Logo

कोटेश्वर–जडिबुटी जाम छल्ने नयाँ उपाय, साना सवारीलाई मनोहरा करिडोर डाइभर्सन संचालनमा

कोटेश्वर–जडिबुटी जाम छल्ने नयाँ उपाय, साना सवारीलाई मनोहरा करिडोर डाइभर्सन संचालनमा



काठमाडौं । कोटेश्वर चोकमा हुने सवारी जाम कम गर्न सडक विभागले मनोहरा करिडोरको डाईभर्सन संचालनमा ल्याएको छ । कोटेश्वर चोकसँगै जडिबुटी चोक तथा त्यस क्षेत्रमा हुने ट्राफिक जामलाई नियन्त्रण गर्नका लागि विभगले सोमबारदेखि पुर्ण रुपमा उक्त डाईभर्सन संचालनमा ल्याएको हो ।

उक्त डाईभर्सन संचालनमा आएसँगै भक्तपुरबाट ललितपुर तर्फ आउने साना सवारीसाधनहरु मनोहरा करिडोर हुँदै बालकुमारी आउनेछन । यस्तै उक्त साना सवारीसाधनहरु उक्त करिडोरमार्फत बालकुमारी निस्किएमा कोटेश्वर चोकको जाममा केही राहत हुने सडक विभागको अनुमान छ ।

विभागले कोटेश्वर क्षेत्रको जामको समस्या न्युनिकरण गर्न सुरुङमार्गसहित अन्य विकल्पका निमित्त अध्ययन सुरु गरेको थियो । जस अन्तर्गत कोटेश्वरमा हुने ट्राफिक जामको समस्या हटाउनका लागि ७ जना जापानी विज्ञहरुको टोलीले सम्भावित विकल्पहरु निमित्त अध्ययन थालेको थियो ।
विभागको पहलमा जापानी नियोग जाइकाको अनुदान सहयोगमा अध्ययन भइरहेको उक्त क्षेत्रमा जडिबुटी चोकको जाम हटाउन भने मनोहरा करिडोर डाईभर्सन संचालनमा ल्याउन पहल गरिएको हो ।

चालु आर्थिक वर्ष ०७५ ७६ को बजेटमा अर्थमन्त्री युवराज खतिवडाले कोटेश्वरमा अण्डरपास निर्माण गर्ने उल्लेख गरेका थिए । अघिल्लो बजेटमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेर अण्डरपास बनाइने उल्लेख थियो तर सडक विभागले अन्य विकल्प खुट्याउन विज्ञहरुमार्फत अध्ययन अघि बढाएको थियो ।

कोटेश्वर खण्डको सडक जति नै चौडा भए पनि जाम भने घटेको छैन । कोटेश्वर चोकको जाम जडिबुटी चोक, लोकन्थली हुँदै कौशलटार भन्दा पर सम्म पुग्छ । विभागले भक्तपुर बाट कोटेश्वरको बाटो हुँदै ललितपुर जाने सान सवारीसाधनलाई मनोहरा करिडोर डाईभर्सन प्रयोग गर्न निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL