Logo

दशैंबाट जयनगर–जनकपुर रेल संचालनमा, लालबन्दी–निजगढ रेलमार्ग ३ वर्ष भित्र बनाईने

दशैंबाट जयनगर–जनकपुर रेल संचालनमा, लालबन्दी–निजगढ रेलमार्ग ३ वर्ष भित्र बनाईने



काठमाडौं । आउँदो दशैं सम्ममा जयनगर–जनकपुर रेलमार्गमा रेल संचालन हुने भएको छ । उक्त ब्रोडगेज रेलमार्ग निर्माण सम्पन्न भए पनि रेल संचालनको लागि खरिद प्रकृया ढिलाहुँदा दशैंमा मात्रै रेल संचालनमा ल्याउन सकिने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

उनका अनुसार सरकाले केही महिना अगाडीनै जयनगर–जनकपुर रेलमार्गमा रेल संचालनको लागि विभागलाई २ सेट रेल खरिद गर्न रकम उपलब्ध गराए पनि खरिद सम्झौता गर्न ढिलाई हुँदा संचालनको समय पनि पछि सरेको हो ।

गत बैशाखमा ९० दिन भित्रै रेल संचालनमा ल्याउन सकिने बताएको मिश्रले एक महिना अगाडी मात्रै खरिद सम्झौता भएको र रेल निर्माणको चरणमा रहेकाले केही समय ढिला हुने बताएका हुन ।

उक्त रेलमार्गमा भारतीय सरकारी कम्पनी कोकान रेलवेयज कर्पोरेसन लिमिटेडमा निर्माण भएको २ वटा डीईएमयू रेल संचालन हुनेछ । रेल संचालनको समय एक महिना मात्रै बाँकी हुँदा विभागले सो समयमा रेल संचालन गर्न नसकिने भन्दै दशैंको लागि समय परिवर्तन गरेको हो । सरकारले उक्त रेलमार्गमा रेल संचालन गर्न जी टु जी प्रक्रियामार्फत ८४ करोड ६५ लाख रुपैयाँमा २ वटा रेल खरिद गर्नेछ ।

त्यस्तै रेल विभागले लालबन्दीदेखि निजगढसम्मको रेलमार्ग निर्माणको लागि गरेको टेण्डरको मूल्याङ्कन भईरहेको जानकारी दिएको छ । करिब २ बर्ष भित्रै सम्पन्न गर्ने लक्षका साथ काम गरे पनि उक्त रेलमार्ग सम्पन्न गर्न ३ बर्ष लाग्ने विभागका महानिर्देशक मिश्रले जानकारी दिएका छन ।

उनका अनुसार मूल्याङ्कनको काम करिब एक महिना भित्र सम्पन्न हुने र कामलाई अगाडी बढाउने लक्ष लिए पनि मूल्याङ्कनकै क्रममा ठेकेदारबीच मुद्दा भएमा पुन समय थप्न सक्ने भएकाले उक्त रेलमार्ग निर्माणको समय पनि थप्न सक्ने छ ।

लालबन्दीदेखि निजगढसम्म करिब ४० किलोमिटर रेलमार्गको लागि करिब ६ अर्ब रुपैयाँ लागत लाग्ने विभागको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL