Logo

अमेरिकाले गर्यो ग्रीन कार्ड र अस्थायी भिसा प्रोसेस स्थगित, साना व्यवसायी राहतका लागि ल्यायो ४ खर्व ८३ अर्बको बजेट

अमेरिकाले गर्यो ग्रीन कार्ड र अस्थायी भिसा प्रोसेस स्थगित, साना व्यवसायी राहतका लागि ल्यायो ४ खर्व ८३ अर्बको बजेट



वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन । कोरोना भाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि नागरिकको प्रतिस्पर्धी क्षमता बढाउन अमेरिकामा स्थायी बसोबासका लागि दिइने ग्रिनकार्ड प्रदान गर्ने कार्यमा ढिलाई गर्नु परेको राष्ट्रपति ट्रम्पले बताएका छन ।

laxmi

राष्ट्रपति ट्रम्पले कतिपय विशेष परिस्थितिमा भने ग्रिनकार्डका बारेमा केही छुट दिइने बताए तर उनले कस्तो अवस्थामा छुट उपलब्ध गराइन्छ भन्ने बारेमा भने पछि निर्णय गरिने जानकारी दिएका छन । राष्ट्रपति ट्रम्पले घोषणा गरेका अस्थायी प्रतिबन्धमा अस्थायी कामदारका बारेमा भने केही उल्लेख गरेको छैन ।

ह्वाइट हाउसमा कार्यकारी आदेशमा हस्ताक्षरपछि बोल्दै राष्ट्रपति ट्रम्पले आप्रवासनमा गरिएको अहिलेको प्रतिबन्धले अमेरिकी नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता प्राप्त हुने विश्वास व्यक्त गरेका छन । उनले भने, ‘अर्थतन्त्र खुल्नासाथ विदेशबाट आउने नयाँ आप्रवासी मजदूरले अहिले बेरोजगार बनेका अमेरिकीलाई बिस्थापित गर्नु गलत र अन्याय हुन्छ ।’

अमेरिकी एक अधिकारीले नयाँ नियम अमेरिकामा रोजगार–आधारित ग्रिनकार्डका लागि आवेदन गर्ने तथा अमेरिकी नागरिक भइनसकेका तर ग्रिनकार्ड भएकाका नातेदारले गर्ने आवेदनमा मात्र सीमित हुने बताए । तर उनले अमेरिकी नागरिकले आफ्ना परिवारका सदस्यलाई अमेरिका ल्याउन कुनै समस्या नहुने बताए । सन् २०१९ मा अमेरिकाले करिब १० लाख ग्रिनकार्ड जारी गरेको थियो । यीमध्ये आधाभन्दा बढी अमेरिकी नागरिकका पतिपत्नी, छोराछोरी र बाबुआमा थिए ।

ग्रिनकार्डमा कडाई गरिए पनि राष्ट्रपति ट्रम्पले बर्षेनि जारी हुने लाखौं गैर–आप्रवासी विदेशी कामदारको भिसामा भने रोक लगाएका छैनन् । अमेरिकामा फार्म कामदार, स्वास्थ्यकर्मी र सफ्टवेयर प्रोग्रामर समेतका लाखौं व्यक्ति गैर–आप्रवासन भिसामा प्रवेश गर्दछन् ।

माइग्रेसन पोलिसी इन्स्टिच्यूटको अनुमान अनुसार दुई महिनाको प्रतिबन्धको अवधिमा झण्डै १ लाख १० हजार ग्रिनकार्ड उपलब्ध हुने छैन । राष्ट्रपति ट्रम्पले लामो समयदेखि वैध र अवैध दुबै किसिमको आप्रवासनमाथि कडाई गर्नुपर्ने भन्दै धारणा अघि सार्दै आएका छन । तर उनले कोरोना भाइरसको आडमा आफ्नो पुरानो मान्यतालाई स्थापित गर्न खोजेको भन्ने आरोप अस्वीकार गरेका छन । राष्ट्रपति ट्रम्पले यहीबीच कर सुधारदेखि सीमामा कडाईलाई पनि अघि बढाएका छन ।

अमेरिकी सिनेटद्वारा ४ खर्ब ८३ अर्बको बजेट पारित

कोरोना भाइरसका कारण मुख्यरुपमा साना व्यवसायीमाथि परेको आर्थिक संकट समाधान गर्ने उद्देश्यले ह्वाइट हाउसले अघि सारेको ४ खर्ब ८३ अर्ब डलरको आर्थिक प्याकेजलाई अमेरिकी माथिल्लो सदन सिनेटले मंगलबार पारित गरेको छ । यो रकमबाट अस्पताल र कोरोना परीक्षणका लागि पनि खर्च गरिने छ ।

कट्टरपन्थी कतिपय रिपब्लीकन पार्टीका सिनेटरले विरोध गरे पनि उक्त विधेयक सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यो विधेयक दुबै सदनबाट जतिसक्दो चाँडो पारित हुने विश्वस व्यक्त गरेका छन ।

उनले यो विधेयकलाई डेमोक्र्याट पार्टीको वर्चश्व रहेको तल्लो सदनबाट पनि पारित हुने विस्वास ब्यक्त गरेका छन । झण्डै दुई साताको मध्यस्थता र ढिलाईबीच कङ्ग्रेस र ह्वाइट हाउसबीच मंगलबार करिब ५ खर्ब डलरको आर्थिक प्याकेजमा सहमति जुटेको थियो ।

सिनेटमा बहुमत पक्षका नेता मिच म्याक्कोनेलले सिनेट जहिल्यै अमेरिकी जनताको पक्षमा उभिएको प्रतिक्रिया दिएका छन । सिनेटमा अल्पमत (डेमोक्र्याट) का नेता चक सुमरले डेमोक्र्याटको दबाबमा अस्पताल र परीक्षणका लागि पनि रकम व्यवस्था गरिएपछि विधेयक निकै राम्रो भएको बताए ।

उक्त विधेयकमा व्यवस्था गरिएको रकममध्ये ३ खर्ब ३१ अर्ब डलर साना व्यवसायीले कर्मचारीलाई तलब दिने प्रयोजनका लागि ऋण उपलब्ध गराउन खर्च हुनेछ । करिब ७५ अर्ब डलर अस्पतालका लागि उपलब्ध गराइनेछ भने २५ अर्ब डलर कोरोना भाइरसको परीक्षणमा खर्च हुनेछ । यसअघि नै ट्रम्प प्रशासनले अघि सारेको करिब २० खर्ब डलरको आर्थिक प्याकेज कार्यान्वयनमा गइसकेको छ । (रासस–एपी)

प्रतिक्रिया दिनुहोस्
MBL