Logo

संचालनमा नआउँदै भत्कियो जयनगर–जनकपुर रेलमार्ग, इनरुवामा बगायो ७० मिटर रेलवे ट्रयाक

संचालनमा नआउँदै भत्कियो जयनगर–जनकपुर रेलमार्ग, इनरुवामा बगायो ७० मिटर रेलवे ट्रयाक



काठमाडौं । जयनगर–जनकपुर रेलवे सेवा संचालनमा नआउँदै बाढीले बगाएको छ । बिहीबार देखी परेको अविरल बर्षाका कारण जयनगर–जनकपुर रेलवे खण्डको जनकनन्दनी गाउँपालिकाको खजुरी स्टेशन नजिकै ईनरुवामा करिब ७० मिटर रेल्बे ट्रयाक बाढीले बगाएको हो ।

कमला नदिको तटबन्ध भत्किए पछि उक्त रेलमार्गको इनरुवा क्षेत्रमा रहेको ७० मिटर रेलवे ट्रयाक बाढीले बगाएको हो । रेल विभागका जनकपुर साइट कार्यालयका इन्जिनियर विनोद ओझाले खजुरी स्टेशन नजिकै रहेको इनरुवामा करिब ६०–७० मिटर लिक बाढीले भत्काएको जानकारी दिएका हुन ।

उनका अनुसार महोत्तरीको खुट्टापिपडाढीमा समेत बाढीले लिक भत्काएको छ । इन्जिनियर ओझाले बाढीले लिक भत्काएको विषयमा भारतीय पक्षलाई जानकारी गराइसकेको बताएका छन । पानीको बहाबले तलको माटो बगाएपछि लिक भत्केको उनको भनाई रहेको छ । बर्षाले जनकपुर उपमहानगरपालिकाको कुर्था स्टेशनको पर्खाल समेत भत्किएको छ ।

त्यस्तै अन्य क्षेत्रमा समेत बाढीले रेलवे ट्रयाक बगाउन सक्ने भएकाले सो क्षेत्रमा अनुगमनको लागि जाने प्रयास भईरहेको ओझाले जानकारी दिएका छन । सोमबार सो क्षेत्रको अनुगमनको लागि जाने तयारी गरे पनि पानीको बहाव नघटेकाले जान नसकिएको उनले बताए ।

मंगलबार पनि उक्त क्षेत्रको अनुगमनको लागि जाने तयारी रहेको ओझाले जानकारी दिएका छन । अनुगमनपछि मात्रै के कति क्षेति भएको हो सोको जानकारी दिन सक्ने उनको भनाई रहेको छ । तर रेल विभागले भने उक्त रेलमार्गमा आउँदो दशैं सम्ममा रेल संचालन गर्ने बताउँदै आएको छ ।

उक्त ब्रोडगेज रेलमार्ग यस अघिनै निर्माण सम्पन्न भए पनि रेल संचालनको लागि खरिद प्रकृया ढिलाहुँदा दशैंमा मात्रै रेल संचालनमा ल्याउन सकिने विभागले जानकारी दिएको थियो । तर अब रेलमार्गनै भत्किए पछि तोकिएको समयमा रेल संचालन गर्न कठिनाई हुने इन्जिनियर ओझाले बताए ।

सरकाले केही महिना अगाडीनै जयनगर–जनकपुर रेलमार्गमा रेल संचालनको लागि विभागलाई २ सेट रेल खरिद गर्न रकम उपलब्ध गराए पनि खरिद सम्झौता गर्न ढिलाई गर्दा संचालन समय पनि पछि धकेलिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL