‘भिजिबिलिटी’ बढाउन अध्ययन गर्ने छ । मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ । अहिले बजारमा चाइनिज ब्राण्डका धेरै मोबाइल छन् । तर, ओप्पोको स्ट्याण्डर्ड छुट्टै छ । यसलाई ती मोबाइलसँग तुलना गर्न मिल्दैन । यसको तुलना केबल आईफोनसँग मात्र हुन्छ ।

ओप्पोको बजारीकरणका लागि चाइनिज टीम नै आएका छन् । बजारीकरणमा चाइनिज एकदमै अगाडी छन् । उनीहरुले नेपाली बजारको बारेमा अनुसन्धान गरिरहेका छन् । आगामी दिनमा देशभर नै प्रमोटर दिएर अघि बढ्ने छौं । यसको लागि पहिलो कुरा ब्राण्डिङ नै हो । यसैगरी प्रोडक्टले पनि यसको बजारीकरणमा सहयोग पुर्याउछ । नेपाली बजार भारतसँग प्रभावित छ । भारतमा आ्प्पोले आफ्नो बजार लिइसकेकाले नेपालमा पनि सहज रुपमा उपस्थिती जनाउने छ । ओप्पो विश्वस्तरीय ब्राण्ड भएकाले नेपाली बजारमा स्थापित हुन त्यति कठिन छैन । कम्पनीको लक्ष्य अनुरुप एकबर्ष भित्र सकभर पहिलो नसके दोस्रो स्थानमा आइपुग्ने छौं ।

मोबाइलका ग्राहक अहिले पनि बिक्री पछिको सेवासँग सन्तुष्ट देखिँदैनन् । यो समस्या ओप्पोको ग्राहकले व्यहोर्नु पर्छ कि पर्दैन ?
हाम्रो चहाना नै ग्राहकको सन्तुष्टि हो । पहिलो कुरा ओप्पोको मोबाइलमा समस्या आउँदैन । यसको हार्डवेयर र सफ्टवेयर उत्कृष्ट छ । विश्व बजारमा अहिलेसम्म त्यस्तो समस्या आएको छैन । ओप्पोले आफ्नै विश्वस्तरीय सर्भिस सेन्टर बनाउने छ । जसको लागि सिटि सेन्टरमा निर्माण कार्य भैरहेको छ । जुन एक हजार स्क्वायर फिटको हुनेछ । जहाँ ग्राहकले सफ्टवेयरदेखि हार्डवेयरसम्मको समाधान एकै ठाउँबाट पाउन सक्नेछन् । कुनै पनि समस्याको समाधान एक दिनदेखि एक हप्ताभित्रै दिने छौं ।

यो त भयो काठमाडौंका लागि । उपत्यका बाहिरका ग्राकका लागि के व्यवस्था छ ?

पोखरा, विराटनगर, विरगञ्ज, नेपालगञ्ज, चितवनजस्ता स्थानमा ओप्पोले आफ्नै सर्भिस सेन्टर स्थापना गर्ने छ । यस बाहेक ओप्पोको बजार जहाँ जहाँ बढ्दै जान्छ त्यस्ता ठाउँमा सर्भिस सेन्टर सञ्चालन हुनेछ । सर्भिसका लागि ग्राहकले चिन्ता लिनु पर्दैन ।

sunil-kumar-telesell-oopo-1

अब कति समयभित्र ओप्पो नेपालभर पुग्ने छ ?
बढीमा तीन महिना भित्र अप्पो नेपालभर पुग्ने योजना छ । जसको लागि पहिलो चरणमा काठमाडौंमा ब्राण्डिङ गर्नेछौं । काठमाडौं उपत्यका तथा बनेपा लगायतका बजारमा २ सय ५० वटा रिटेलर काउण्टर स्थापना गरिने छ । आगामी एक महिना भित्र नेपालका मुख्य बजारमा पुग्नेछौं भने एक महिनाभित्र देशभर पुग्नेछौं । सोही अनुरुप सर्भिस सेन्टर पनि स्थापना गरिनेछ ।

अहिले काठमाडौं बाहिरका क्षेत्रीय डिलरहरुले अप्पो लैजानका लागि प्रस्ताव गरिहेका छन् । त्यसको लागि ओप्पोले पूर्वाधार स्थापनाका लागि सहयोग गर्नेछ । बाहिरी जिल्लामा अप्पोको टिम र क्षेत्रीय वितरक मिलेर अघि बढ्नेछ ।

तपाइहरुले मोवाइललाई सेल्फीमा फोकस गरिरहनु भएको छ । सेल्फी नै अप्पोको मुख्य विशेषता हो ?

अप्पोले भर्खरै सर्वाजनिक गरेको F1S को मुख्य विशेषता नै सेल्फी हो । वाइड एङ्गलको १६ मेगापिक्सेलको फ्रण्ट क्यामेरा अन्य मोवाइलले दिन सकेको छैन । यसमा ग्रूप फोटो पनि त्यतिकै राम्रो आउँछ । यसका साथै लकको लागि फ्रिङ्ग सेन्सर पनि त्यतिकै छिटो छ । थ्री जीवी ¥याम, ३२ जीवी इन्टरनल मेमोरी र लेटेस्ट टेक्नोलोजीको प्रोसेरले गर्दा यो मोवाइल अन्यको तुलनामा भिन्न छ । तर, सेल्फी यसको छुट्टै विशेषता हो ।

अहिले तीनवटा मोडल मात्र सार्वजनिक गर्नुभएको छ । बाँकी मोडल कहिले भित्रिन्छ ?
अब नयाँ मोडल तिहार पछि आउँछ । त्यतिबेला तीन ओटावटा नयाँ मोडलको मोबाइल आउने छ । तर यसको मूल्य र मोडलको बारेमा अहिले नै भन्न सकिँदैन । ओप्पोले बजारमा कहिले पनि एकैपटक धेरै वटा मोडल ल्याउँदैन । ओप्पोको विशेषता भनेकै पुरानो मोडललाई विस्थापित गरेर नयाँ ल्याउने हो । अहिले पनि विश्वजारमा ओप्पोको चारवटा मोडल मात्र बिक्रीमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL