Logo

बिमान निर्माता कम्पनी ‘बोइङ’ अनिश्चितकालीन बन्द, कर्मचारीलाई स्वेच्छिक अबकाशमा जान आग्रह

बिमान निर्माता कम्पनी ‘बोइङ’ अनिश्चितकालीन बन्द, कर्मचारीलाई स्वेच्छिक अबकाशमा जान आग्रह



काठमाडौं । अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले आफ्नो कारखाना बन्द गरेको छ । कोरोना भाइरसको महामारी पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ ।

बोइङले सियाटल नजिकको पुजिट साउन्ड कारखानाबाट उत्पादन यसअघि नै रोकिसकेको थियो । यो कारखानाबाट लामो दूरीको उडान भर्ने बोइङ–७७७ जेट र अरु मोडलका बिमान उत्पादन हुने गरेको छ । गत महिना कम्पनीले आफ्नो कारखाना दुई साताका लागि बन्द गर्ने घोषणा गरेको थियो ।

साथै कम्पनीले बोइङ ७३७ म्याक्स बिमानमा समस्या आएपछि मोजेज लेकमा रहेको अर्को कारखाना पनि बन्द गरेको छ । बोइङले आइतबार कोविड–१९ को महामारीबाट कर्मचारीलाई जोगाउन कारखाना अनिश्चितकालका लागि बन्द गर्नु परेको जानकारी दिएको हो ।

बोइङका व्यावसायिक बिमान विभागका अध्यक्ष स्टान डिलले एक वक्तव्य जारी गर्दै कर्मचारी, उनीहरुका परिवार र हाम्रो समयको स्वास्थ्य र सुरक्षाका लागि कारखाना बन्द गर्नु परेको उल्लेख गरेका छन । कोरोनाभाइरसको महामारीका साथै बोइङ ७३७ म्याक्स शृंखलामा आएको समस्याका कारण कम्पनीले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ ।

कम्पनीले हाल अमेरिकी हवाई उड्डयन कम्पनीलाई जोगाउन संघीय सरकारबाट ६० अर्ब डलरभन्दा बढीको आर्थिक सहायताका लागि अनुरोध समेत गरेको छ । कम्पनीले गत बिहीबार कर्मचारीलाई स्वेच्छिक बिदामा बस्न वा अवकाश लिन चाहने कर्मचारीलाई तत्काल आवेदन दिन अनुरोधसमेत गरेको थियो । (रासस–एएफपी)

प्रतिक्रिया दिनुहोस्
MBL