Logo

अमेरिकी प्रतिवन्धका बावजुद जुलाईमा चीनको निकासीमा वृद्धि, अर्थतन्त्रको वृद्धिदर ३० बर्ष यताकै न्युन

अमेरिकी प्रतिवन्धका बावजुद जुलाईमा चीनको निकासीमा वृद्धि, अर्थतन्त्रको वृद्धिदर ३० बर्ष यताकै न्युन



काठमाडौं । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाब बढे पनि चीनको निकासी गत जुलाईमा प्रक्षेपण गरेभन्दा बढी भएको पछिल्लो सरकारी तथ्याँकमा देखिएको छ । तर चीनले गर्ने आयात भने निरन्तर घटेको छ । यस वर्षको पहिलो ५ महिनामा अमेरिकासँगको व्यापार तनाब तथा विश्वव्यापी माग घटेका कारण चीनको औद्योगिक उत्पादनमा भने कमी आएको छ ।

तर जुलाईमा भने चीनको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ३ प्रतिशतले बढेको छ । ब्लुमबर्ग न्यूजको सर्वेक्षणमा प्रक्षेपण गरिएको भन्दा यो करिब १ प्रतिशत बढी हो ।

चीनको समग्र अर्थतन्त्रको वृद्धि हाल ६ दशमलव २ प्रतिशत रहेको छ । यो वृद्धि विगत ३० वर्षको अवधिमा सबैभन्दा न्यून हो ।

तर चिनियाँ अर्थतन्त्रमा सुधारको सम्भावना अहिल्यै देखिन्न किनभने घट्दो आयातले चीनभित्रै मागमा कमी हुने संकेत देखिएका छन् ।

गत वर्ष जुलाईको तुलनामा यस वर्षको जुलाईमा आयात ५ दशमलव ६ प्रतिशतले घटेको छ, र यो घट्नेक्रम विगत तीन महिनादेखि जारी छ ।

चीनको व्यापार बचत जुलाईमा ४५ दशमलव १ अर्ब अमेरिकी डलरमा झरेको छ, र यो गत जुन महिनामा ५१ अर्ब डलर थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सेप्टेम्बर १ देखि लागू हुनेगरी थप ३०० अर्ब डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेपछि दुबै मुलुकबीचको व्यापारिक सम्बन्धमा थप तिक्तता आएको छ ।

अमेरिकी कदमको विरोधमा उत्रिएको चीनले पनि आफ्नो मुद्रा युआनलाई अवमूल्यन गर्नुका साथै अमेरिकी कृषिजन्य सामान खरिदलाई स्थगन गरेको छ ।

जुलाईमा अमेरिकातर्फ चीनको निकासीमा ६ दशमलव ५ प्रतिशतले कमी आएको छ भने आयात पनि १९ दशमलव १ प्रतिशतले घटेको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL