Logo

म्याद सकिन लाग्दा कोटेश्वर कलंकी सडकखण्डको काम तिव्र पारियो, कतिपय स्थानको म्याद थपिँदै, यस्तो छ कामको प्रगती

म्याद सकिन लाग्दा कोटेश्वर कलंकी सडकखण्डको काम तिव्र पारियो, कतिपय स्थानको म्याद थपिँदै, यस्तो छ कामको प्रगती



काठमाडौं । यही डिसेम्बर १५ सम्ममा पुर्ण सम्पन्न गरिसक्नुपर्ने म्याद रहेको कोटेश्वर कलंकी सडकखण्डको काम धमाधम थालिएको छ । विभिन्न स्थानको काम नभएको भएतापनि चिनियाँ निर्माणपक्ष भने उक्त खण्ड हस्तान्तरण गर्नका लागि काम तिव्र पारिरहेको हो । असारमा विभिन्न कारण देखाउँदै म्याद थप्न लगाएको आयोजनाले हाल आउने म्यादसम्म पनि शतप्रतिशत काम गरिनसक्ने देखिएको छ ।

आयोजनाका अनुसार म्याद सकिनै लाग्दा करिव ९९ प्रतिशत काम सकिसक्नुपर्नेमा हाल कुनै स्थानको भने ट्र्याक नै खोल्न बाँकी रहेको छ । काममा ढिलाईका कारण हाल उक्त खण्डमा आवतजावत गर्ने यात्रुहरु विभिन्न स्थानमा जामको समस्यामा पर्ने गरेको देखिएको छ । हालसालै कुनै स्थानमा सडकको अन्तिम काम अर्थात ब्ल्याक टप गर्दै एजमार्किङ गर्ने काम हुँदैछ ।

आयोजनाले हाल बल्खुदेखि सातदोबाटोसम्मको ब्ल्याक टप गरिसकेको बताएपनि अन्य स्थानको भने ब्ल्याक टप गर्न बाँकी रहेको छ । यस्तै सातदोबाटो पूर्वको कोटेश्वरसम्मको सडकमा भने लगत्तै उक्त कार्य गर्ने आयोजनाका ईन्जिनियर निरन्जन शर्मा अर्यालले जानकारी दिए ।

त्यस्तै बल्खु भन्दा पूर्व खसीबजारसम्मको सडकखण्डको काम भने भद्रगोलमै सिमित हुने भएको छ । हाल ८ लेनमध्ये विचको ४ लेनको प्राथमिक चरणको कालोपत्रे गर्ने काम मात्रै भएको छ भने दायाँबायाँका २ – २ लेनको काम भने हुन सकेको छैन । हालै उक्त क्षेत्रमा साविककै जस्तो धुलो उड्ने क्रम पनि रोकिएको छैन ।

यस्तै उक्त क्षेत्रकै खसिबजारमा भने सिता पेट्रोलपम्पदेखि पश्चिमतिरको लगभग १ सय मिटर भने ट्र्याक नै खोलिएको छैन । यसबारेमा हामीले ईन्जिनियर शर्मा अर्याललाई सोद्धा उनले उक्त क्षेत्रमा भिरालो ठाउँमा घर भएकाले विशेष ईन्जिनियरको सहयोगमा नै काम गर्नुपर्ने भएकाले सोपश्चात मात्रै काम अघि बढ्ने बताएका छन ।

सडकका काम सम्पन्न गरिसक्नुपर्ने म्याद नजिकिएको भन्दै चिनियाँ पक्षले काम तिब्र पारेपनि यता नेपाली पक्षले बनाउने भनेका ६ ओटा आकाशेपुलको काम भने जगसम्मको मात्रै भएको देखिएको छ ।

यस्तै आयोजनाले ब्ल्याक टप गरिएको स्थानहरुमा एज मार्किङको काम पनि गरिरहेको छ । दायाँबायाँ पहेलो र विचमा सेतो कलरले ब्ल्याक टप गरिएको कालो सडकमा एज मार्किङ गर्दा कुनै विदेशी सडकहरुजस्तै देखिएको छ । जसको बारेमा हाल विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा तिव्र प्रतिक्रिया आईरहेको पाईन्छ ।

यसका साथै उक्त सडकको दायाँबायाँ हरियालीका लागि छोडिएको स्पेसमा भने हाल कुनै प्रकारका विरुवा नरोप्ने ईन्जिनियर शर्मा अर्यालले बताए । उनका अनुसार उक्त स्पेसबाटै विजुलीका तथा अन्य केवल सेवाप्रदायकका तारहरु अन्डरग्राउन्ड गर्ने कुरा अगाडी बढेकाले उक्त खण्डमा हाल रुख नरोपिने उनले बताए । तर कुनै स्थानमा भने स्थानीयबासीले रुखहरु रोपेको पाइएको उनको भनाई थियो ।

यस्तै कलङकी अन्डरपासको काम पनि अन्तिम चरणमा पुगेपनि उक्त अन्डरपासमा भने बत्ति हाल्ने एज मार्किङ गर्ने लगायतका काम बाँकी रहेका छन ।

अतः आयोजनाले म्याद सकिन लागेको चटारोमा काम गरिसकीएको सडकमा मात्रै ध्यान दिएर आकर्षक बनाउने र अन्य स्थानमा भने जस्तोको त्यस्तै बाँकी रहने भएको छ । काम सम्पन्न गर्ने म्याद भनेको सडकका सबै प्रकारका कामहरु सकाउनुपर्ने हो तर हाल भईरहेको काम मात्रै पुर्ण रुपमा भएको बताउने र अन्य काम जस्ताको त्यस्तै छोडेर जनतालाई सास्ती दिने काम क्रमशः हुने देखिएको छ । यसका लागि सरोकारवाला पक्षले बेलामै ध्यान दिएर बरु म्याद थपेरै भएपति काम पुर्ण रुपमा नसकिएसम्म आयोजनाको हस्तान्तरण नगरेमा भलाई हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL