Logo

बन्दीपुरमा केबलकारसँगै स्तरीय होटल निर्माण हुने, २०७६ चैत देखी संचालनमा आउने

बन्दीपुरमा केबलकारसँगै स्तरीय होटल निर्माण हुने, २०७६ चैत देखी संचालनमा आउने



काठमाडौं । तनहुँको पर्यटकिय नगरी बन्दीपुरमा केबलकार निर्माण सुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विभिन्न पूर्वाधार निर्माणको योजना बनाएको हो ।

कम्पनीले बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न नौतले सुविधासम्पन्न आधुनिक कम्पलेक्स निर्माण गर्नेछ । कम्पलेक्सभित्र रुफटपमा आधुनिक भ्यूटावर, ९ औं तलामा बेनक्युट हल निर्माण गरिनेछ भने आठौँ, सातौँ, छैटौँ, पाँचौँ र चौथो तलामा सुविधासम्पन्न ८० कोठाको स्तरीय होटल निर्माण गरिनेछ ।

आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माका अनुसार तेस्रो तलामा रेष्ट्रोजोन, दोस्रो तलामा सपिङमल र पहिलो तलामा केबलकारको स्टेशन, टिकट काउन्टर र उत्तरदक्षिण प्यासेज निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच रोपनी क्षेत्रफलमा निर्माण हुने भवनका लागि ४५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

बन्दीपुर केबलकार प्रालिले निर्माण सुरु गरेको केबलकारको काम अहिले धमाधम अगाडि बढिरहेको छ । केबलकारको साझेदारी कम्पनीमा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फण्ड, बन्दीपुर गाउँपालिका र स्थानीय समुदाय छन् । केबलकारको समग्र वृहत् परियोजनामा कम्पनीले १ अर्ब २८ करोड लगानी गर्ने योजना बनाएको शर्माले जानकारी दिएका छन ।

उनका अनुसार केबलकारको टावरका लागि पिल्लर खन्ने काम चलिरहेको छ भने ल्याण्डविण्डिङ र बाटो विस्तारको काम सकिएको छ । प्रारम्भमा ५६ करोड रुपैयाँको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणसमेत जडान गर्ने योजना थप गर्ने भएको छ ।

बन्दीपुरको पर्यटनलाई प्रवद्र्धन गर्न कृत्रिम तालमा रात्रिकालीन लाइटिङ वाटर म्युजिकल सांस्कृतिक शो देखाउन उपकरण जोड्नका लागि गाउँपालिकासँग छलफल अगाडि बढाएको समेत शर्माले जानकारी दिए ।

साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा सुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्नका लागि निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले बताए ।

यसलाई लागू गर्नका लागि कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीको रूपमा लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको र सबै पक्षलाई वर्गीकरण गरेर साना लगानीकर्तालाई समेत पर्यटन सहकारी बनाएर यसमार्फत सेयर दिने कम्पनीले जानकारी दिएको छ ।

केबलकार निर्माणको कामलाई २०७६ चैतसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने र बाँकी पूर्वाधार साढे दुई वर्षमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL