Logo

सुडानमा राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, सेनाले वक्तव्य दिँदै

सुडानमा राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, सेनाले वक्तव्य दिँदै



काठमाडौं । गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा सुरु भएको देशव्यापी प्रदर्शनले अझ उग्र रुपै लिँदै गएको छ । ४ महिनादेखि जारी रहेको यस प्रदर्शनमा राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ ।

laxmi

सुडानमा ४ महिनादेखि जारी सरकार विरोधी प्रदर्शन गत शनिबारदेखि पुनः चर्किएको छ । हजारौं प्रदर्शनकारीले खार्तुममा अवस्थित सेनाको मुख्यालय बाहिर भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गरेका छन । उनिहरुले सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न समेत आग्रह गरेका छन ।

राज्यद्वारा सञ्चालित सञ्चार माध्यमका अनुसार प्रदर्शनकारीले सेनाको महत्वपूर्ण घोषणा छिट्टै हुनुपर्ने बताउँदै सैनिक हस्तक्षेप नभए कैयौं व्यक्तिको ज्यान जाने दाबी गरेका छन । सरकारले पाउरोटी र तेलको मूल्य बढाएपछि गत डिसेम्बर १९ बाट सुरु भएको आन्दोलनका क्रममा हालसम्म ४९ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।

गत शनिबारबाट पुनःचर्चिएको विरोध प्रदर्शनमा एकै दिनमा सुरक्षा अधिकारीसहित ११ व्यक्तिको मृत्यु भएपछि सो संख्या ४९ पुगेको थियो । खार्तुम र अन्य शहरमा स्वतन्त्रता, शान्ति र न्याय पुनस्थार्पित गर्नुपर्ने आह्वान सहित प्रदर्शन सुरु भएको थियो ।

गत मंगलबार बिहानै सेनाको मुख्यालय सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेका थिए । बसिर ३० वर्षदेखि सुडानको शासनसत्तामा सम्हाली रहेका छन । जारी यस आन्दोलनको क्रममा २२ ओटा राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर नयाँ शासनको माग गरेका छन् । प्रदर्शनकारीले सेनालाई शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न समेत आग्रह गरेका छन् ।

यसैबीच सुडान सेनाले जारी हिंसात्मक प्रदर्शनको विषयलाई लिएर बिहीबार महत्वपूर्ण घोषणा गर्ने जानकारी दिएको छ । सरकारी टेलिभिजनको समाचारमा ‘सुडानी सेनाले चाँडै महत्वपूर्ण वक्तव्य दिँदैछ, प्रतिक्षा गर्नुहोला’ भन्ने सन्देश प्रशारण गरिएको छ ।

खार्तुमका हजारौं बासिन्दा सेनाको मुख्यालय बाहिर विगत ६ दिनदेखि धर्नामा बसेका छन् । उनीहरुले सेनाले राष्ट्रपति बसिरलाई समर्थन गर्न छाडी प्रदर्शनकारीलाई सहयोग गर्न आग्रह गरिरहेका छन् /रासस एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL