Logo

नक्कली भुकम्प पिडीतबाट २३ करोड रुपैयाँ असुली, नक्कली लाभग्राही पहिचानको जिम्मा स्थानीय तहलाई

नक्कली भुकम्प पिडीतबाट २३ करोड रुपैयाँ असुली, नक्कली लाभग्राही पहिचानको जिम्मा स्थानीय तहलाई



काठमाडौं । नक्कली भुकम्प पिडितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट लिएको रकम फिर्ता गरेको छ । २०७२ सालको भुकम्पमा परी ध्वस्त भएका घर बनाउन सरकारले ३ लाख रुपैयाँ दिने भए पछि नक्कली कागजपत्र बनाएर लिएको रकम फिर्ता गरेको प्राधिकरणले जानकारी दिएको छ । नक्कली लाभग्राहीबाट झण्डै २३ करोड रुपैयाँ फिर्ता भएको छ ।

पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता भएको कार्यालयका परियोजना प्रमुख गणेशराज वस्तीले जानकारी दिएका हुन ।

उनका अनुसार सरकारले एक पटक दिइसकेको पैसा फिर्ता लिँदैन भनेर पहिले अरु ठाउँमा घर भएका वा त्यहीँ घरमा बस्न मिल्ने हुँदाहुँदैका घरधनी लाभग्राही सूचीमा परेका थिए । अहिले घर नबनाउँदा रकम त्यतिकै लिन पाइँदैन भन्ने सोचेर फिर्ता गर्ने क्रम सुरु भएको हो ।

कतिपय लाभग्राही भने भुलवश लाभग्राही सूचीमा परेको प्राधिकरणले जानकारी दिएको छ । उनका अनुसार जानेर वा नजानेर लाभग्राही बनेका लाभग्राहीको खोजी भइरहेको छ । सम्बन्धित व्यक्तिले आफू बसिरहेको पालिकामार्फत ‘यति नम्बर खातामा भएको लगतकट्टा गरिपाऊँ’ भन्दै निवेदन दिनुपर्ने समेत प्राधिकरणले जानकारी दिएको छ ।

परियोजना प्रमुख वस्तीका अनुसार पालिकामार्फत जिल्ला आयोजना कार्यन्वयन एकाइ र त्यहाँबाट केन्द्रीय आयोजना कार्यन्यन एकाइ पुगेपछि लगतकट्टा हुन्छ । उनले भने, ‘नक्कली लाभग्राही पहिचान गरेर रकम फिर्ता गराउन स्थानीय तहको समेत सहयोग आवश्यक छ ।’

प्राधिकरणका अनुसार अहिलेसम्म देशभरमा लाभग्राही सूचीमा परेकाको कुल संख्या ८ लाख १२ हजार ३ सय ७१ घरधुरी रहेको छ / रासस

प्रतिक्रिया दिनुहोस्
MBL