Logo

प्राधिकरणलाई साउदी फण्डको साढे ३ अर्ब सहयोग, निजी आवास तथा शैक्षिक संस्था पुनर्निर्माणमा लगानी

प्राधिकरणलाई साउदी फण्डको साढे ३ अर्ब सहयोग, निजी आवास तथा शैक्षिक संस्था पुनर्निर्माणमा लगानी



काठमाडौं । साउदी फण्ड फर डेभलप्मेन्टले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निर्माणका लागि साउदी फण्डले उक्त आर्थिक रकम सहयोग गरेको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त सहयोग सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको प्राधिकरणले जानकारी दिएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा भएको सम्झौतामा अर्थसचिव डा राजन खनाल र फण्डका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक डा खालेद विन सुलेइमान अल्खुडायरीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सो अवसरमा फण्डका उपाध्यक्ष अल्खुडायरीले भूकम्पबाट क्षति व्यहोरेको नेपाललाई सघाउनु मित्रराष्ट्र तथा संस्थाहरुको दायित्व हुने उल्लेख गर्दै नेपाल सरकारको पुनर्निर्माण प्रयासमा थोरै भए पनि सघाउन पाएकोमा खुशी व्यक्त गरेका छन ।

साथै उनले विश्व बैंक तथा तेल उत्पादक तथा निर्यात गर्ने मुलुकहरुको सदस्यका रुपमा समेत साउदीले नेपाललाई सहयोग गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL