Logo

चक्रपथ विस्तार दोस्रो खण्डको काम अन्यौलमा, चिनियाँ कम्पनीले डेढ बर्षमा पनि तयार गरेन डिजाईन

चक्रपथ विस्तार दोस्रो खण्डको काम अन्यौलमा, चिनियाँ कम्पनीले डेढ बर्षमा पनि तयार गरेन डिजाईन



काठमाडौं । चक्रपथ विस्तार आयोजना अन्तरगतको पहिलो खण्डको काम सम्पन्न भएको ५ महिना वितिसक्दा पनि दोस्रो खण्डको अझै टुङ्गो लागेको छैन ।

laxmi

चक्रपथ विस्तारको पहिलो खण्ड अन्तरगत कोटेश्वर कलंकी खण्डको काम सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण गरेको ५ महिना वितेपनि चिनियाँ ठेकेदार कम्पनीले दोस्रो खण्डको डिजाईन नबनाउँदा काम अन्यौलमा परेको छ ।

चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सनले गत डिसेम्बर १५ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलो खण्ड अन्तरगतको १० दशमलव ४ किलोमिटर सडक हस्तारन्तरण गरेको थियो । सोही कम्पनीले नै दोस्रो खण्ड अन्तर्गत कलंकी देखि महाराजगंजसम्मको विस्तारको जिम्मा पाएको भएपनि डिजाईन समेत तयार नगरिदिँदा विस्तारकार्य नै अन्यौलमा परेको हो ।

चिनियाँ पक्षले समयमै डिजाईन उपलब्ध नगराउँदा सो खण्डमा पर्ने रुख, विजुलीका पोल, ढल तथा खानेपानीका पाईप लगायतका संरचनाहरु हटाउने काम समेत अघि बढ्न नसकेको उक्त आयोजनाका ईन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए । उनका अनुसार डेढ बर्षअघि दोस्रो खण्डको डिजाईन बनाउनका लागि लिएको जिम्माको समयसिमा नाघेपनि सोहि अनुसार डिजाईन भने चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले तयार पारेको छैन ।

कम्पनीले पहिलो खण्डको काम सम्पन्न हुनेवित्तीकै दोस्रो खण्डको काम सुरु गर्ने गरी सम्झौता गरेको थियो । तर, पहिलो खण्डको काम सकिएको लामो समय वितिसक्दा पनि दोस्रो खण्डको काम हुन नसकेको हो । चिनियाँ कम्पनीले कहिले डिजाईन बनाएर दिन्छ भन्ने विषयमा अझै निश्चित नभएको सडक विभागका महानिर्देशक केशव शर्माले जानकारी दिए । ‘उनीहरुले चाँडै काम सक्ने हुनाले दोस्रो खण्डको पनि डिजाईन तयार गर्न दिएका हौं,’ उनले भने, ‘तर लामो समय भयो डिजाईन बनाउन दिएको अब केही दिनमा डिजाईन आउला ।’

३ आकाशे पुलको काम अन्यौलमा

पहिलो खण्ड अन्तरगतका नेपाल सरकारले बनाउने भनेका ६ ओटा पुलमध्ये ३ ओटाको काम भईरहेको भएपनि अन्य ३ ओटाको भने अन्यौलमा छ । उक्त ५ ओटा पुल निर्माणका लागि २ ओटा ठेकेदार कम्पनीले कामको जिम्मा पाएका छन । जसमध्ये बालकुमारी, सातदोबाटो तथा खसीबजारको पुलको जिम्मा अवाले विल्डर्स कम्पनीले जिम्मा पाएको छ भने महालक्ष्मीस्थान, सानेपा र बल्खुमा बन्ने आकाशे पुलको जिम्मा भने पुर्णचण्डी कम्पनीले पाएको छ ।

काम गर्न लागेको महिनौं वितिसकेपनि सोही अनुसार ठेकेदारले काम नगरेपछि सानेपा, महालक्ष्मीस्थान तथा बल्खु पुलको काम अघि बढ्न सकेको छैन । यस्तै अन्य ३ स्थानको पुलको काम भने लक्ष्य अनुरुप प्रगती भईरहेको आयोनजाका ईन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL