Logo

नारायणगढ मुग्लिन सडकखण्डमा पुल निर्माण तिब्र, २७ करोडमा बन्दै ४ ओटा पुल

नारायणगढ मुग्लिन सडकखण्डमा पुल निर्माण तिब्र, २७ करोडमा बन्दै ४ ओटा पुल



काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन ४ ओटा पुलको काम ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ ।

‘समग्रमा पुल निर्माणको काम ५० प्रतिशत सकिएको छ’, खनालले भने । ‘जलवीरेमा भने निर्माण प्रगति ३४ प्रतिशत र अन्य पुलको ७० प्रतिशत माथि छ  ।’ जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको हो । अन्य तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । जलवीरे पुल ८० मिटर लामो छ । मौरीपुल ३०, खानीपुल ३० र दासढुङ्गा पुल २० मिटर लम्बाइ तथा चौडाइ भने सबैको ११ मिटर हुनेछ ।

लामा कन्स्ट्रक्सनले जिम्मा पाएको चार ओटा पुल निर्माणको काम वैशाखभित्रै सम्पन्न हुन्छ भने रौताहा कन्स्ट्रक्सनले जिम्मा लिएको जलवीरे पुल निर्माणको भने समय लाग्ने खनालले बताए । जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ र फरक प्रकृतिको पुल भएका कारण पनि ढिलाइ भइरहेको छ ।

जलवीरे पुल १४ करोड रुपैयाँमा ठेक्का दिइएको हो भने अन्य ३ पुलको कूल निर्माण लागत भने जम्मा १३ करोड रुपैयाँ रहेको छ । सडकखण्डमा अझै १४ पुल निर्माणको काम भने अघि बढ्न सकेको छैन । १८ पुलमध्ये ४ ओटाको मात्रै निर्माण जारी रहेको र बाँकी १४ पुल निर्माणको काम छिट्टै सुरु हुने आयोजना प्रमुख रोहित विसुरालले जानकारी दिएका छन ।

सात ठाउँमा भौगर्भिक अध्ययन

नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न क्षेत्रमा भासिएको सडकको भौगर्भिक अध्ययन सुरु गरिएको छ । भासिएको र जोखिमपूर्ण गरी ७ ठाउँमा भौगर्भिक अध्ययन गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयका इञ्जिनीयर खनालले जानकारी दिएका छन । सडक भासिएको खण्ड २६ किलोमिटरमा र १७ किलोमिटर क्षेत्रमा सर्वे भइरहेको छ ।

भासिएको सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ । टोलीले एक महीनाभित्र अध्ययनसहित डिजाइनको प्रतिवेदन दिनेछ । आयोजनाका प्रमुख विसुरालले प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्रै निर्माणको काम अघि बढ्ने बताएका छन / रासस

प्रतिक्रिया दिनुहोस्
MBL