Logo

विदेशी जुत्तामा नेपाली ट्याग लगाएर बेच्ने जमाना गए

विदेशी जुत्तामा नेपाली ट्याग लगाएर बेच्ने जमाना गए


रामराजा श्रेष्ठ
162
Shares

नेपाली उत्पादन आयातित जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न सक्षम छन् । राम्रा र गुणस्तरीय जुत्ता लगाउन विदेशी ब्राण्डका खोजिरहनु पर्दैन । अहिले रोयल शुले मात्र बजारमा ८ सयभन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध गराएको छ । नेपाली जुत्ता उद्योगको अवस्था, यसका समस्या र यसका सधानका विषयमा केन्द्रित रहेर नेपाल उद्योग तथा व्यवसायी महासंघका उपाध्यक्ष तथा रोयल शुका प्रवन्ध निर्देशक भिमलाल पौड्यालसँग बिखजबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार :

व्यवसायी आफैले मेशिन राखेपछि किन विदेशबाट आयात गरेर बेच्नुपर्यो ? अहिले व्यवसायीले मेशिनरीमा ठूलो लगानी गरेका छन् भने सोही अनुरुप प्रविधि समेत भित्र्याएका छन् ।

तपाईहरु नेपाली जुत्ता उद्योगी भनेर गर्व गरिरहनु भएको छ । तर, विदेशबाटै सवै तयारी माल ल्याएर नेपालमा टास्दैमा स्वदेशी भन्न मिल्छ ?
सतप्रतिशत नेपाली नै छन् भन्न त सक्दिन । कतिपय मोडलहरु विदेशबाट ल्याएर बेच्नुपर्ने हुन्छ । एउटा जुत्ता उद्योगले ८/९ सय मोडलका जुत्ता चप्पल बजारमा ल्याएका छन् । तीमध्ये केही मोडल थोरै मात्रामा बिक्ने तर नवनाइ नहुने हुन्छ । त्यस्ता २/४ वटा मोडलका जुत्ता विदेशबाट ल्याएर नेपाली ब्राण्डमा विक्री भएको हुनसक्छ । तर, पहिलाको जस्तो अवस्था छैन । पहिला धेरै व्यवसायीले चीन तथा भारतबाट आयात गरेर नेपाली ब्राण्डमा विक्री गर्थे । तर, अहिले धेरै व्यवसायीले आफैले प्लाण्ट राखिसकेका छन् । आफैले मेशिन राखेपछि किन विदेशबाट आयात गरेर बेच्नुपर्यो ? अहिले व्यवसायीले मेशिनरीमा ठूलो लगानी गरेका छन् भने सोही अनुरुप प्रविधि समेत भित्र्याएका छन् । तसर्थ अवका दिनमा आयातित जुत्तामा नेपाली ट्याग लगाएर बेच्ने व्यापारीहरु टिक्न सक्ने अवस्था छैन । जसले नेपालमै उत्पादन गर्छ उसले मात्र यस व्यवसायमा राज गर्ने छ ।

तपाईहरु माथी विदेशी जुत्तामा नेपाली ट्याग भन्ने आरोप त अझै ताजा छ नि ?
त्यसो आरोप लागि आरोप मात्र हो । आजभन्दा ८/१० वर्ष अघिका कुरा हुन् । शुरुमा मैले पनि जुत्ताको आयात गर्थे । तर, अहिले आफैले प्लाण्ट लगाए उत्पादन गरिरहेको छु । यो व्यवसायी माथी लागेको झुटा आरोप हुन् । यसमा कुनै सत्यता छैन । त्यो विस्तारै प्रमाणित हुँदैछ ।

नेपाली बजारमा जुन किसिमका स्पोर्ट शु आएका छन् । तर, त्यस्ता जुत्ता बनाउने मेशिन नै नेपालमा छैन भनिन्छ । जुत्ता चाहिँ कसरी बन्छ ?
स्पोर्ट शुको प्रिन्ट गर्ने मेसिन नेपालमा छैन । त्यसको लागि केही पार्ट विदेशबाट प्रिन्ट गरेर ल्याउनु पर्ने बाध्यता छ । तर, जुत्ता उत्पादन गर्ने मेसिन नै नेपालमा छैन भन्ने कुरा गलत हो । निश्चित पार्ट जोड्का लागि मेशिन चाहिने हो । यद्यपि जुत्ता उद्योगमा ५० प्रतिशतभन्दा बढी हातको काम हुन्छ । नेपालमै हातले गर्नुपर्ने काम कसरी विदेशबाट आयात हुन्छ ?

नेपालमा धेरै जुत्ता उद्योग आइसके तर, विदेशी मोडलसँग प्रतिस्पर्धा गर्न सकेका छैनन । किन नेपाली उद्योगले विदेशी जस्तो फिनिसिङ दिन सकिरहेका छैनन् ?
अहिले बजारमा धेरै राम्रा डिजाइनका नेपाली जुत्ताहरु आएका छन् । नेपाली छालाका जुत्ताहरु विदेशीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् । इटाली तथा चीनका ठूला उद्योगमा बनेको जस्तो छन् भन्न त सक्दिन तर समग्र रुपमा विदेशीको तुलनामा नेपाली जुत्ताहरु उष्कृष्ट छन् । विगतका तुलनमा बजार प्रतिस्पर्धात्मक रुपमा अघि बढेको छ । साथै विदेशीको तुलनामा नेपाली जुत्ता सस्तो र बलिया छन् ।

अहिले नेपालबाट कच्चा छाला निर्यात भइरहेको छ । यसलाई ‘भ्यालु एड’ गरेर नेपालमै प्रशोधन गरेर जुत्ता उत्पादन गर्न सकिँदैन ?
नेपालमै छाला प्रशोधनका लागि सोही अनुरुपको मेशिनहरु छैनन् भने त्यसका लागि आवश्यक कच्चा छाला पनि उपलब्ध हुन सक्दैन । यद्यपि कतिपय उद्योगीहरुले बुटका लागि आवश्कय छाला नेपालमै प्रशोधन गरिरहेका छन् । तर, जुन रुपमा हुनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले नेपाली छाला नै प्रशोधन गरेर जुत्ता उत्पादन गर्नसक्ने अवस्था छैन । नेपालबाट प्रति वर्ग फिट २० रुपैयाँमा निर्यात भएको कच्चा छाला तयारी आयात गर्दा १ सय ५० रुपैयाँभन्दा बढी पर्छ ।

नेपाली उद्योगहरु जुत्तामा आत्मनिर्भरको बाटोमा छौं भनिरहेका छन् । तर, तथ्याङ्कले जुत्ता आयात पनि बढिरहेको देखाउँछ नि ?
मेरो अनुमानमा संख्याको हिसावले बढेको छैन । भ्यालुको हिसावले मात्र बढेको हुनसक्छ । पहिला न्युन बिजकिकरणले गर्दा जुत्ता आयात कम थियो भने भन्सारमा पनि खासै चेक जाँच हुदैन्थ्यो । अहिले जुत्तामा लाग्दै आएको भन्सार बढ््नुका साथै चेकजाँमा पनि कडाइ गरिएको छ । जसले गर्दा आयात बढ्न गएको हो ।

नाकाबन्दी र भुकम्पबाट थलिएको नेपालको जुत्ता उद्योगको अवस्था अहिले कस्तो छ ?
नेपाली जुत्ता उद्योगले वार्षिक रुपमा बजार विस्तार गरिरहेको छ । तर, अहिले भने समग्र बजार नै घटिरहेको छ । अघिल्लो वर्षको नाकान्दी र भुकम्पलको ह्याङले हुनसक्छ अहिले बजारमा एक खालको मन्दी लागेको छ । उत्पादन अनुसार विक्री हुन सकेको छैन । अहिले व्यवसायीका उत्पादन थन्किएर बसेको छ ।

Royal Shoe

सरकारले जुत्ताका लागि आवश्यक कच्चा पदार्थ र तयारी जुत्ता आयातमा एउटै भन्सार लगाएको भन्दै कच्चा पदार्थमा घटाउन माग गरिरहनु भएको थियो । यस विषयमा के भइरहेको छ ?
हामीहरुले पटक–पटक सरकारसँग माग गरिरहेका छौं । हरेक वर्ष बजेट बनाउने क्रममा व्यवसायीले सरकारलाई सुझाव दिँदै आएका छन् । उद्योगसँग सम्बन्धित मन्त्रालयलहरु कच्चा पदार्थमा लाग्दै आएको भन्सारदर घटाउन तयार हुन्छन् । तर, यसलाई सम्बोधन गर्ने अर्थ मन्त्रालयले भने चासो नै दिँदैन । करको साँचो अर्थ मन्त्रालयमा गएर थन्किदा व्यवसायीहरु मर्कामा परेका छन् । अहिले सरकारले हरेक उद्योगलाई मौखिक रुपमा सहानुभुती मात्र दिँदै आएको छ कार्यान्वयनको पाटो शुन्य नै छ ।

थोरै प्रसंङ्ग बदलौं । अहिले रोयल शुले बजारमा आफ्नो उपस्थितीलाई कसरी अघि बढाइरहेको छ ?
रोयलको पहिलो प्राथमिकता नै गुणस्तर हो । विदेशी जुत्ताहरु हेर्दा राम्रो तर लगाउँदा चाडै फाट्ने भएकाले नेपाली उपभोक्तालाई गुणस्तरीय जुत्ता उपलब्ध गराउन रोयलको स्थापना भएको हो । यसैगरी रोयलले धेरै मोडलका जुत्ताहरु बजारमा उपलब्ध गराएको छ । अहिलेकै कुरा गर्ने हो भने बजारमा रोयलमा ८ सयभन्दा बढी डिजाइनहरु उपलब्ध छन् भने सोही अनुरुप बजार हिस्सा बढेको छ । रोयलले आफैले आउटलेट खोलेर भन्दा पनि होलसेलको रुपमा काम गर्दै आएको छ । यसैगरी ७० वटा जिल्लामा रोयलको उपस्थिती छ ।

८ सय मोडलका जुत्ता डिजाइन गर्न नेपालमा सोही अनुरुपमा कालीगढ छन् ?
पक्कै पनि छैनन । कतिपय मोडलका जुत्ता चीन तथा भारतबाट डिजाइन गरेर ल्याउनु पर्ने वाध्यता छन् । नेपाली जुत्ता उद्योगमा कालिगढको ‘म्युजिकल चेयर’ भइरहेको छ । एउटा व्यवसायीले ल्याएर केही दक्ष बनाएको हुन्छ अर्को उद्योगीले केही बढी पैसा दिएर लगिदिन्छ । तर, नेपाल जुत्ता उद्योगको इतिहास २ दशकभन्दा बढी भैसकेकाले बजारमा धेरै कालीगढहरु आएका छन् । तर राम्रा मोडलका जुत्ता डिजाइनका लागि ठूलो समस्या छ । जसका लागि विदेशी कालिगढको भर पर्नुपर्ने वाध्यता छ । यो सवै जुत्ता उद्योगको समस्या हो ।

चाडपर्वलाई लक्षित गरेर रोयलले के–कस्ता उपहार योजना ल्याएको छ ?
रोयलले उपभोक्तालाई विशेष उपहार प्रदान गर्दै आएको छ । साथै दशैलाई लक्षित गर्दे १ जोर जुत्ता किन्दा १ जोर गुणस्तरीय चप्पल उपहार योजना ल्याएका छौं । यसैगरी जुत्ता खरिदमा स्क्रायाच कुपन पनि उपलब्ध गराएका छौं । जसबाट शतप्रतिशत छुटका साथै लाखौंका उपहार जित्न सक्छन् ।

नेपाली उपभोक्ताले रोयल नै किन्नु पर्ने किन ?
रोयलले समय र बजारको माग अनुसार नयाँ नयाँ मोडलको जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । यसैगरी रोयलका जुत्ता गुणस्तरीय र लगाउन सहज छ । मूल्यको तुलनमा पनि बजारमा उपलब्ध अन्य जुत्ता चप्पलभन्दा रोयल सस्तो पनि छ ।

bhim-lal-poudel-royal-shoe

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL