Logo

केरुङ–काठमाडौं रेलमार्गको प्रतिवेदन बुझाउन चिनियाँ टोली काठमाडौं आउँदै, डीपीआर, निर्माण मोडेलमा टुङ्गो लगाईने

केरुङ–काठमाडौं रेलमार्गको प्रतिवेदन बुझाउन चिनियाँ टोली काठमाडौं आउँदै, डीपीआर, निर्माण मोडेलमा टुङ्गो लगाईने



काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको प्रतिवेदन बुझाउन तथा निर्माणबारे छलफल गर्न चिनियाँटोली काठमाडौं आउने भएको छ ।

मंसिर २४ गते देखी २८ गते सम्म काठमाडौंमा हुने छलफलको लागि नेशनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासक आन लुसुङको नेतृत्वमा १५ जनाको टोली काठमाडौं आउन लागेको रेल विभागका सिनियर डिभिजन इन्जिनियर देबकुमार तामाङले जानकारी दिएका छन ।

२४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिवस्तरीय छलफलमा केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने तथा प्रस्तावित उक्त रेलमार्ग निर्माणबारे छलफल गर्न उक्त टोली २३ गते काठमाडौं आउने भएको हो ।

उक्त टोलीले मन्त्रालयमा २४ गते आयोजना हुने कार्यक्रममा उक्त रेलमार्गबारे गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै आगामी दिनमा उक्त परियोजनालाई के कसरी अगाडि बढाउनेबारे सचिवस्तरीय बैठक हुने तामाङले जानकारी दिएका छन ।

गत जेठ ६ गते नेपाल आएका चिनियाँ प्राविधिक अधिकारीहरुले रेल विभागको संयोजकत्वमा उक्त रेलमार्गको प्रारम्भिक अध्ययन सुरु गरेका थिए । केरुङ काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ५७ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान यस अघिनै चीन सरकारले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

चीन सरकारले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनका अनुसार उक्त रेलमार्गको निर्माण अवधि भने करीव ९ बर्ष लाग्ने अनुमान गरिएको छ । ७२ दशमलव २५ किलोमिटर लम्बाई रहेको उक्त रेलमार्गको चीन सरकारले गत जेठमानै प्रारम्भिक अध्ययन गरि सकेको छ ।

सचिवस्तरीय छलफलमा रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण, मोडेल लगयातको विषयमा छलफल हुने र छलफल पछि उक्त टोली रेलमार्ग क्षेत्रको स्थलगत भ्रमणमा जाने कार्यक्रम रहेको समेत तामाङले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL