Logo

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरियामा व्यापार मन्दी, प्रतिबन्धमाथी पुनर्विचार हुने

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरियामा व्यापार मन्दी, प्रतिबन्धमाथी पुनर्विचार हुने



काठमाडौं । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ ।

उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो ।

व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन् २०१७ को तुलनामा गत वर्ष द्विपक्षीय व्यापारमा करिब ५३ प्रतिशतले कमी आएको छ ।

उत्तर कोरियाबाट चीनतर्फको आयातमा पनि सन् २०१८ मा ८८ प्रतिशतले कमी आएको छ । सरकारी विवरण अनुसार उत्तर कोरियाबाट सन् २०१८ मा करिब २१ करोड अमेरिकी डलर बराबरका सामानमात्र आयात भएको छ । भन्सार प्रशासनका प्रवक्ता ली कुवेनका अनुसार चीनबाट उत्तर कोरियातर्फको निकासीमा पनि ३३ प्रतिशतले कमी भई दुई अर्ब १८ करोडमा सीमित भएको छ ।
‘चीन र उत्तर कोरियाबीचको व्यापारका सन्दर्भमा हामीले सुरक्षा परिषदको प्रस्तावलाई कडाईका साथ लागू गरेका छौं,’ लीले भने ।

व्यापार प्रतिबन्धका कारण उत्तर कोरियाले अन्तर्रा्ष्ट्रिय प्रमुख मुद्रा आर्जनमा समस्या झेल्नु परेको छ । उत्तर कोरियाले खासगरी कोइला र अरु खनिज वस्तुहरु, माछा र कपडा निकासी गर्दछ । निर्यातमा आएको कमीका कारण मुलुकको अर्थतन्त्रमा जटिलता उत्पन्न भएको छ ।

सन् २०१७ मा उत्तर कोरियाको समग्र अर्थतन्त्र ३ दशमलब ५ प्रतिशतले खुम्चिएको छ । अर्थतन्त्रमा गम्भीर असर परेको विगत दुई दशकमै यो पहिलो पटक हो । अर्थतन्त्रको प्रक्षेपणलाई दक्षिण कोरियाको केन्द्रीय बैंकले समेत पुष्टी गरेको छ ।

दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ कोरियाका अनुसार, उत्तर कोरियाको खानी उद्योगमा सन् २०१७ मा ११ प्रतिशतले कमी आएको छ जबकी सन् २०१६ मा यसको वृद्धि ८ दशमलब ४ प्रतिशत थियो ।

औद्योगिक उत्पादनमा पनि गत वर्षको ४ दशमलब ८ प्रतिशतको वृद्धि खुम्चिएर ६.९ प्रतिशत भएको छ । कृषि र माछापालनमा पनि १.३ प्रतिशतले कमी आएको छ ।

चीन र रुस दुबैले प्योङयाङमाथि लागेका राष्ट्रसंघीय प्रतिबन्धहरुमाथि पुनर्विचार गर्नुपर्ने बताएका छन् । वासिङटनले भने उत्तर कोरियाले आणविक हातहतियार निर्माणलाई तत्काल बन्द गर्नुपर्ने शर्त राखेको छ ।

गत साता उत्तर कोरियाली नेता कीम जोङ उनले चीनको चौथो पटक भ्रमण गर्नुभएको छ । उत्तर कोरियामाथिका प्रतिबन्ध फुकुवा गर्न एवं बहुप्रतीक्षित अमेरिका–उत्तर कोरिया शिखर वार्तामा सहमति जुटाउन भ्रमण उपलब्धिमूलक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL