Logo

अमेरिका–जापान व्यापार वार्ता वासिङ्टनमा हुँदै, वार्ता २ दिन चल्ने

अमेरिका–जापान व्यापार वार्ता वासिङ्टनमा हुँदै, वार्ता २ दिन चल्ने



काठमाडौं । संयुक्तराज्य अमेरिका र जापानबीच वासिङ्टन डिसीमा सोमबारदेखि व्यापार वार्ता सुरु हुने भएको छ । दुबै देशबीच देखिएका व्यापारसम्बन्धी असमझदारी तत्कालै समाधान गर्ने उद्देश्यले वार्ता हुन लागेको हो ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीबीच दुई दिने वार्ता हुन लागेको हो ।

गत साता टोकियोमा अर्थमन्त्री मोटेगीले सोमबारको वार्तामा दुई देशबीच देखिएका व्यापार सम्बन्धी मुख्यमुख्य विषयमा छलफल हुने बताएका थिए । उनले वार्ता मुख्यतः जापान र अमेरिकाका सामानका विषयमा केन्द्रित हुने जानकारी दिएका छन । उनले भने, ‘जापानको राष्ट्रिय हितलाई ध्यानमा राखेर वार्ता हुनेछ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका परम्परागत व्यापार साझेदारसँग पनि नयाँ सम्झौता गर्ने घोषणा गरिसकेका छन । उनले अमेरिकी निर्यात वृद्धि गर्ने तथा वासिङ्टनको बढ्दो व्यापार घाटा कम गर्ने उपायका रुपमा अरु मुलुकमाथि करवृद्धि र चेतावनी दिएका छन ।

गत वर्ष मे महिनामा राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनलाई विदेशी कार र जगेडा पार्टपूर्जामा २५ प्रतिशतसम्म करवृद्धि गर्ने सम्भावनाको खोजी गर्न आदेश दिएका थिए । यो आदेशले जापान र युरोपेली मुलुकमा समस्या निम्त्याउने देखिएको छ ।

अमेरिकी राष्ट्रपतिले पटकपटक द्विपक्षीय व्यापारमा जापानले नाजायज फाइदा लिइरहेको भन्दै त्यसलाई कुनैपनि शर्तमा वार्ताद्वारा सुल्झाइने बताएका छन ।

अमेरिकी कृषिमन्त्री सोन्नी पार्डुले गत बिहीबार कृषिजन्य वस्तुमा करकटौती गर्न जापानसँग तत्कालै सम्झौता गर्नुपर्ने अवस्था देखिएको बताएका छन । तर जापानले यस विषयमा विमति राख्ने जनाइसकेको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL