जयनगर–जनकपुर रेल आउन ९० दिन बाँकी, लालबन्दी निजगढ रेलमार्गको टेण्डर हुँदै

काठमाडौं । जयनगर–जनकपुर रेल सेवा ९० दिन भित्र संचालनमा ल्याइने भएको छ । उक्त ब्रोडगेज रेलमार्ग निर्माणको अन्तिम चरणमा पुगेको र अबको ९० दिन भित्र रेल संचालनमा ल्याउने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

सरकारले जयनगर–जनकपुर रेलमार्गमा रेल संचालनको लागि केही समय अगाडीनै विभागलाई २ सेट रेल खरिद गर्न रकम उपलब्ध गराई सकेको छ ।

सरकारले भारतीय सरकारी कम्पनी कोकान रेलवेयज कर्पोरेसन लिमिटेडमार्फत २ वटा डीईएमयू रेल खरिद गर्न सो समय लाग्ने भएकाले अवको ९० दिन पछि मात्रै सो रेल मार्गमा रेल संचालनमा ल्याउन सकिने मिश्रले जानकारी दिएका हुन ।

सरकारले उक्त रेलमार्गमा रेल संचालन गर्न जी टु जी प्रक्रियामार्फत ८४ करोड ६५ लाख रुपैयाँमा २ वटा रेल खरिद गर्नेछ । त्यस्तै रेल विभागले लालबन्दीदेखि निजगढसम्मको रेलमार्गको लागि टेण्डर गर्ने प्रकृयालाई समेत अगाडी बढाएको जानकारी दिएको छ ।

विभागले यस अघिनै उक्त मार्गको टेण्डर गर्ने भनिए पनि जग्गाको मुआब्ज लगायतको काम बाँकी रहेकाले टेण्डरको समय पनि सार्दै गएको थियो । तर अव भने बनको मात्र केही काम बाँकी भएकाले ४÷५ दिन भित्रै टेण्डर निकाल्ने तयारी गरेको मिश्रले जानकारी दिएका छन ।

उनले भने, ‘वातवरणीय प्रभाव मूल्याङकन (इआईए) को काम समेत सम्पन्न भएको छ । अव केही दिनमै टेण्डर खोल्छौं ।’ रौतहट जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जारी गरेको सुचनाका आधारमा उक्त रेलमार्गमा बस्ती परे पछि पुन बस्तीलाई हटाएको सुचना जारी गरेको थियो ।

उक्त रेलमार्गमा पर्ने बस्तीलाई हटाई विभागले टेण्डर गर्न लागेको विभागले जानकारी दिएको छ । लालबन्दीदेखि निजगढसम्म करिब ४० किलोमिटर रेलमार्गको लागि करिब ६ अर्ब रुपैयाँ लागत लाग्ने विभागको अनुमान रहेको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status