Logo

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले सुरु गरे संयुक्त आक्रमण, रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले सुरु गरे संयुक्त आक्रमण, रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी



अंकारा । सिरियामा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रुपमा हवाई आक्रमण सुरु गरेका छन् ।

समाचार संस्थामा उल्लेख भएअनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमण सुरु भएको हो । ती सैन्य आक्रमणहरुले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरुलाई लक्ष्य बनाएर आक्रमण सुरु गरेका हुन् ।
शनिबारबाटै विशेषगरी सिरियाली राजधानीमा सुरु भएको यो आक्रमण अमेरिकी नेतृत्वमा सुरु भएको समाचार माध्ययमले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेको जानकारी दिँदै डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताएका छन् ।

उनले आफूहरुलाई बेलायत र फ्रान्सले पनि साथ दिएको र संयुक्त सेनाले सो हमला गरेको बताएका छन् । यी तीन देशका सेनाले संयुक्त रुपमा आक्रमण थालेका विश्वका सञ्चारमध्यमहरुले जनाएका छन ।

आक्रमण शनिबार बिहानबाट मात्र सुरु भएकोले त्यसको क्षति र अन्य विवरणहरु भने प्राप्त भइसकेको छैन । तर दमास्कास वरपर सुनिएको ठूलो आवाज र आकासमा धुवाँको मुस्लोका कारण त्यहाँ ठुलो मात्रामा क्षति भएको अनुमान गरिएको छ ।

रासायनिक हतियार हमला गर्नेलाई कारबाही हुन्छ

यसैबीच सिरियाको राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटा क्षेत्रमा रासायनिक हतियारबाट हमला भएको हुनसक्ने अन्तर्राष्ट्रिय विज्ञहरुले बताएका छन् ।

विज्ञहरुका अनुसार उक्त गुटा तथा विद्रोहीहरुको कब्जामा रहेको भनिएको अर्को क्षेत्र डुमामा पनि यस्ता हतियारहरुको आक्रमण भएको अनुमान गरिएका विवरणहरु आएका छन । त्यस घटनाको अन्तररााष्ट्रिय स्तरमा नै निन्दा भइरहेको छ । साथै यसमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाहीका लागि संयुक्त राष्ट्रसंघलाई विशेष आग्रह गरिएको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्तो हमला आतंककारी सरह भएको जानकारी दिँदै यस्तो अविवेकी हमलाका लागि सिरियाली राष्ट्रपति बसर अल असद जिम्मेवार रहेका बताएका छन् । यसका साथै उनले सिरियाली सरकारका साझेदारहरु राष्ट्रहरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरान पनि यसको दोषी भएको दावी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले, यस्तो क्रुर कार्यका लागि सिरियाली सरकार र उनीहरुका सहयोगीहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको समाचार माध्यमले उल्लेख गरेका छन् ।

हालैमात्र भएका भनिएका गुटा र डुमाका यी हमलाका कारण सयौँ मानिसको ज्यान गएको बताइएको छ । ती क्षेत्रमा ठूलो संख्यामा बालबालिका पनि निकै क्रुर रुपमा भएको हमलाको शिकार बनेका छन ।

सिरिया सरकारले ठूलो मात्रामा यस्ता हतियारको प्रयोग जारी राखेकोले उसले यसका लागि ठूलो मूल्य चुकाउनुपर्ने धारणा विश्व समुदाय र संयुक्त राष्ट्रसंघले पनि राख्दै आएका छन । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्
MBL