Logo

फेदोर नामको रोबोट अन्तरिक्ष केन्द्रमा, अन्तरिक्ष यात्रीलाई सहयोग गर्ने

फेदोर नामको रोबोट अन्तरिक्ष केन्द्रमा, अन्तरिक्ष यात्रीलाई सहयोग गर्ने



काठमाडौं । रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा मङ्गलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो ।

फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्दछ । यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ ।

नासाका एक जना टिप्पणीकर्ताले भने, ‘सम्पर्क स्थापित भएको छ, रोबोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।’ रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पु¥याइएको जनाएको छ ।

अमेरिकी नासा टिभीले यस अन्तरिक्ष अभियानको प्रत्यक्ष प्रशारण गरेको थियो । टिभीका टिप्पणीकर्ताले अन्तरिक्ष केन्द्रमा अब सात जना पुगेको बताएको छ । यसअघि नै ६ जना वैज्ञानिक अन्तरिक्ष केन्द्रमा छन् ।

उक्त यान गत बिहीबार दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो । उक्त रोबोट आगामी सेप्टेम्बर ७ सम्म अन्तरिक्ष केन्द्रमा राखिनेछ ।

सोयुज यानबाट खासगरी मानिसलाई मात्र अन्तरिक्षमा पु¥याउने गरिन्छ, तर यस पटक रोबोट पठाइएको छ । यो यानमा ६ सय ७० किलोग्राम सुख्खा सामान पठाइएको छ जसमा औषधि उपकरण, खाना, औषधि र व्यक्तिगत सरसफाइका सामान रहेका छन् ।

अन्तरिक्षमा पठाइएको फेदोर पहिलो रोबोट भने होइन । सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको रोबोनट २ नामको रोबोट पठाएको थियो । यो रोबोटलाई पनि उच्च जोखिमयुक्त ठाउँमा काम गर्न प्रयोग गरिएको थियो ।

तर प्राविधिक समस्या देखिएपछि यो रोबोटलाई सन् २०१८ मा पृथ्वीमै फर्काइएको थियो ।

सन् २०१३ मा जापानले पनि आफ्ना अन्तरिक्ष यात्रीसँगै किरोबो नामको सानो रोबोट पठाएको थियो । टोयोटाले बनाएको यो रोबोटले संवादहरु संग्रहित गर्न सक्थ्यो तर यसले जापानी भाषा मात्र संग्रह गर्दथ्यो ।

सन् १९९८ देखि पृथ्वीको कक्षमा राखिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघण्टा २८ हजार किलोमिटरको गतिमा पृथ्वीको वरिपरि घुम्ने गर्दछ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL