Logo

बीमा समितिका अध्यक्षले भने, ‘बीमा कम्पनीहरुको अनियमितताका कारण मर्जरमा जान दवाब दिएका हौं ’

बीमा समितिका अध्यक्षले भने, ‘बीमा कम्पनीहरुको अनियमितताका कारण मर्जरमा जान दवाब दिएका हौं ’



काठमाडौं । बीमा क्षेत्रको नियामकिय निकाय बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागार्इँले पछिल्लो समय बीमा कम्पनीहरुमा अनियमितता बढ्दै गएका कारण मर्जर निर्देशिका ल्याईएको जानकारी दिएका छन । ‘हामीले स्वच्छ प्रतिश्पर्धा हुन्छ भन्ने मनसायले बजारमा नयाँ बीमा कम्पनी ल्याएका थियौं,’ उनले भने, ‘तर धेरै बीमा कम्पनी हुँदा झन बढी अनियमितता बढ्दै गएकाले फोर्स मर्जरको ब्यवस्था गरेका हौं ।’

हाल कतिपय बीमा कम्पनीहरुले पुर्याउनुपर्ने चुक्तापुँजी समेत पुर्याएका छैनन भने कतिपय कम्पनीहरुले त कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) समेत नियुक्त गरेका छैनन । बीमा समितिले २०७५ सालको असारमा जीवन बीमा कम्पनीहरुलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो ।

सोही अनुसार कम्पनीहरुले चुक्ता पुँजी पुर्याउने समयसिमा थप गर्नका लागि गरेको आग्रह अनुसार बीमा समितिले २०७५ कै पुससम्मका लागि समय थप गरेको थियो । तर हालसम्म पनि बीमा कम्पनीहरुले न आफ्नो चुक्ता पुँजी पुर्याएका छन न बीमा समितिमा आफ्नो वित्तीय विवरण नै पेश गरेका छन । केही कम्पनीहरुले मात्रै आफ्नो वित्तीय विवरण तथा चुक्ता पुँजी पुर्याएकोमा हाल प्रायजसो बीमा कम्पनीहरुले समितिमा आफ्नो वित्तिय विवरण दिन समेत आनाकानी गरिरहेको समितिका अध्यक्ष चापागार्इँले बताए ।

‘हामीले २ बर्षअघि बीमा कम्पनीहरुको चुक्ता पूँजी निर्जीवनको हकमा १ अर्ब र जीवन बीमा कम्पनीका लागि २ अर्ब रुपैयाँ तोक्यौं,’ उनले भने, ‘२०७५ असार त गयो गयो ०७५ पुस पनि गयो योबीचमा कम्पनीहरुले विभिन्न बहानामा पूँजी पुर्याउनु त परै जावस वित्तीय विवरण समेत बुझाउन छोडे ।’ कम्पनीहरुले वित्तीय विवरण समेत ल्याउन छाडेकै कारण बीमा कम्पनीहरुको नयाँ शाखा खोल्न तथा सिईओहरुको विदेश भ्रमणमा समेत रोक लगाईएको उनले जानकारी दिए । सोही अनुसार विभिन्न नैतिक दवाव दिएरै भएपनि मर्जरको प्रक्रियामा बीमा कम्पनीहरुलाई सामेल गराउने समितिको उद्देश्य रहेको अध्यक्ष चापागाँईले जानकारी दिए ।

बीमा समितिका अनुसार निर्जीवन बीमातर्फको सगरमाथा ईन्स्योरेन्सले भने शुक्रबार मात्रै आफ्नो वित्तीय विवरण बुझाएको छ । सबै बीमा कम्पनीहरुले समयमै वित्तीय विवरण बुझाउन तथा चुक्ता पूँजी पुर्याउनका लागि दवाव सिर्जना गर्न मर्जरको निर्देशिका ल्याइएको समेत अध्यक्ष चापागाँईले जानकारी दिएका छन ।

हाल बीमा कम्पनीहरुले सिईओको योग्यता धेरै तोक्दा सिईओ नै नपाईएको बताउँदै आएका छन् । तर समितिले भने सिईओको पदपूर्ति गर्नका लागि दबाब दिन निर्देशिका ल्याईएको जानकारी दिएको छ । हाल धेरै लाईसेन्स वितरण गर्दा शुद्धिकरणको सट्टा विकृति बढेकै कारण लाईसेन्स दिने कामहरु पूर्ण रुपमा बन्द गरिएको समेत अध्यक्ष चापागाँईले जानकारी दिए । उनका अनुसार अबको कदम भनेको लाईसेन्स वितरणभन्दा पनि हाल भएका कम्पनीलाई मर्जर गराउनतर्फ बीमा समिति केन्द्रित हुनेछ ।

हाल नेपालमा १९ ओटा जीवन बीमा कम्पनी, २० ओटा निर्जीवन बीमा कम्पनी तथा एउटा पुनर्बीमा कम्पनी रहेका छन । बीमा समितिले अफ्नो मर्जर निर्देशिकामा कम्पनीलाई मर्जरमा लैजाने उद्देश्यसहित कर छुट तथा अन्य सुविधाहरु प्रदान गरेको छ । जीवन बीमा तर्फ नेपाल लाईफ र नेशनल लाईफ ईन्स्योरेन्सले तथा निर्जीवन बीमा तर्फ शिखर ईन्स्योरेन्स, हिमालयन ईन्स्योरेन्स र नेको ईन्स्योरेन्सले मात्रै चुक्ता पुँजी पुर्याएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । यस्तै आफ्नो वित्तीय विवरण पेश गर्ने कम्पनीको संख्या पनि धेरै कम भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL