Logo

अमेरिकाको न्युयोर्कमा प्लास्टिकमाथि प्रतिबन्ध, प्लास्टिक झोला बोक्नेलाई ५ सेन्ट बढी कर

अमेरिकाको न्युयोर्कमा प्लास्टिकमाथि प्रतिबन्ध, प्लास्टिक झोला बोक्नेलाई ५ सेन्ट बढी कर



काठमाडौं । अमेरिकाको न्युयोर्क राज्यले आगामी मार्च एकदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

गत बर्ष पारित भएको नीतिअनुसार मार्च १ गतेदेखि न्युयोर्क सहरमा खुद्रा पसललगायतबाट प्लास्टिक प्रतिवन्ध लगाईने भएको हो । यसअघि सोही नीतिअनुसार क्यालिफोर्नीया र हवाईमा प्लास्टिक पुर्ण रुपमा प्रतिवन्ध भईसकेको छ ।

न्युयोर्कमा प्लास्टिक प्रतिवन्ध लगाईएपछि न्युयोर्क राज्य प्लास्टिक प्रतिवन्ध गर्ने आठौं राज्य हुनेछ । न्युयोर्कका कतिपय नगरपालिकाहरुले प्लास्टिक झोला बोक्नेका लागि ५ सेन्ट करवापतको जरिवाना लगाउने बताएका छन । तर, खानाको टिकट लिनेहरुका लागि भने त्यो जरिवाना मिनाहा गरिनेछ । जरिवानावापतको ५ सेन्टमध्ये २ सेन्ट स्थानीय सरकारले राख्नेछ भने बाँकी ३ सेन्ट प्रदेश सरकारलाई बुझाईनेछ ।

उक्त क्षेत्रमा प्लास्टिक प्रतिबन्ध गरिएपश्चात उक्त क्षेत्रको वातावरणका साथै नदीहरु पनि सफा रहने न्युयोर्कका गभर्नर एन्न्ड्रयु कुमोले बताएका छन । उनका अनुसार प्लास्टिक झोलामा प्रतिवन्ध लगाईएपछि प्राकृतिक स्रोतसाधनको निश्चितता हुनुका साथै आगामी पुस्ताका लागि समेत लाभदायी हुनेछ ।

न्युयोर्क राज्यको वातावरण संरक्षण विभागले आगामी मार्च १ तारिखदेखि प्लास्टिक ब्यान्डका लागि विभिन्न सामाजिक संजाललगायतका संचारमाध्यमहरुमा विज्ञापन बजाउन थालिसकेको छ । यस्तै विभागले २ लाख ७० हजारभन्दा बढी पुनः प्रयोग गर्न मिल्ने झोला न्यून र मध्यम आय भएका परिवारलाई बाँडेको छ । विभागका अनुसार हाल बार्षिक २३ अर्बभन्दा बढी प्लास्टिकका झोला प्रयोग भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL