Logo

नेपाल भारत रेल सेवा सम्झौता ५ बर्षका लागि नविकरण, यस्ता छन् १० बुँदे सहमति

नेपाल भारत रेल सेवा सम्झौता ५ बर्षका लागि नविकरण, यस्ता छन् १० बुँदे सहमति



काठमाडौं । नेपाल भारत रेल सेवा सम्झौता ५ बर्षका लागि नविकरण भएको छ । बुधबार र बिहीबार नेपाल र भारतबीच रेल सेवा सम्झौता अन्तर्गतको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा उक्त सम्झौता ५ बर्षका लागि नविकरण भएको हो ।

भारतको नयाँदिल्लीमा भएको उक्त बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतको तर्फबाट रेल मन्त्रालयका कार्यकारी निर्देशक एवं ट्राफिक ट्रान्सपोर्टेशन मनोजकुमार श्रीवास्तवको नेतृत्वमा भएको छलफलले उक्त सम्झौता नविकरण गरेको थियो ।

बैठकमा नेपाली रेललाई कार्गाे ढुवानीका लागि कोलकत्ता–हल्दिया देखि विराटनगर र विरगंजसम्म दुईतर्फी संचालन गर्नका लागि भारतले सैद्धान्तिक सहमति जनाएको छ ।

यस्तै पारवहन सन्धिमा सहमति भएअनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलमार्फत बल्क कार्गाे ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति समेत भएको छ ।

यसैगरी विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था–ईनर्वा जयनगर रुटमा रेल सेवा संचालनमा आए पस्चात उक्त रुटहरु कार्गाे ढुवानी गर्न पाउने गरी रेलसेवा सम्झौतामा थप गर्नेगरी भारतले सहमति दिएको छ ।

भारतीय रेलबाट लाईसेन्स प्राप्त अन्य आधिकारिक कार्गाे रेल संचालकले नेपाली कार्गाे ढुवानी गर्नका लागि समेत छलफल गर्ने भारतीय पक्षले जानकारी दिएको छ । उक्त छलफल भएसँगै भारतीय रेलले पनि नेपाली कार्गाे ढुवानी गर्न पाउनेछन ।

दिल्लीमा भएको उक्त बैठकमा भारतले नेपालको वीरगंज सुक्खा बन्दरगाहसम्म विद्युतीय रेल्वे लाईन विस्तार गर्ने सहमती गर्नुका साथै रेलसेवा सम्झौतासम्बन्धी चौथो बैठक ६ महिनाभित्र नेपालमा हुनेगरी मिति तय गरिने जानकारी दिईएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL