Logo

किन रोकियो चक्रपथ विस्तार आयोजनाको दोस्रो खण्डको काम ?

किन रोकियो चक्रपथ विस्तार आयोजनाको दोस्रो खण्डको काम ?



काठमाडौं । चक्रपथ विस्तार आयोजना अन्तरगतको पहिलो खण्डको काम सकिए पनि दास्रो खण्डको काम भने अन्यौलमा छ । उक्त सडकखण्ड विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले डिजाईन समेत तयार नगरिदिँदा विस्तारकार्य नै अन्यौलमा परेको हो ।

चिनियाँ पक्षले समयमै डिजाईन उपलब्ध नगराउँदा सो खण्डमा पर्ने रुख, विजुलीका पोल, ढल तथा खानेपानीका पाईप लगायतका संरचनाहरु हटाउने काम समेत अघि बढ्न सकेको छैन ।

सडक विभागका अनुसार १ बर्षअघी दोस्रो खण्डको डिजाईन बनाउनका लागि लिएको जिम्माको समयसिमा नाघेपनि सोहि अनुसार डिजाईन भने चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले तयार पारेको छैन । डिजाईन नभएकै कारण उक्त खण्डको पोल, खानेपानीको पाईप, घरटहरा लगायतका संरचना हटाउन नसकिएको आयोजनाका ईन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए ।

‘डिजाईन नआउँदासम्म विजुलीका पोल निकाल्ने, रुख काट्ने पानीको पाईप सार्ने, ढल सार्ने लगायतका काम गर्न सकिदैन,’ उनले भने ‘डिजाईन आएपछी विजुलीका पोल कहाँ राख्ने भन्ने टुङ्गो लागेपनि मात्रै काम गर्न सकिन्छ ।’

आयोजनाले सो कार्यका लागि मुआब्जा पनि दिईसकेको छ । तर, सोही अनुसारको काम भने हुन सकेको छैन । चिनियाँ कम्पनीले जिम्मा लिएको उक्त कामको १ बर्ष वित्न लाग्दा पनि डिजाईन तयार भएको छैन । कम्पनीले पहिलो खण्डको काम सम्पन्न हुनेवित्तीकै दोस्रो खण्डको काम सुरु गर्ने गरी सम्झौता गरेको थियो । तर, पहिलो खण्डको काम सकिएको लामो समय वितिसक्दा पनि दोस्रो खण्डको काम हुन नसकेको हो ।

चिनियाँ कम्नपीले कहिले डिजाईन बनाएर दिन्छ भन्ने विषयमा अझै निश्चित नभएको सडक विभागका बैदेशिक समन्वय शाखा प्रमुख केशव शर्माले जानकारी दिए । ‘उनीहरुले चाँडै काम सकाउने हुनाले दोस्रो खण्डका लागि डिजाईन तयार गर्न दिएका हौं,’ उनले भने, ‘तर लामो समय भयो डिजाईन बनाउन दिएको अब केही दिनमा डिजाईन आउला ।’ आयोजनाको पहिलो खण्ड अन्तरगतको कोटेश्वर कलंकी १० दशमलव ४ किलोमिटर खण्डको भने काम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL