Logo

बेलायती संसदमा ब्रेक्जीट प्रस्ताव पुनः अस्वीकृत, समयसीमा थप्न मतदान हुँदै

बेलायती संसदमा ब्रेक्जीट प्रस्ताव पुनः अस्वीकृत, समयसीमा थप्न मतदान हुँदै



काठमाडौं । बेलायती तल्लो सदन हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) सम्बन्धी नयाँ प्रस्ताव अस्वीकृत गरेको छ ।

प्रधानमन्त्री मेले गत जनवरीमा ल्याएको पहिलो प्रस्ताव भारी बहुमतले अस्वीकृत भए पछि दोस्रो पटक ल्याएको प्रस्ताव पनि अस्वीकृत गरेको छ ।

आगामी मार्च २९ मा बेलायत युरोपेली युनियनबाट औपचारिक रुपमा बाहिरिने कार्यक्रम छ । अर्थात उक्त मितिदेखि इयूका नियमहरू बेलायतमा लागू हुने छैनन् । त्यसअघि नै इयूसँग सम्झौता गर्ने प्रधानमन्त्री मेको दोस्रो प्रस्ताव असफल भएको हो ।

मङलबार राति भएको मतदानमा प्रधानमन्त्रीको प्रस्ताव ३९१–२४२ ले अस्वीकृत भएको हो । प्रधानमन्त्री मेले नयाँ प्रस्तावमा इयूबाट कानुनी प्रत्याभूति प्राप्त भएको भन्दै संसदले आफ्नो प्रस्ताव स्वीकृत हुने विश्वास व्यक्त गरेका थिए ।

खासगरी, इयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको प्रान्तको रूपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने, बन्द गर्ने वा आंशिक खुला गर्ने भन्नेमा बेलायती संसदमा मतान्तर छ ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीच सीमा खुला राख्दा इयूका नियमहरू बेलायतले पनि मान्नुपर्ने कानुनी जटिलता उत्पन्न हुने एकथरि सांसदको मत छ । दुबै आयरल्यान्डबीच सदियौंदेखि खुला सीमा र स्वतन्त्र आवागमन छ ।

इयूसँग सम्झौता नगरीकनै बेलायत इयूबाट बहिर्गमन हुनुपर्ने बाध्यता उत्पन्न हुँदैछ । संसदमा बिहीबार ब्रेक्जीटको समयसीमा मार्च २९ लाइ बढाएर अरू तीन महिना थप्ने कि भन्ने विषयमा फेरि मतदान हुँदैछ ।

इयूसँग कुनै किसिमको सम्झौता बेगर नै बेलायत इयूबाट बाहिरिए बेलायतको अर्थतन्त्रमा ठूलो समस्या आउने विश्लेषण गरिएको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL