Logo

सडक निर्माणका अवरोध हटाउन विद्युत, नापी र वनसँग समझदारी, तत्काल काम अघि बढ्ने प्राधिकरणको दावी

सडक निर्माणका अवरोध हटाउन विद्युत, नापी र वनसँग समझदारी, तत्काल काम अघि बढ्ने प्राधिकरणको दावी



काठमाडौं । भूकम्पीय आकस्मिक सहायता आयोजना (ईईएपी) अन्तरर्गत बनिरहेका सडक निर्माण गर्न विद्युत, नापी र वनसँग समझदारी भएको छ ।

ईईएपी अन्तरर्गत बनिरहेका काभ्रे–सिन्धुपलाञ्चोक तथा धादिङ–गोरखाका सडकमा देखा परेका विद्युत, नापी र वनसँग सम्बन्धित समस्याहरु समाधान गर्न समझदारी भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा पुनर्निर्माण भइरहेका पाँचखाल–मेलम्ची (काभ्रे–सिन्धुपलाञ्चोक) तथा धादिङ–गोरखा सडकको कार्य अघि बढाउने सन्दर्भमा प्राधिकरणमा आयोजित बैठकमा बोल्दै सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिहरुले बाँकी कार्यलाई समन्वय गरी अघि बढाउने बताएका छन ।

नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक हरराज न्यौपानेले पाँचखाल–मेलम्ची सडकका पोलहरु सार्ने ठेक्का लागि सकेकाले काम अघि बढाउने बताएका छन ।

सडक विभागले पोलहरु सार्ने बिन्दुका बारेमा अग्रीम जानकारी दिए काम अघि बढाउन सहज हुने बताउँदै धादिङ–गोरखाका बाँकी रहेका पोल हटाउन पनि मातहत निकायलाई निर्देशन दिने न्यौपानेले बताए ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले पाँचखाल–मेलम्ची सडकको मालपोत कार्यालयबाट लगत कट्टाको विवरण प्राप्त भएलगत्तै सडक सीमा तथा व्यक्तिको जग्गा छुट्टयाइने बताए ।

त्यस्तै वन विभागका उपसचिव नवीन गिरीले राष्ट्रिय योजना आयोगबाट पाँचखाल–मेलम्ची सडक राष्ट्रिय प्राथमिकता प्राप्त सडक हो भन्ने व्यहोराको पत्र पाएपछि रुख कटानको काम अघि बढ्ने जानकारी गराएका छन ।

सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अति आवश्यक पुनर्निर्माण कार्यमा सम्बन्धित निकायहरुबीच समन्वय हुन आवश्यक रहेको बताउँदै आयोजनाको अवरोध हटाउनका लागि विशेष ध्यान दिन आग्रह गरेका छन ।

उक्त आयोजना अन्तरर्गत पाँचखाल–मेलम्ची सडकमा विद्युतका पोलहरु हटाउन तथा नापीबाट सडक सीमा तथा व्यक्तिको जग्गा छुट्टयाउन बाँकी रहेको आयोजना निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै धादिङ–गोरखा सडकमा रहेका बिजुलका पोलहरु हटाइनसकेको तथा मुआब्जा वितरण कार्यमा पनि सन्तोष जनक प्रगति नभएको निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL