Logo

अनिश्चित बन्दै मेलम्ची खानेपानी आयोजना, पछि धकेलियो सिनोहाईड्रोसँगको सम्झौता

अनिश्चित बन्दै मेलम्ची खानेपानी आयोजना, पछि धकेलियो सिनोहाईड्रोसँगको सम्झौता



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम अनिश्चित बन्दै गएको छ । आयोजनाले यही भदौ २ गते नै चिनियाँ कम्पनी सिनोहाईड्रोसँग सम्झौता गर्ने भनिए पनि विभिन्न कारणले अझै सम्झौता हुन सकेको छैन ।

आयोजना प्रमुख सुर्यराज कंडेलले चिनियाँ कम्पनी सिनो हाईड्रोसँग यही भदौ २ गते सम्झौता गर्ने तयारी भईरहेको बताएको थियो । तर बैंक ग्यारेन्टीलगायतका कामले गर्दा अहिले सम्म सम्झौता नभएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका छन ।

आयोजनाले मुख्य सुरुङमार्ग फिनिसिङ र हेडवर्कस निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाईड्रोलाई दिएको हो । उक्त आयोजनामा नेपाली ठेकेदार कम्पनीले भन्दा चिनियाँ कम्पनीले आयोजनाको इस्टिमेटभन्दा करिव २५ प्रतिशतमा तल ठेक्का हालेको थियो । सोही अनुसार चिनियाँ कम्पनीलाई काम गर्ने गरी ठेक्का सम्झौता गर्नु पर्ने भए पनि विभिन्न चरण पार गर्नु पर्ने भन्दै अहिले सम्म ठेक्का सम्झौता हुन सकेको छैन ।

आयोजनाका अनुसार करिब ९५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भए पनि बाँकी काम गर्न भने चिनियाँ कम्पनीलाई ठेक्का दिएको थियो । ठेकेदार कम्पनीलाई आशय पत्र पठाएको समय भदौ १ गते समाप्तीसँगै सम्झौता हुने तयारीमा रहेको आयोजनाले यस अघिनै जानकारी दिएको थियो । तर आयोजनाका प्रवक्ता पन्तका अनुसार सेप्टेम्बर अन्तिम सम्म भने सो सम्झौता हुने छ ।

कंडेलले भने यस अघि बिजखबरसँग कुरा गर्दै भदौ २ गतेनै सम्झौता हुने र भदौ अन्तिमदेखिनै काम सुरु गर्ने बताएको थियो । तर हाल सम्म पनि विभिन्न कारण देखाउँदै सम्झौता नहुनाले काम अझै केही समय पछि धकेलिने निश्चित छ ।

हेडवक्र्सका लागि करिव १ अर्ब १२ करोड रुपैयाँ र सुरुङमार्गका लागि ९५ करोड रुपैयाँ लाग्ने अनुमान छ । आयोजनाले भदौको अन्तिमसाताबाटै काम थाल्ने गरी प्रकृयालाई अगाडी बढाएको बताए पनि सम्झौतानै नभए पछि दशैं पछिमात्रै काम हुने आयोजनाले जानकारी दिएको छ ।

चिनियाँ ठेकेदार सिनो हाईड्रोले काम थालेको १२ महिनामा सुरुङमार्ग फिनिसिङ र १५ महिनामा हेडवक्र्स तयार पार्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL