Logo

दक्षिण कोरियाको निर्यात दर घट्दो, ५ दशमलव ९ प्रतिशतले गिरावट

दक्षिण कोरियाको निर्यात दर घट्दो, ५ दशमलव ९ प्रतिशतले गिरावट



काठमाडौं । दक्षिण कोरियााको निर्यात दरमा भारी गिरावट आएको छ । अर्धसुचालक तथा पेट्रोकेमिकल सामग्रीका लागि अत्यधिक निर्भरताका कारण ओइसीडी सदस्य राष्ट्रका अन्य मुलुकको तुलनामा दक्षिण कोरियाको निर्यात दरमा भारी गिरावट देखिएको आइतबार सार्वजनिक एक तथ्याङ्कले देखाएको छ ।

आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) द्वारा सङ्कलन गरेको तथ्याङ्क अनुसार दक्षिण कोरियाको निर्यात दरमा अघिल्लो बर्षको तुलनामा गत जनवरीमा ५ दशमलव ९ प्रतिशतले कमी आएको पाइएको छ । पछिल्लो मुल्याङ्कन अनुसार ओइसीडीका ३२ सदस्य राष्ट्रमध्ये निर्यातमा वृद्धिदरका हिसाबले दक्षिण कोरिया २६ स्थानमा पुगेको छ ।

यस्तै ठूला तथा विकसित अर्थतन्त्र भएका १९ मुलुकसहित यूरोपेली यूनियनको समूह, जी–ट्वन्टी, मध्येका १७ मुलुकमा दक्षिण कोरिया १५ स्थानमा पुगेको तथ्याङ्कमा उल्लेख छ ।

दक्षिण कोरियाको विदेश निर्यात हुने सामानमा ११ दशमलव १ प्रतिशतले कमी आएपछि निर्यात दरमा फेब्रुअरीमा थप गिरावट आएको बताइएको छ ।

दक्षिण कोरियाको निर्यातमा फेब्रुअरीमा समेत सुधार आउन नसकेको र लगातार तेस्रो महिनासम्म निर्यात दरमा कमजोर बनेको छ । गत बर्षको डिसेम्मबरमा दक्षिण कोरियाको निर्यात दर १ दशमलव ७ प्रतिशतले कमी आएको थियो । निर्यात दरमा देखिएको गिरावटको कारण विश्व बजारको व्यापारमा देखिएको आधारभूत असर तथा दक्षिण कोरियाली सामानको मूल्य खासगरी मोबाइललगायतका विद्युतीय सामानमा आएको गिरावट जिम्मेवार देखिएको तथ्याङ्कबाट देखिएको छ ।

दक्षिण कोरियाको केन्द्रीय बैंकका एक अधिकारीले भने, ‘विश्व व्यापारमा देखिएको मन्दीका समय दक्षिण कोरियाको निर्यात अन्य विकसित मुलुकको तुलनामा निकै उच्च गिरावट देखिएको हो । दक्षिण कोरियाको विद्युतीय तथा अन्य प्रबिधिजन्य सामानको चिप्सका लागि अन्य मुलुकसँग निर्भरता रहने गर्छ, जसका कारण विदेशी भूमिमा पर्ने प्रभावको असर सियोलले पनि सामना गर्नेगरेको छ ।’

चीन–अमेरिका व्यापार विवादका कारण विश्वव्यापी प्रभावसहित पानीजहाज र रासायनिक सामानको निर्यातमा पनि अपेक्षाकृत परिणाम प्राप्त गर्न नसक्नु पनि निर्यात दरमा देखिएको कमजोर अवस्थाका कारक रहेका उनले बताए ।

जनवरीको परिणाम हेर्दा अघिल्लो बर्षको समग्र कारोबारभन्दा चिप्सको व्यापारमा २३ दशमलव ३ प्रतिशतको कमी देखिएको थियो भने पानीजहाजका सामान तथा पेट्रोकेमिकलजन्य सामानमा क्रमशः १७ दशमलव ८ र ४ दशकलव ८ प्रतिशतले गिरावट आएको थियो ।

उनले थपे, ‘तर हामीले चिप्सको समुद्रपारको बजार र नयाँ पानीजहाजको मागलाई सतर्कतासाथ सम्बोधन गर्दै निर्यात बजारलाई सुधारतर्फ लाने प्रयास गरिरहेका छौं ।’ राससएएफपी

प्रतिक्रिया दिनुहोस्
MBL