Logo

जनकपुर–जयनगर रेल चलाउने तयारीमा विभाग, अघि बढ्यो कर्मचारीको छनोट प्रक्रिया

जनकपुर–जयनगर रेल चलाउने तयारीमा विभाग, अघि बढ्यो कर्मचारीको छनोट प्रक्रिया



काठमाडौं । रेल विभागले यही बैशाखदेखी ‘जनकपुर–जयनगर रेल्वे’ संचालनको तयारी गरिरहेको छ । विभागका अनुसार रेल संचालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ ।

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल संचालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै संचालन कार्यविधिको काम सुरु गरेको हो । रेल संचालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु भईसकेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

मिश्रका अनुसार सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० जना कर्मचारीको छनोट प्रक्रिया सुरु भएको हो । सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा ७ देखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी थालेको हो ।

मुख्य स्टेशनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोहीअनुसारको कार्यविधि निर्माणमा आफूहरु लागिपरेको मिश्रले जानकारी दिएका छन । कुर्था र खजुरीलगायत केही स्टेशनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकतानुसार कर्मचारी परिचालन गरिने समेत उनले जानकारी दिएका छन ।

विभागले सो मार्गमा रेल संचालनका लागि भारतबाट दुई सेट रेल खरीद गर्ने प्रकृया अन्तिम चरणमा रहेको समेत जानकारी दिएको छ । मुलुककै एक मात्र रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा नेपालमा रहेको न्यारोगेज रेलको कोइला इञ्जिन भने संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ ।

जनकपुर–जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रमसँगै पुराना इञ्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपूर्जा संरक्षणका अभावमा घाम र पानीले खिया लागिरहेको छ ।

नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १६ कर्मचारी खटाए पनि उनीहरूले संरक्षणमा चासो नदिँदा इञ्जिनका पार्टपूर्जादेखि कारखानामा रहेका अन्य सामग्रीसमेत चोरी भएका छन् ।

जनकपुरबाट करिब १५ किमी दूरीमा रहेको वैदेही गाउँपालिकास्थित खजुरी स्टेशनमा थन्क्याइएका ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरका नामले चिनिने इञ्जिन संरक्षण भएको छैन /रासस

प्रतिक्रिया दिनुहोस्
MBL