बौद्ध सडक खण्ड आईतबार देखी कालोपत्र हुने, सहमति अनुसार काम नभए अनिश्चितकालीन चक्काजाम

काठमाडौं । लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ ।

धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच छ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।

स्थानीय बासिन्दा, व्यापारी तथा उक्त सडकखण्ड कालोपत्र गर्ने ठेकेदारबीच भएको सम्झौताअनुसार आइतबारदेखि नै कालोपत्र गर्ने काम ठेकेदार कम्पनीले सुरु गर्ने सहमति भएको छ ।

बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागाईंले कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सबवेस, बेस बनाउने काम कार्य आजैदेखि सुरु गर्ने सहमति भएको बताए । ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौं महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार संघका अध्यक्ष चौलागाईं, स्थानीय बासिन्दा तथा टुसाल युवा क्लबका प्रतिनिधिसहित बसेको बैठकबाट सहमति भएको चौलागाईंले जानकारी दिएका हुन ।

बिहीबार बिहान ८ः३० बजेदेखि सुरु भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्नु परेको थियो । प्रदर्शनमा उत्रिएका एक दर्जन आन्दोलनकारी घाइते भएका थिए भने प्रहरीले आन्दोलनलाई दबाउन लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरेको थियो । अन्तिममा प्रहरी र स्थानीय जनप्रतिनिधिको विशेष भूमिकामा ठेकेदारलाई नै ल्याएर सहमति गर्ने वातावरण बनेपछि आन्दोलन स्थगित भएको थियो ।

सहमति ठूलो उपलब्धि भएको भन्दै बौद्ध व्यापार संघका अध्यक्ष चौलागाईंले सहमतिपत्रको अक्षरसः पालाना नभए आइतबारबाट पुनः अनिश्चितकालीन चक्काजामको आह्वान गर्ने चेतावनी दिएका छन । त्यस्तै संघका कोषाध्यक्ष मेनुका श्रेष्ठले आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्र भएको बताए । आन्दोलन रोकिएको छैन, सहमतिअनुसार काम नभए पुनः चक्काजाम गर्ने श्रेष्ठले बताए ।

चार वर्षदेखि निर्माण अलपत्र परेको चावहिल–साँखु सडकखण्डअन्तर्गतका सर्वसाधारण तथा स्थानीय व्यपारीले सडककै कारण ठूलो समस्या खेप्दै आइरहेका छन् । सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्मको सडकलाई २२ मिटर चौडा र चार लेनको बनाउने योजना ल्यायो । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा ४ निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा ४ कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन /रासस


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status