Logo

अमेरिका चीन व्यापारयुद्ध, चिनियाँ सामानमा बढाउने भनिएको २५ प्रतिशत कर स्थगित

अमेरिका चीन व्यापारयुद्ध, चिनियाँ सामानमा बढाउने भनिएको २५ प्रतिशत कर स्थगित



काठमाडौं । चीन र संयुक्त राज्य अमेरिकाबीच तत्काल एक अर्काको सामानमा थप कर वृद्धि नगर्ने भएका छन । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले व्यापार युद्धको खतरा बढाएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङले उक्त निर्णयमा सहमत जनाएका हुन ।

दुई राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लागिआएका करहरुमा कुनै परिवर्तन गर्ने वा नगर्ने भन्ने बारेमा सहमति भने हुन सकेन ।

दुई नेताबीच अढाई घण्टाभन्दा बढी चलेको रात्रिभोज पश्चात् ह्वाइट हाउसले आगामी जनवरी १ देखि चिनीया सामानमा १० देखि २५ प्रतिशत करवृद्धि गर्ने घोषणालाई अहिले स्थगित गरिएको जनाएको छ । ह्वाइट हाउसले दुवै मुलुकबीच व्यापार सहजीकरणका सन्दर्भमा थप वार्ता गर्ने स्पष्ट गरेको छ ।

यो सहमतिले द्वन्द्वमा होमिएको विश्व बजारलाई केही शान्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ह्वाइट हाउसका अनुसार दुई नेताबीचको बैठक निकै नै सफल बैठक भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनीया राष्ट्रपति सी जी–२० को बैठकमा सहभागी हुन अर्जे्न्टिनाको ब्युनस आयर्समा छन ।

चिनीया विदेशमन्त्री वाङ यीले भने, ‘यो सम्झौताले दुई मुलुकबीचको आर्थिक तनावलाई थप विस्तार गर्नबाट रोकेको छ र दुवैको जितका रुपमा यो सम्झौता भएको छ ।’

सम्झौता बमोजिम अर्को वर्षको शुरुबाटै चिनीया सामानमा हाल लागिआएको १० प्रतिशत करलाई २५ प्रतिशत पु¥याउने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्थगित भएको छ । तैपनि, यो आंशिक सम्बोधन मात्र हो ।

झण्डै ५० अर्ब डलर बराबरका चिनीया सामानमा यसअघि नै २५ प्रतिशत कर लाग्न थालिसकेको छ । साथै, राष्ट्रपति ट्रम्पले जनवरीबाट करिब २ खर्ब डलर बराबरका चिनीया सामानमा पनि थप १० प्रतिशत कर लगाउने योजना यसअघि नै चेतावनी दिएका छन ।

यहीबीच, चीनले करिब १ सय १० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ ।

चीनमा रहेका व्यापारिक अबरोधहरु, बौद्धिक सम्पत्तिको चोरी तथा अन्य कारबाहीहरुका कारण चीनमा स्वच्छ व्यापारमा कठिनाई आएको अमेरिकी आरोप छ । यी समस्या सुल्झाउन उपयुक्त कदम नचाले चीन विरुद्ध थप दण्डात्मक कार्यबाही गरिने अमेरिकाले चेतावनी दिइआएको छ ।

अमेरिकी राष्ट्रपतिले जारी गरेको एक वक्तव्यमा चीन र अमेरिकासँग असिमित सम्भावनाहरु रहेको बताउँदै चिनीया राष्ट्रपति सीसँग भएको बैठक निकै फलदायी रहेको उल्लेख गरेका छन ।
चिनीया राष्ट्रपति सी जिनपिङले भने, ‘हामीबीचको सहयोगात्मक कार्यहरुले मात्र शान्ति र समृद्धि हासिल गर्ने दुवै मुलुकको चाहना पूरा हुन सक्छ ।’

दुवै नेताबीचको रात्रिभोज सोचिएको भन्दा लामो समय चलेको थियो । रात्रिभोजमा अमेरिका र चीनका उच्च अधिकारीहरुको समेत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL