Logo

हिताचीले एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दै, सबैभन्दा ठुलो विद्युत प्रसारण कम्पनी हुने

हिताचीले एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दै, सबैभन्दा ठुलो विद्युत प्रसारण कम्पनी हुने



काठमाडौं । जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको ठुलो हिस्सा सेयर किन्ने भएको छ । कम्पनीले एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको हो । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो ।

स्थानीय सञ्चार माध्यमले एबीबीमा लगानी गरेसँगै हिताची विश्वमै सबैभन्दा ठूलो विद्युत प्रसारण कम्पनी हुने बताएका छन् ।

पछिल्लो योजना बमोजिम एबीबीको विद्युत प्रसारण युनिट सन् २०२० को शुरुमै हिताचीले ७ सय ४ अर्ब जापानी येनमा खरिद गर्नेछ, अर्थात् उक्त युनिटको कूल पूँजीको ८० प्रतिशत हिस्सा हिताचीको हुनेछ । ‘हामीले बाँकी शेयर पनि खरिद गर्नेछौं, र उक्त युनिट पूरै हिताचीको स्वामित्वमा आउनेछ ।’ कम्पनीका प्रवक्ताले बताए ।

एबीबीको विद्युत प्रसारण युनिटले विश्वका धेरै देशमा विद्युत प्रसारण उपकरण र विद्युत कन्ट्रोल सिस्टम निर्माण एवं सञ्चालन गर्दछ ।

पछिल्लो सम्झौताले हिताचीलाई राजश्वका दृष्टिले भारी विद्युतीय उपकरण निर्माणमा विश्वकै दोस्रो ठूलो कम्पनीका रुपमा स्थापित गर्नेछ । पहिलो स्थानमा जनरल इलेक्ट्रिक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL