Logo

फास्ट ट्र्याकको डिपिआरको काम सुरु, साढे ३ महिना भित्र तयार

फास्ट ट्र्याकको डिपिआरको काम सुरु, साढे ३ महिना भित्र तयार



काठमाडौं । काठमाडौं–तराई– मधेस दू्रतमार्ग (फास्ट ट्र्याक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम सुरु भएको छ । उक्त डिपिआर तयार गर्नका लागि दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले भौगर्भिक अध्ययन सुरु गरेको हो ।

नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबीच द्रूतमार्गको डिपिआर निर्माणसम्बन्धी सम्झौतापत्रमा असोज १६ गते हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार उक्त कम्पनीले डिपिआरको काम सुरु गरेको हो । सो कम्पनीले साढे ३ महिना भित्र डिपिआरको काम सक्नेछ ।
डिपिआरलाई अघि बढाउने सिलसिलामा सुसुङ कम्पनीले भौगर्भिक अध्ययनको काम शुरु गरिसकेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । साथै नेपाली सेना र सुसुङ कम्पनीका भौगर्भविद्सहितको प्राविधिक टोली स्थलगत अध्ययनका लागि खटिसकेको समेत उनको भनाई थियो ।

नेपाली सेना र सुसुङ कम्पनीबीच डिपिआर १० करोड १३ लाखको लागतमा तयार गर्ने सहमति भएको थियो । भारतीय कम्पनी आइएल एण्ड एफएसले डिपिआर तयार गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को बोलपत्रमार्फत सुसुङ कम्पनी छनोट गरेको हो ।

एशियाली विकास बैंकले सन २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ ।

फास्ट ट्र्याक आफँैमा बृहत र विशिष्ट आयोजना भएकाले समयसीमाभित्र जिम्मेवारी पूरा गर्ने सन्दर्भमा यकिन रेखाङ्कन, सडकको ढाँचा, लागत अनुमान एवं पर्न सक्ने वातावरणीय प्रभावसमेतको विश्लेषणका आधारमा निर्माणसम्बन्धी सबै क्रियाकलाप एकैसाथ अघि बढाइएको आयोजना प्रमुख योगेन्द्र खाँणले जानकारी दिए । प्रस्तावित ७६ किमी लामो उक्त सडकलाई १० भागमा विभाजन गरेर सेनाले २८ वटा सम्झौताकर्तामार्फत काम गराइरहेको छ ।

सडक निर्माण गर्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण र द्रुतमार्ग क्षेत्रमा पर्ने २० हजारको सङ्ख्यामा रूख कटान भइसकेको छ । आयोजना अघि बढाउन छोक्रेडाँडादेखि बादरे खोल्सीसम्मको करीब १२ किलोमिटर क्षेत्रमा तीन वटा सुुरुङ निर्माण गर्ने गरी दु्रतमार्गको यसअघिको रेखाङ्कन परिवर्तन गर्नुपर्ने देखिएको सेनाले जनाएको छ । यद्यपि यो विषय डिपिआर निर्माणसँगै टुङ्गिनेछ ।

विस २०७४ वैशाख २१ गते मन्त्रिपरिषद्ले नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको उक्त दू्रतमार्गको प्रारम्भिक अनुमानित लागत १ खर्ब ११ अर्ब रुपैयाँ रहने अनुमान गरिएकोे छ /रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL