Logo

रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्न सम्झौता, निर्माण लागत १२ करोड ४० लाख युयान, साढे दुई बर्षमा सम्पन्न

रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्न सम्झौता, निर्माण लागत १२ करोड ४० लाख युयान, साढे दुई बर्षमा सम्पन्न



काठमाडौं । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवामा सुख्खा बन्दरगाहा निर्माण हुने भएको छ । चिनियाँ युआन १२ करोड ४० लाखको लागतमा रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुने भएको हो ।

करिब ५ हेक्टर क्षेत्रफलमा निर्माण हुने उक्त बन्दरगाहको निर्माण तिबत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनीले गर्ने भएको छ ।

उक्त बन्दरगाहमा ३ सय ५० ठूला ट्रकहरु पार्किङ्ग गर्न सकिने गरी करिब ५ हजार वर्गमिटरको ५ तले सीमा जांचपास भवन, ७५० वमिको पार्किङ, २०८० वमिको २ वटा जांचपास कक्ष, कार्गो गोदाम, लिटिगेशन गोदाम रहने छ ।

सो बन्दरगाह निर्माणका लागि आवश्यक जग्गा नेपाल सरकारले व्यवस्थापन गरिसकेको छ भने कम्पनीसँग सम्झौता समेत भईसकेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्र तथा निर्माण कम्पनीका याङ्ग इनलिन प्रोजेक्ट मेनेजरले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । उक्त बन्दरगाह निर्माण कार्य सुुरु गरेको मितिले साढे २ बर्षमा सम्पन्न हुने छ ।

उक्त बन्दरगाहको डिजाइन चिनियाँ आर्किटेक्चरल रिकनिसियन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ तिबत अटोनोमस रिजनले तयार गरेको थियो ।

चीन सरकारको सहयोगमा निर्माण हुन लागेको सो बन्दरगाह उत्तरी नाकामा दोश्रो हो । हालै मात्र सिन्धुपाल्चोकको लार्चामा चीन सरकारले तातोपानी सुख्खा बन्दरगाहको निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारीमा रहेको छ ।

मुलुकका उत्तरी नाकामा निर्मित सुख्खा बन्दरगाहहरुले नेपाल र चीनबीच हुने अन्तरराष्ट्रिय व्यापारमा कोशेढुंगाको काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL