Logo

बाढीले क्षति पुर्याएको मध्यपहाडी लोकमार्ग निर्माण अन्तिम चरणमा, मंगलबारदेखि खुल्ने

बाढीले क्षति पुर्याएको मध्यपहाडी लोकमार्ग निर्माण अन्तिम चरणमा, मंगलबारदेखि खुल्ने



काठमाडौं । बाढीले क्षति पुर्याउँदा तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मङ्गलबार (भदौ ३ गते) देखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पु¥याउँदा १३ दिनदेखि लोकमार्ग ठप्प रहेको थियो ।

तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २ सय मिटर लोकमार्ग बगाएपछि यातायात सेवा प्रभावित बनेको हो । पहिलेको भन्दा दश मिटर माथिबाट अस्थायी मार्ग खोल्ने काम भइरहेको आयोजना व्यवस्थापनले जनाएको छ ।

‘ग्रेड मिलाउने र फिलिङ गर्ने काम भइरहेको छ, भदौ ३ गतेदेखि लोकमार्ग नियमित सञ्चालनमा आउँछ’, लोकमार्गका इञ्जिनीयर अर्जुन गौतमले भने, ‘शुक्रबार साँझदेखि एम्बुलेन्स र अत्यावश्यक सेवामा चल्ने साना सवारीसाधन मात्र एकतर्फी रुपमा चल्न दिइएको छ ।’

निर्माणको काम बाँकी नै रहेको र वर्षातका कारण जोखिम भएकाले तत्काल नियमित यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको जनाइएको छ । ‘ब्रेकर’ लगाएर पहरा काट्नुपर्ने भएकाले मार्ग खोल्न समय लागेको हो । दुई सातासम्म लोकमार्ग नखुल्दा सदरमुकामदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ ।

पश्चिमको व्यापारिक केन्द्र बुर्तिबाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन चल्न सकेका छैनन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फ पनि यातायात ठप्प छ । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन बडिगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् ।

बुर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरेनजिक आएर रोकिन्छन् । अवरुद्ध भएको ठाउँ पैदल पार गरेपछि यात्रु गाडी बदलेर गन्तव्यतर्फ लाग्ने गरेका छन् । यात्रु बोक्ने सवारीसाधन वारिपारि भएर चले पनि खाद्यान्न र निर्माण सामग्रीको ढुवानी भने ठप्पै छ ।

‘पैदल बाटो पनि साह्रै जोखिमयुक्त छ’, स्थानीयवासी निदेश शर्माले भने, ‘बिरामी, ज्येष्ठ नागरिक र अशक्तलाई साह्रै सास्ती छ ।’ अत्यावश्यक सेवाका साना सवारीसाधन आउजाउ गर्न थालेपछि स्थानीयवासी खुशी छन् ।

अहिले अस्थायी मार्ग खोल्ने र पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ । लोकमार्ग पुरानै अवस्थामा फर्काउन भने समय लाग्ने देखिन्छ । ‘नाम, निसानै नरहने गरी लोकमार्ग भत्केको छ, फेरि पूरै संरचना बनाउनुपर्छ’, इञ्जिनीयर गौतमले भने । गत वर्ष पनि त्यही ठाउँमा गएको पहिरोले लामो समय लोकमार्ग अवरुद्ध पारेको थियो ।

सोही पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमि क्षेत्रफलमा ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले घोपर्नाबाट तुरतुरे जोड्ने अर्को वैकल्पिक मार्ग सञ्चालनका लागि पनि प्रयास भइरहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL