Logo

प्राविधिक बिना बनाइएका घरले पनि पाउने भए ३ लाख, रकम उपलब्ध गराउन कार्यविधि पारित

प्राविधिक बिना बनाइएका घरले पनि पाउने भए ३ लाख, रकम उपलब्ध गराउन कार्यविधि पारित



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुअगावै बनाएका निजी घरलाई पनि अनुदान उपलब्ध गराउने भएको छ । प्राधिकरणले त्यसरी बनाईएका घरका घरधनीलाई एकमुष्ट ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

laxmi

प्राधिकरणको कार्यकारी समितिको मंगलबार बसेको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरहरुलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि पारित गरेसँगै ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउन बाटो खुलेको हो ।

निर्देशक समितिले यस सम्बन्धमा गरेको निर्णय अनुरुप द्रुत गतिमा यस प्रकारका घरहरुलाई अनुदान उपलब्ध गराउन कार्यकारी समितिले सो कार्यविधि पारित गरेको प्राधिकरणले जानकारी दिएको छ ।

कार्यविधि अनुसार अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनर्निर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित भए पछि मात्रै सो ३ लाख रुपैयाँ पाउने छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राविधिक परिचालन गर्नुपूर्व पुनर्निर्माण गरिएको घरका घरधनीलाई एकमुष्ट रकम उपलब्ध गराउने कार्य केही ढिलाइ भएको देखिएकाले उक्त कार्यलाई प्राथमिकताका साथ अघि बढाउन कार्यविधि पारित गरेको बताए ।

प्राधिकरणका अनुसार हाल सम्ममा ४ लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिइसकेका छन् । ४ लाख २३ हजार घरको पुनर्निर्माण सम्पन्न भइसकेका छन भने २ लाख ११ हजार घर पुनर्निर्माणको क्रममा रहेका छन ।

ज्ञवालीले भने, ‘प्राविधिक खटिनपुर्व १२ हजार घर बनेको तथ्यांक आएको छ । थप तथ्यांक आउने क्रममा छ । त्यसलाई पनि समावेश गरेर एकमुष्ट अनुदान उपलब्ध गराउनेछौं ।’

कार्य समितिको बैठकले सम्पदा बस्तीका एकल वा बहुस्वामित्वका निजी आवास पुनर्निर्माण सम्बन्धी कार्यविधिलाई समेत पारित गरेको छ । अधिकृत ज्ञवालीका अनुसार कार्यविधि पारित भएसँगै शहरी क्षेत्रमा देखा परेको बहुस्वामित्व सम्बन्धी अन्योल अन्त्य भइ शहरी पुनर्निर्माण कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सहयोग पुग्नेछ ।

‘एक कोठे घर पुनर्निर्माण गर्दा केही ठाउँमा अन्योल उत्पन्न भई दुरुपयोग भएको समेत पाइएकाले एक कोठे घरको मापदण्ड स्पष्ट पारेको ज्ञवालीले जानकारी दिएका छन । उनले भने, ‘आफू बस्ने घर पुनर्निर्माण गर्दा सम्बन्धित घरधनी पनि जवाफदेही हुन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL