Logo

अमेरिकी प्रतिबन्धपछि गोप्य रुपमा तेल बेचिरहेको इरानको दावी

अमेरिकी प्रतिबन्धपछि गोप्य रुपमा तेल बेचिरहेको इरानको दावी



काठमाडौं । अमेरिकी प्रतिबन्धपछि पनि इरानले आफ्नो तेल उत्पादनलाई निर्यात गरिरहेको बताएको छ ।

‘अमेरिकी प्रतिबन्धका कारण इरानको पेट्रोलियम पदार्थ खरिदमा विभिन्न मुलुक डराएपछि इरानले आफ्नो उत्पादनलाई ‘फरक ढङ्ग’ ले बजारमा पठाइरहेको छ,’ इरानका तेल मन्त्री बिजान नाम्दार जान्गानेहले शनिबार भने ।

‘हामीले अनाधिकारिक तथा फरक ढङ्गले तेलको विक्री गरिरहेका छौँ र यसबारे सबैकुरा गोप्य राखिएको छ । यदि यो अमेरिकालाई जानकारी भएमा अमेरिकाले यसलाई तत्काल रोक्छ,’ इरानको पेट्रोल मामिला हेर्ने मन्त्रालयलाई उद्धृत गरी शाना न्यूज एजेन्सीले समाचार प्रकाशन गरेको छ ।

जानगानेहले कति मात्रामा तेलको निर्यात भइरहेको छ र कहाँबाट कसलाई तेल बेचिएको छ भन्नेबारे विस्तृत विवरण प्रतिबन्ध फुकुवा भएपछि मात्र बताइने उल्लेख गरेका छन ।

इरानसँग विश्व शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौताबाट संयुक्त राज्य अमेरिका औपचारिक रूपमा फिर्ता भएको घोषणा गत बर्षको मे महिनामा भएको थियो । त्यसपछि वासिङ्टनले इरानलाई नयाँ सम्झौता गर्न दवाब दिन पहिलेका प्रतिबन्धमाथि थप कडाइ गर्दै नयाँ प्रतिबन्धको समेत घोषणा गरेको थियो ।

इरानको तेल निर्यात गत बर्षको अक्टुबरमा प्रतिदिन १५ लाख ब्यारेल रहेकोमा नयाँ प्रतिबन्धपछि अप्रिलमा ५० प्रतिशत कमी (सात लाख ५० हजार ब्यारेल) आएको ब्लुमवर्गले आफ्नो समाचारमा उल्लेख गरेको छ ।राससएएफपी

प्रतिक्रिया दिनुहोस्
MBL